‘पत्रकारको उजुरी, प्रहरीको एक्शन’ ४ घण्टामै ३१ ट्याक्सी कारबाहीमा

‘पत्रकारको उजुरी, प्रहरीको एक्शन’ ४ घण्टामै ३१ ट्याक्सी कारबाहीमा

taxi-pokhara

तस्विरः सुदर्शन रञ्जित

रञ्जन अधिकारी । चितवनबाट फर्केका पोखराका पत्रकारहरु दिननाथ बराल र ढाकामोहन बराल (गणेश) मंगलबार मध्यान्ह पृथ्वीचोकमा ओर्लिए । पत्रकार दिननाथ बराल नदिपुरसम्म ट्याक्सीमा जाने निधो गरे र रोके । मिटरमा जान आग्रह गर्दा ट्याक्सी ड्राइभर मानेनन् । आफू पत्रकार भएको उनले चिनाएनन् । केहिबेर विवाद भएपछि पृथ्वीचोक ट्याक्सी इकाईका धेरै नै ड्राइभरहरु आइपुगे । पत्रकार बरालमाथि अभद्र व्यवहार गरियो । एकजनाले ‘त टिसर्टमै समातेर तँ यही टिसर्टमा पनि ठगिएको छस्, थाहा छ कि छैन ?’ भनेर लछारे ।

घटनाबारे जानकारी दिँदै पत्रकार बरालले भने – ‘म पृथ्वीचोकमै थिएँ । त्यो ठाउँ भनेको जिल्लाकै ट्राफिक हेर्ने मुख्य कार्यालय भएको ठाउँ हो । म ट्राफिक प्रहरीकोमा पुगेँ तर यस्तै हो भनियो । ट्राफिक प्रहरी र ट्याक्सी चालकहरुबीच के मिलेमतो छ ?’ उनले मिटरमा चल्न नमान्ने ग१ज ४२२०, ग१ज ५१८४ को ट्याक्सी चालकलाई कारवाहीको माग गर्दै उजुरी दिए । हातपात गरी दुव्र्यवहार गर्ने चालक अनिल गुरुङ प्रहरी हिरासतमा जाक्किए ।

दशकौंदेखि एक रेडियोमा ट्राफिक प्रहरी विशेष कार्यक्रम ट्राफिक एक्सप्रेस चलाउँदै आएका उनलाई चित्तै बुझेन । पत्रकार महासंघ, कास्कीका सहसचिव समेत रहेका बराल महासंघ पुगे । जहाँ अग्रज पत्रकार किशोर नेपाललाई पूर्व राष्ट्रपतिबाट सम्मान गरिदैं थियो । सोहि कार्यक्रममा कास्की प्रहरी प्रमुख एसपी ओम रानालाई भेटे । पत्रकारहरुले चालकसँगै प्रहरीको व्यवहारको समेत निकै गुनासो गरे । १०० नं. कन्ट्रोलमा रेस्पोन्सदेखि प्रवक्ताको फोन नउठ्ने गुनासो एसपी समक्ष राखे । उनले १०० मै फोन डायल गर्न लगाएर छड्के समेत हाने ।

सोहि स्थानबाट कास्की ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रलाई निर्देशन दिए ‘ट्याक्सी चालक बारे गुनासो धेरै भो, पत्रकारमाथि दुव्र्यवहार भएछ, मिटरमा नचल्ने चालकलाई कारबाही गर्नु ।’ त्यसपछि कास्की ट्राफिक प्रहरी प्रमुख मिश्रले एसपी रानासँग समन्वय गरी तत्काल ठाउँठाउँमा सादा पोशाकका प्रहरी खटाए । दिउँसो २ बजेदेखि ६ बजेभित्रै ३१ वटा ट्याक्सी नियन्त्रणमा लिइयो । पृथ्वीचोक स्थित कार्यालय परिसरमा राख्ने ठाउँ समेत भएन । चिट काटेर ट्याक्सी छाडियो । अब कारबाही के गर्ने ? बुधबार यस सम्बन्धमा बैठक बसिरहेको छ ।

मिटरमा जान नमान्ने ३१ वटा ट्याक्सीलाई एकैदिन कारबाही

पोखराका ट्याक्सी मिटरमा चल्न नमानेपछि कास्की प्रहरीले हठात् निर्णय गर्दै अपरेशन नै सुरु ग¥यो । चार घण्टाबीचमै ३१ वटा ट्याक्सीलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रमुख मिश्रले बताए । ‘गुनासो आउँदा हामीले कारबाही गरिरहेका छौं । एसपी साबको निर्देशनपछि हामी आफै यात्रु बनेर कारबाहीको दायरामा ल्याएका हौं ।’ मिश्रले भने ।

पोखराका पृथ्बीचोक, हस्पिटलचोक, लेकसाइड लगायतका क्षेत्रबाट ग १ ज १७३९, ग १ ज ४९७४, ग १ ज ३३९४, ग १ ज ४०९०, ग १ ज २१४४, ग १ ज २३२१, ग १ ज १७५० छन् । यस्तै, ग १ ज ३५०५, ग १ ज ३४५९, ग १ ज ४४०९, ग १ ज २००२, ग १ ज २१३६, ग १ ज ४६१७, ग १ ज २५९७, ग १ ज २१०२, ग १ ज ३९३८, ग १ ज १९४४, ग १ ज ५४२४, ग १ ज २०५७, ग १ ज ३९५५ नम्बरको ट्याक्सी समातिए ।

यसैगरी, ग १ ज ३००२, ग १ ज २५११, ग १ज ४०६९, ग १ ज २४६८, ग १ ज १६१४, ग१ ज ४१३२, ग १ ज २२५८, ग १ ज ३८४३, ध १ ज ८६१, ध १ ज ६१८, ध १ ज ८०० सहित ३१ वटा ट्याक्सी कारबाहीमा परेका हुन् ।

पोखरामा क्षेत्रीय प्रशासक फेरिनासाथ वर्षौंदेखि ट्याक्सी मिटरको प्रसंग उठ्छ, एक दुई दिन कारबाही पनि हुन्छ तर निरन्तरता पाउन सक्दैन । पत्रकार नै दुव्र्यवहारमा परेपछि मंगलबारमात्रै यसरी एक्शनमा उत्रेको प्रहरीले निरन्तरता दिन्छ त ? ट्राफिक प्रमुख मिश्र भन्छन् ‘उजुरी आए कारबाही गर्छौं । प्रचलित कानुन अनुसार अघि बढ्ने हो ।’

नियन्त्रणमा लिएका ट्याक्सीलाई कारवाही स्वरुप कति जरिवाना तिराउने ट्राफिकले खुलाएको छैन । यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीले मिटरमा जान नचाहने ट्याक्सीलाई कारवाही बापत ५ हजार सम्म जरिवाना लिदैँ आएको थियो ।

‘आफ्नै कार किनेर चढ् मिटरमा चल्दैनौँ’ भन्छन् पोखराका ट्याक्सी चालक

यात्रुले आफ्नो गन्तब्यमा जान ट्याक्सीलाई आग्रह गर्दा मिटरमा चल्न मान्दैनन् अधिकांस ट्याक्सी चालक । उनीहरु आफूलाई घाटा हुने बताउँछन् । ट्याक्सी चढ्ने यात्रुहरु पनि मिटरमै नगए उजुरी गरिहाल्नुपर्छ भन्ने पक्षमा धेरै देखिन्नन् । तर, व्यवहार गतिलो देखाउनुपर्छ । यात्रुले मन लागे मिटरमा उठेको पैसामा थपथाप गरी दिएको हामीले धेरैलाई थाहा छ । अब मूल्य समायोजनकै लागि सरकारको ध्यान जान जरुरी छ ।

पत्रकार बरालले आक्रोश पोख्दै भने – ‘म त एक उदाहरण मात्र हो, समग्र जिल्ला हेर्ने ट्राफिक कार्यालय कास्कीको आँगनमा नै ट्याक्सी चालकहरुको यस्तो दादागिरी हुन्छ भने अन्य ठाँउमा कस्तो अवस्था होला सहजै अनुमान गर्न सकिन्छ । मिटरमा जाउँ भन्दा आफ्नै कार किनेर चढ,् मिटरमा चल्दैनौं भन्छन् ।’

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख राना पोखरामा मिटरमा ट्याक्सी संचालन हुनुपर्ने अन्यथा कारबाही गर्ने बताउँछन् । उनले मिटरमा चल्न नमान्ने ट्याक्सीलाई र दुव्र्यवहार गर्नेलाई समेत कारबाही गरिने बताएका छन् ।

‘मूल्य समायोजन भएन, घाटा खाएर त कसले समाजसेवा गर्छ ?’

२०६९ सालदेखि ट्याक्सी भाडा बढेको छैन । मूल्य समायोजन हुनुपर्ने उनीहरुको माग जायज हो । किस्तामा २० लाख बढीको ट्याक्सी किनेर स्वरोजगार बनेका मजदुरहरुको पीडा आफ्नै ठाउँमा छ । ट्याक्सी व्यवसायी समितिका अध्यक्ष प्रकाशमणि तिवारी समितिमा आवद्ध १ हजार ७ सय ट्याक्सी चालकहरुलाई मिटरमा संचालन गर्न आव्हान गर्दै आएको बताउछन ।

धेरै बर्षदेखि बैज्ञानिक भाडा दर कायम नभएकाले आफुहरु मारमा परेको अध्यक्ष तिवारीको भनाई छ । महङ्गी बढ्दै जादा २०६९ साल देखि नै भाडा समायोजन नभएकोले गर्दा आफुहरुलाई निकै मार परेको अध्यक्ष तिवारीले बताए । सरकारले तत्काल यससम्बन्धमा निर्णय गर्न उनको आग्रह छ ।

सबैभन्दा बढी गुनासो स्वरोजगार ट्याक्सी चालकको छ । चालक गोपी पराजुली भन्छन् ‘एउटै ट्याक्सी पनि २० लाख बढी मूल्यका हुन्छन् । मासिक किस्ता हुन्छन् । मजदुर हो, किस्ता धानेर, परिवार धानेर, केही कमाउनैपर्छ । ट्याक्सी आफूखुशी हिँड्न पाउने पनि हैन, क्यूमा लाइन हुन्छन्, बल्ल बल्ल पालो आउँछ ६० रुपैंया ८० रुपैैंयामा न त तेलकै उठ्छ, न त बल्ल बल्ल आएको पालोमा यतिले केहि कमाईन्छ । कसरी गर्न सकिन्छ समाज सेवा ? यात्रुले पनि बुझ्नुपर्दैन ? प्रहरी, प्रशासनले बुझ्नुपर्दैन ? सरकारले बुझ्नुपर्दैन ?’

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ