पुष्पाको टाउको, छातीमा चोट ! आफन्त भन्छन्ः बलात्कार प्रयासमा रजस्वला भएको देखेपछि हत्या गरे

पुष्पाको टाउको, छातीमा चोट ! आफन्त भन्छन्ः बलात्कार प्रयासमा रजस्वला भएको देखेपछि हत्या गरे

40048356_1210355575768933_7334056386231271424_o

पोखरा । पोखरा १९ लामाचौरकी १३ बर्षिया बालिका पुष्पा केसीको प्रारम्भिक पोष्टमार्टम रिपोर्ट अनुसार उनको शरीरमा आन्तरिक चोट र रक्तश्राव भएको देखिएको छ ।

उनको शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान भएको पोष्टमार्टम गरिएको हो । पुष्पाको टाउकोमा रगत जमेको, देब्रे छाती, फोक्सोमा चोट लागेको र देब्रे खुट्टाको कुर्कुचा भाँच्चिएको देखिएको अस्पतालले जनाएको छ । पोष्टमार्टमको पूर्ण विवरण भने आइतबार मात्रै आउने अस्पतालले जनाएको छ ।

विहिबारदेखि बेपत्ता पुष्पा केसीको शव शुक्रबार साँझ भेटिएको थियो । साँझसम्म उनी घर नआएपछि उनको खोजी गरिएको थियो । लामाचौर फापरतरो स्थित शैलजा स्मृति पार्कको डिलमुनी भिरालो झाडीमा स्कर्ट खोलिएको अवस्थामा शव भेटिएको थियो । उनको स्कर्ट र बेल्ट शवकै आडमा थियो भने ब्याग धेरै पर फेला परेको थियो ।

पोष्टमार्टम रिर्पाेटमा उनको बलात्कार भएको नपाइएको प्रहरीले जनाएको छ । तर, परिवारजनले भने पुष्पाको बलात्कार प्रयासका क्रममा हत्या भएको दाबी गरेका छन् । शरीरमा निलडाम सहितका चोट भएकाले आफन्तजनले पुष्पाको हत्या भएको बताउँदै थप अनुसन्धान गरेर सत्य तथ्य सार्वजनिक नभएसम्म शव नबुझ्ने जनाएका छन् ।

पुष्पाका काका धुव्र केसीले भने, ‘घटनास्थलको दृश्य धेरै शंकास्पद छ । उचित छानबिन हुनुपर्छ हामीले न्याय नपाएसम्म शव उठाउँदैनौ।’ घटनास्थलको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको हुनसक्ने स्थानीयबासीको दाबी छ ।

योनाङ्गबाट रक्तश्राव भएको र त्यो रोक्न प्याड प्रयोग गरिएको पाइएको छ । स्थानीय महिला नेतृ लक्ष्मी पाण्डेले भनिन्ः ‘उनी रजस्वला भएको अवस्थामा थिइन् । साडीको कपडालाई प्याडको रुपमा प्रयोग गरिएको थियो । घटनास्थलको प्रकृति हेर्दा बलात्कारको प्रयास गरिएको र रजस्वला भएकाले हत्या गरेर छोडेको जस्तो देखिन्छ ।’ पाण्डेले करिब १ मिटर पर स्कर्ट र बेल्ट भेटिएकोे झार समातेर मडारिएको जस्ता दृश्यले पनि घटना रहस्यमय रहेको बताइन्।

विन्ध्यवासिनी माविमा कक्षा ६ मा अध्ययनरत पुष्पा केसी बिहीबार साढे ५ बजे विद्यालयको बसबाट करिब २ सय मिटर तल तरकारी किन्न भन्दै झरेकी थिइन् । बिहीबार कक्षा १ मा अध्ययनरत बहिनीसँगै स्कुल बस चढेर लामाचौरस्थित घरतर्फ गइरहेकी उनले ‘बहिनीलाई घर अगाडि बसबाट झार्दिनू, म टमाटर किनेर ल्याउँछु’ भन्दै बसबाट ओर्लेको बुझिएको छ ।

तर, उनी घर फर्किनन् । परिवारले साथीसँग गइहोली भनेर वास्ता गरेनन् । तर, शुक्रबार पनि उनी स्कुल नआएपछि सोधिखोजी शुरु गरेको थियो । खोज्दै जाँदा झाडीमा शव भेटिएको थियो । टमाटर किन्न भनेर गएकी पुष्पा भीरतिर जानुपर्ने कारण नदेखिएकाले पनि घट्नाप्रति आशंका उब्जाएको छ ।

सुरुमा आफन्तले पोष्टमार्टम नै गर्न मानेका थिएनन् । घर भन्दा अगाडि नै बसले किन झर्न दिएको हो ? भन्दै घटनाको जिम्मा विद्यालयले लिनुपर्ने शर्त राखेका थिए तर, दिउँसो अनुसन्धानमा सघाउन परिवार तयार भएपछि पोष्टमार्टम प्रक्रिया शुरु भएको हो । विद्यालयले पनि दुःखद घटना भन्दै प्रेस विज्ञप्ती जारी गरिसकेको छ ।

कास्कीका प्रहरी प्रमुख ओम रानाले घटनाको बारेमा थप अनुसन्धान गरीने प्रतिक्रिया दिए। पुष्पाका बुवा नृतेन्द्र केसी नेपाल आर्मीबाट रिटार्यड हवल्दार हुन् भने हाल उनी गण्डकी बोर्डिङ्ग स्कुलमा सुरक्षागार्डको रुपमा कार्यरत छन्। उनका ३ छोरी र १ छोरा छन्। पुष्पा दोस्रो सन्तान हुन्।

यसैबीच, कास्कीमा क्रियाशील ५ विद्यार्थी संगठनहरुले संयुक्त रुपमा विज्ञप्ति प्रकाशित गरी घटनाको सत्य तथ्य छानबिन गरेर दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ