विदेश छोडेर पाखापखेरीमै भविष्य खोज्दै राजु पोखरेल : ‘रुखको टोड्कामा पिपल फल्ने देशमा गरे के हुँदैन र !’

विदेश छोडेर पाखापखेरीमै भविष्य खोज्दै राजु पोखरेल : ‘रुखको टोड्कामा पिपल फल्ने देशमा गरे के हुँदैन र !’

raju pokhrel (3)

श्यामशितल परियार, लमजुङ । पैसाकै लागि घरदेश छोडेर परदेश जाने युवाको संख्या मात्र बढेको छैन । पछिल्लो समय विदेशबाट स्वदेश फर्केर, विदेशमा सिकेको सीप र कमाएको पैसा आफ्नै देशमै खर्चेर विभिन्न उद्यम गर्ने युवाको संख्या पनि बढ्दो छ ।

उनीहरुले स्वदेशमै विभिन्न उद्यम गरी मनग्य कमाएका पनि छन् । त्यसैमध्येका एक हुनुहुन्छ, लमजुङ सुन्दरबजार नगरपालिका–७, पाउँदीका राजु पोखरेल ।

सोचेजस्तो भएन विदेश

परिवारका एक्ला छोरा राजु १८ वर्षकै उमेरमा विदेश भासिए । पोखरेल घर–परिवारको सुन्दर भविष्यको कल्पना गर्दै विदेश भासिएका थिए ।

‘पढ्ने ईच्छा त थियो नै । तर घरको अवस्थाले गर्दा धेरै पढ्न सकिएन,’ उनले भने, ‘एसएलसी पछि म विदेश गएको हुँ ।’

राजुले साउदी (३ वर्ष), दुवई (२ वर्ष), कतार (२ वर्ष) र माल्दिभ्स (१ वर्ष) गरी ८ वर्ष विदेशमै जागिरे जीवन बिताए ।

तर विदेश बसाइ सोचेजस्तो भएन । उनि भन्छन, ‘आफुमा सीप, दक्षता थिएन । त्यसैले विदेश सोचे जस्तो भएन ।’

गाउँ फर्कने निधो

विदेशमा सोचेजस्तो कमाई हुन नसकेतापनि विदेशमा उनले सीप सिके । ‘परिश्रम गर्नुपर्छ’ भन्ने पाठ पनि सिकायो विदेश बसाइँले उनलाई ।

माल्दिभ्स रहँदै गर्दा बंगलादेश देखी माटो ल्याएर कृषि उत्पादन गरेको देख्दा उनको मन छोयो । त्यसपछि, उहाँमा गाउँघरमा बाँझा पल्टिएको जग्गामा कृषि कर्म गर्ने सोच पलायो । र गाउँ फर्कने निधो गरे ।

‘माल्दिभ्समा बंगलादेश देखी माटो ल्याएर कृषि उत्पादन गरेको देखेर म त छक्कै परेँ । यसले मेरो मन छोयो,’ उनले खुशीसाथ भने, ‘हाम्रो देश त रुखको टोड्कामा पनि पिपल फल्ने देश, गरे के हुँदैन र ! भन्ने सोेचेर विदेश छोडेर आफ्नै देश फर्किएँ ।’

व्यावसायिक कृषि कर्म सुरु

विदेशबाट गाउँ फर्केपछि अहिले उनि गाउँघरकै माटोमा सुन्दर भविष्यको कल्पना गर्दै व्यावसायिक कृषि कर्ममा होमिएका छन ।

उनले खेर गएको आफ्नो ९ रोपनी जग्गामा व्यावसायिक बाख्रापालन, कुखुरापालनसंगै केरा खेती सुरु गरेका छन । ४ वटा माउ बाख्राबाट सुरु भएको उनको बाख्रापालन व्यावसाय अहिले विस्तार भएको छ ।
उनले एक लाख बढि रुपैयाँ खर्चेर व्यवस्थित आधुनिक खोर बनाएर बाख्रा पालेक छन । साना–ठूला गरी अहिले उनिसंग १९ वटा बाख्रा रहेका छन् । उहाँले जमुनापारी र खरी जातका बाख्रा पालिका छन ।

व्यवस्थित खोर बनाई बाख्रा पाल्दा फाईदा

व्यवस्थित खोर बनाएर बाख्रा पाल्दा फाईदा हुने उनि बताउछन ।

‘व्यवस्थित खोर नहुँदा बाख्राका मलमुत्र एकै ठाउँमा जम्मा हुन्छ । जसका कारण ‘एमोनिया ग्याँस’ उत्पन्न हुन्छ ।

यसले गर्दा बाख्राको गर्भ तुहिने, बाख्रा नमोटाउने जस्ता समस्या देखिन्छ,’ उनले थपे, ‘व्यवस्थित खोर बनाई बाख्रा पाल्दा यी समस्याबाट बच्न सकिन्छ । बाख्रापालक किसानलाई फाईदा पुग्छ ।’

जोस–जाँगरका साथ कृषि कर्ममा लाग्न सके यसैबाट मनग्य कमाउन सकिने उनि बताउछन । व्यावसायले फड्को मार्दै गएमा भावी दिनमा कृषि कर्मलाई थप व्यवस्थित र विस्तार गर्ने उहाँको योजना रहेको छ ।

डेढ वर्षमै राम्रो कमाई

व्यावसायमा उनलाई बुवा–आमाका साथै श्रीमतिको पनि साथ/सहयोग मिलेको छ । उहाँले बाख्रा पाल्न थालेको झण्डै डेढ वर्ष पुरा भएको छ । यस अवधीमा व्यावसायबाट राम्रै कमाई भएको उनि बताउछन ।

‘डेढ वर्षको अवधीमा बाख्रापालन व्यावसायबाट मैले एक लाख १२ हजार कमाउन सफल भएँ,’ उनले सुनाए, ‘बाख्रापालनबाट राम्रो आम्दानी हुने आशा र भरोसाका साथ बाख्रापालन गरिरहेको छु ।’

बाख्रापालनलाई थप विस्तार गर्ने उहाँको योजना रहेको छ ।

‘बाख्राको संख्या ५० पुर्याउने लक्ष्य छ । ‘बोयर’ जातको बाख्रा पाल्ने योजना पनि बनाएको छु,’ उनले आफ्नो भावी योजनाबारे जानकारी गराए ।

आफ्नै देशमै उद्यम गर्न सके राम्रो

बाख्रापालनका लागि उनले किम्बु काफल, पाखुरी, टाँकी, बकाईनो लगायत भुइँ घाँस पनि रोपेका छन् ।

उत्पादन नजिकैको पाउँदी बजारमै खपत हुने गरेकाले उनलाई बजारको कुनै समस्या छैन । विदेशमा सिकेको सीप, कमाएको पैसा आफ्नै देशमै फर्की स्वदेशकै माटोमा खर्च गर्न उनि आम युवालाई आग्रह गर्छन ।

‘विदेश जाने हो भने सीप सिकेर जानुपर्छ । विदेशमा गई सिकेको सीप, कमाएको पैसा देशमै फर्केर आफ्नै देशमा उद्यम गर्न सके राम्रो हुन्छ,’ ३४ वर्षे राजुले मुस्कुराउँदै भने ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ