चीनको सान्यामा आगामी डिसेम्बर ८ अर्थात् मंसिर २२ गते शनिबार हुने ‘मिस वल्र्ड’ प्रतियोगिताका लागि मिस नेपाल वल्र्ड मकवानपुरे चेली श्रृंखला खतिवडा नेपालको प्रतिनिधित्व गर्दै चीन पुगेकी छिन्। खतिवडाले त्यहाँ संसारभरका विभिन्न देशबाट आएका १ सय २० सुन्दरीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। ब्युटी पेजन्टअन्तर्गत विभिन्न इभेन्टमा उनीहरूको ट्यालेन्टका आधारमा मिस वल्र्ड छनोट हुनेछ। मिस नेपाल खतिवडाका अनुसार प्रतियोगिताका लागि फरक इभेन्टमा प्रतिस्पर्धा हुने गर्छ।
त्यसमध्ये एक हो– ब्युटी विथ अ पर्पस् अर्थात् उद्देश्यसहित सौन्दर्य। यसका लागि विभिन्न देशका सुन्दरीले आ–आफ्नो उद्देश्यसहित वृत्तचित्र प्रस्तुत गर्नुपर्ने हुन्छ। सन् २०१३ मा नेपालका लागि पहिलोपटक इशानी श्रेष्ठले उक्त उपाधि जितेकी थिइन्।
मिस नेपाल वल्र्ड हुनुअघि नै उनले महिला तथा बालबालिकाको क्षेत्रमा सहयोग गर्दै आएकी र त्यसपश्चात् पनि यस्ता कार्यमा निरन्तर लागिरहेकी छिन्। खतिवडा भन्छिन्– ‘प्रतिस्पर्धामा कामको डकुमेन्ट्रीसमेत प्रस्तुत गर्नुपर्ने हुन्छ। म त्यसका लागि केही अघिमात्र गृहजिल्ला मकवानपुरको कैलाश गाउँपालिका–७, भार्तामा रहेको चेपाङ बस्तीमा गएको रिपोर्ट प्रस्तुत गर्नेछु। त्यहाँका वृद्धवृद्धा र बालबालिकासँग भएका कुराकानी तथा समस्याको रिपोर्ट र समस्याको हल गर्ने विषयमा गरिएका मेरा प्रयासलाई देखाउनेछुु’, उनले चीन जानुअघि भनिन्– ‘कुपोषणग्रस्त चेपाङ गाउँको यथार्थ प्रस्तुत गर्छु।’
उनको सहयोगमा त्यहाँ स्वास्थ्यचौकी भवन बनेको छ। ‘डिजाइनअनुसार स्वास्थ्यचौकी अपांग, अशक्त तथा बालबालिकामैत्री, वातावरणमैत्री छ। चौकी निर्माणसँगै गाउँमा सुरक्षित डेलिभरी, स्वास्थ्य जनचेतना कार्यक्रम, पोषण कार्यक्रम, परिवार नियोजनका कार्यक्रमले तीव्रता पाउनेछन्’ –उनले भनिन्। स्वास्थ्यलाई सुविधा होइन, आवश्यकताका रुपमा हेरिएको उनले बताइन्। मकवानपुरको चेपाङ बस्तीमा स्वास्थ्यचौकी बनाउन हङकङका नेपालीले १२ लाख रुपियाँ बराबर सहयोग गरेका थिए। हङकङबासी नेपालले च्यारिटी डिनर गरी सहयोग संकलन गरेका हुन्। उनले उपाधि जित्न र देशको नाम उच्च बनाउन आफूले मेहनत गर्ने बताइन्। मिस वल्र्डमा श्रृंखलाले नेपाली संस्कृति झल्किने प्रस्तुति पनि दिने बताइन्। उनको इन्ट्री भिडियो सुटका लागि नेपाली दक्ष भिडियोग्राफी टोलीसँग आफू केही दिनअघि रसुवाको गोसाइँकुण्ड गएको उनले जानकारी दिइन्।
प्रतियोगिताअन्तर्गतको ट्यालेन्ट शोका लागि उनले जोन लेननको गीत इम्याजिन गाउने तयारी गरेकी छिन्। जोन लेननका प्रसिद्ध इम्याजिन गीत कालजयी छन्, प्रत्येक समय परिस्थितिमा उत्तिकै सुहाउने। कुनै बेला लेननले विश्व एक भएको र जताततै शान्ति छाएको सपना देखेका थिए। सन् १९७० तिर विशेषतः काठमाडौंका युवामा यो छाएको थियो।
श्रृंखलाको भनाइ छ– ‘मलाई मिस वल्र्ड बन्न भोटको आवश्यकता पर्दछ, नेपालीबाट भोटको आशा राखेकी छु।’ खतिवडा पूर्ण तयारी र पूर्ण विश्वस्त छिन्, पोजिटिभ अनि त्यति नै स्वीट, बौद्धिक र बोल्ड पनि। स्कुले दिनदेखि नै पढाइमा उत्कृष्ट श्रृंखलाले एसएलसी र प्लस टु दुवैमा डिस्टिङ्ग्सन ल्याएकी थिइन्। पुल्चोक इञ्जिनियरिङ क्याम्पसबाट आर्किटेक्चरमा स्नातक उनी थेसिस टपर हुन्।
उनले लुमन्ती सपोर्ट समूहमा आर्किटेक्टका रुपमा काम गरेको अनुभवसमेत बटुलिसकेकी छिन्। उनी लेखनमा पनि उत्तिकै रुचि राख्छिन्। विशेष गरी अंग्रेजी भाषामा उनको लेखन दक्षता सुन्दर छ। उनलाई एक बलियो प्रतिस्पर्धीका रुपमा हेर्ने गरिएको छ। अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि आयोजक संस्था द हिडन ट्रेजरले मिस नेपाल वल्र्ड खतिवडालाई बिदाइ गरेको थियो।
सम्बन्धित खबर
‘बुकी फुलेछ’ को फिमेल भर्सन बजारमा [भिडियो]
इन्द्रधारा बिष्टको ‘आमा तिम्रो’ सार्वजनिक [भिडियो]
मिलन लामा र प्रकाश सपुतको सचेतनामूलक गीत ‘मजदुर’ [भिडियो]
गुमनाम विष्णु माझीले तीज गीत ल्याउँदै भनिन् – ‘आइन आमा यो तीजैमा’ [भिडियो]
‘यो देशमा बसेर दिन गन्ने मात्रै हो’ [भिडियो]
अनमोल र जसिताको ‘अन्तिम माया ‘ [भिडियो]
यो पनि पढौँ
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने
पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन
स्याङ्जामा पूर्वसैनिकको घरमा सकेट बम विष्फोट, पुरी घाइते