पोखरा– अधिकांश समय औपचारिक पोशाकमा सजिएर सभासमारोहमा देखिने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा यतिखेर पोखरा रङ्गशालामा जारी वल्र्ड रेङ्किङ टेनिस टुर्नामेन्टमा प्रतिस्पर्धा गर्दैछन् ।
उमेर ६४ वर्ष पुगिसकेका उनी अहिले पनि उत्तिकै जोशिलो र फूर्तिलो रुपमा वल्र्ड रेङ्किङ्मा आफूलाई लैजाने प्रयासमा छन् । सोमबार सम्पन्न ५५ वर्षमाथिको एकलमा पूर्वउपप्रधानमन्त्री थापाले फाइनलका लागि आफ्नो स्थान सुरक्षित गरिसकेका छन् । उनले भारतका आदित्य कर्नानीको चुनौती ६–३ र ६–१ को सजिलो सेटमा हराउँदै अन्तिम प्रतिस्पर्धाका लागि आफूलाई उतारेका हुन् । उपाधिका लागि उनले अब कृष्णराज घले र अनिल तुलाचनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै ५५ वर्षमाथिको डबल्समा भने नेपालका मनोज राणा र भारतका पवन जैनको जोडीले थापा र झ्याम्बा ढुण्डुपको जोडीलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ । खेलको पहिलो सेट थापा जोडीले ६–० ले लिँदै उत्कृष्ट खेल प्रदर्शन गरे पनि दोस्रो सेटको खेल ७–५ ले आफ्नो पक्षमा पार्दै राणा जोडी खेलमा फर्किएको थियो । निर्णायक सेट राणा जोडीले सुपर टाइमा १३–११ ले आफ्ना पक्षमा पारेपछि थापा जोडी अन्तिम दुईको प्रतिस्पर्धाबाट बाहिरिएको थियो ।
सोमबारको खेलपछि थापाले खेलमा मनोवैज्ञानिक पक्षले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । खेलमा सामान्य गल्तीले पनि धेरै प्रभाव पार्ने उल्लेख गर्दै उनले जीतहार सामान्य प्रक्रिया भएको धारणा व्यक्त गरे । खेललाई निकै अभिरुचिका साथ हेरिरहेकी उनकी धर्मपत्नी प्रलिताले भनिन्, “खेल त राम्रै खल्नुभएको हो, तर अलिक बढी हतारिनुहुन्छ, मैलै धेरै पटक नहतारिनू भन्ने गरेकी छु ।”
पिता कर्णेल छत्रबहादुरको प्रेरणाबाट आफूसहित परिवार नै खेलतर्फ अभिप्रेरित भएको बताउँदै थापाले खेलकूदका अनुशासन र आदर्शलाई आफूले व्यक्तिगत जीवनका साथै राजनीतिमा महत्वपूर्ण पूँजीका रुपमा लिने गरेको उल्लेख गरे । “खेलकूदमा मेरो बाल्यककालदेखिकै लगाव थियो, शुरुमा फुटबल धेरै खेल्थेँ, टेनिस पनि खेल्दै आएको छु”, उनले भने । उनले फुटबल एवं टेनिसका विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितामा आफूलाई उभ्याइसकेका छन् । उनी दैनिक साढे एक घण्टा नियमित खेल्नुहुन्छ भने एक घण्टा सुदर्शन क्रियाको योग गर्छन् ।
विद्यमान नेपाली राजनीतिमा अस्थिरता, अराजकता र अन्योल देखिएको बताउँदै उनले तत्कालीन निकासका लागि भने सरकारलाई काम गर्न दिनुपर्छ भने । सङ्घीयता, धर्म निरपेक्षताजस्ता विषयले राज्यमा जटिलता सिर्जना गरिरहेको आफ्नो स्पष्ट दृष्टिकोण भएको उनको भनाइ थियो ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला