एजेन्सी : मानवशास्त्री एवं प्राइमेटोलोजिस्ट सारा हर्डी कुराकानी यसरी सुरु गर्छिन्, ‘ कुरालाई रोचक बनाउन मानिसहरु केही चुट्किलाबाट व्याख्या सुरु गर्छन् तर शिशु हत्यामाथि कुनै चुट्किला हुनै सक्दैन ।’
धेरैलाई यो कुरा अचम्म लाग्न सक्छ तर स्तनधारी जनावरमा शिशु हत्या सामान्य कुरा हो । २ सय ८९ स्तनधारी प्रजातीको नयाँ सर्वेक्षण अनुसार करिब एक तिहाई प्रजातिमा शिशु हत्याको प्रमाण भेटिएको छ । थुप्रै पटक जनावरले आफ्नो सामाजिक समुहका युवा सदस्यलाई मार्ने गर्छन् । कहिलेकाँही समूहका पोथीले अन्य पोथीका साना बच्चालाई मार्ने निर्णय गर्छन् ।
सामान्य छ शिशु–हत्याः
आफ्नो करियरको सुरुवातमा हर्डीले बाँदरमा शिशु हत्यामाथि रिपोर्ट बनाएकी थिइन् । पूरा एशियामा फैलिएको बाँदरको एक प्रजातिमाथि उनले अध्ययन गरेकी थिइन् । हर्डीको पहिलो रिपोर्ट सार्वजनिक भएको लगभग ४० वर्ष भइसकेको छ तर अहिलेसम्म पनि जनावरमा शिशु हत्याबारे खासै चर्चा भएको देखिँदैन ।
हत्यारा आमाबारे कुरा गर्दा वा उनीमाथि चुट्किला बनाउँदा मानिसलाई असहज हुनसक्लान्, कुरा अन्य प्रजातिकै किन नहोस् । शिशुको हत्या हुन्छ भन्ने तथ्यलाई सायद हामीले राम्रोसँग बुझ्न सक्छौं । तर प्रश्न यो हो कि यस्तो किन हुन्छ ?
सन् १९७० को दशकमा हर्डीको अनुसन्धान सार्वजनिक भएपछि यो निकै विवादित बनेको थियो । पशुले गर्ने शिशु हत्याको विषयमा फर्कँदा आफूलाई अहिले पनि निकै डर लाग्ने गरेको उनी बताउँछिन् । उनी दक्षिण अमेरिकामा रुखमा बस्ने अफ्रिकी बाँदर (मर्मोसनेट) को उदाहरण दिन्छिन् ।
गर्भावस्थामा हत्याको विचारः
गर्भावस्थाका बेला महिलामा उत्पन्न हुने हर्मोनले उनको बच्चाप्रति सकारात्मक सोच राख्न प्रेरित गर्ने आम धारणा छ । तर मर्मोसेटको मामलामा यो ठिक विपरित छ । हर्डी भन्छिन्, ‘जब पोथी मर्मोसेट गर्भवती हुन्छिन् यति नै बेला उनीहरु शिशु हत्याका लागि सबैभन्दा बढी प्रेरित हुन्छिन् ।’
सन् २००७ मा एक अध्ययनमा एक महिनाको मर्मोसेटको हत्याबारे जानकारी दिइएको थियो । समूहकी पोथी प्रमुखको बच्चालाई अर्की पोथी मर्मोसेटले मारेकी थिइन् । ती पोथीले बच्चालाई त्यतिबेला मारिन् जब उनी गर्भवती थिइन् । पछि उसले दुई जुम्ल्याहा बच्चालाई जन्म दिएर समूहकी नेता बनिन् ।
यो जानीजानी गरिएको हत्या लाग्न सक्छ । हत्यारा आमाको यो कदम आफ्नो बच्चाको सुनौलो भविष्यलाई सुरक्षित गर्नका लागि पनि हुनसक्छ । यो पशु साम्राज्यको पीढिगत राजनीति हो । जसरी गेम अफ थ्रोन्सकी रानी सर्सी आफ्नो परिवारलाई शक्ति सम्पन्न बनाउन प्रतिद्वन्द्वी नेड स्टार्कको बच्चालाई मार्न बेचैन रहन्छिन्, यो ठ्याक्कै त्यहि राजनीति हो ।
भविष्यको योजनाः
जनावरमा कोही ‘सहयोगी प्रजनक’ पनि हुन्छन् जो बच्चाको पालन–पोषणमा बराबरीको जिम्मेवारी उठाउँछन् । हर्डीका अनुसार स्थिती अनुकुल नहुँदा उनीहरु केही आपतकालीन विकल्प पनि छान्ने गर्छन् ।
यदि उनीहरुलाई उनीहरुको सन्तानको राम्रोसँग हेरविचार भइरहेको जस्तो लाग्दैन भने उनीहरुले बच्चालाई नै मार्ने निर्णय लिन्छन् । उनीहरु स्थिती अनुकुल हुँदा पुनः बच्चा जन्माउने मनस्थितीमा हुन्छन् ।
मोन्टेपेलियर युनिभर्सिटीकी एलिस हचर्ड भन्छिन्, ‘पोथी पनि भालेजस्तै प्रतिस्पर्धी हुन सक्छन् ।’ ‘बच्चा हुर्काउन चाहिने स्रोत साधनका लागि उनीहरु प्रतिस्पर्धा नै गर्छन् ।’
स्रोत साधनमाथि कब्जा पाउन लडाईंः
क्याम्ब्रिज युनिभर्सिटीको डायटर लुकाससँग मिलेर हचर्डले हालै स्तनधारी जनावरमा पोथी शिशु हत्यामाथि एउटा रिपोर्ट तयार गरेकी छिन् । उनको रिपोर्टको समीक्षा अहिलेसम्म भएको छैन तर यसले स्तनधारी समुदायमा हत्यारा आमाको व्यापकता बुझ्न मद्दत मिल्छ । २ सय ८९ प्रजातीमध्ये ३० प्रतिशत प्रजातीमा शिशु हत्याको मामला पाइएको छ ।
हचर्डका अनुसार अरुको बच्चा मार्नु जीवनको वास्तविकता हो । जब पोथीले यसको फाइदा देख्छन् तब उनीहरु यस्तै गर्नेछन् । हचर्ड र लुकासले लेम्युर (म्याडागास्करमा पाइने बाँदरको एउटा प्रजाति), सील, सी लायन, भालु, बिरालो, चमेरो, मुसा र लोखर्केमा शिशु हत्याको उदाहरण पाए । शिशु हत्या स्पष्ट रुपमा कुनै एक समुह वा निवास–स्थानसम्म सिमित थिएन तर थुप्रै अवस्थामा यीबीच सम्बन्ध थिए ।
बच्चाको हत्या किन ?
कुनै पोथी जनावरले शिशुको हत्या गर्ने तीन महत्वपूर्ण कारण हुनसक्छ । कठोर वातावरणमा बसेकाले, मातृत्व जसमा पोथीको अत्यधिक ऊर्जा खर्च हुने भएकाले र स्रोत साधनका लागि उच्च प्रतिस्पर्धा हुने भएकाले ।
जब यस्तो प्रकारको दबाब चरम स्थितीमा पुग्छ तब आमा हत्या गर्नका लागि तयार हुन्छन् । हर्डी यो अध्ययनबाट प्रभावित छिन्, यद्यपि उनी यो प्रश्न गर्छिन् कि यसमा मानिसलाई किन समावेश गरिएन ?
उनले मानिसमा पनि शिशु हत्याको अध्ययन गरेकी छिन् । उनका अनुसार हाम्रो समाजमा बच्चाको सुरुवाती दिनमा महिलाले सामाजिक स्तरमा अत्यधिक सहयोग पाउँछन् । यदि यस्तो नहुने हो भने आमाले आफ्नो बच्चाको उपेक्षा गर्ने सम्भावना अत्यधिक हुन्छ । यहाँसम्म कि उनीहरु आफ्नो बच्चाको मृत्युका लागि पनि राजी हुन्छन् । सन्तानको उचित रेखदेख र लालन–पालनका लागि आमाहरुले थुप्रै पटक आफ्नो बच्चामाथि छिमेकका बच्चामाथि पनि जाइलाग्छन् ।
जो सबैभन्दा योग्य हुन्छ त्यो बाँच्नेछन्ः
‘सर्भाइभल अफ द फिटेस्ट’ एउटा निकै कठिन सिद्धान्त हो । मातृत्वमा पनि यो सिद्धान्त लागु हुन्छ । मातृत्वबारे हाम्रो सांस्कृतिक अवधारणले चाहे जे सुकै भनोस् । हरेक आमालाई थाहा हुन्छ कि उनीहरुले कहिले के छान्नुपर्छ ।
यदि छिमेकीको बच्चा मर्दा उनको आफ्नो बच्चाको भविष्य राम्रो हुन्छ भने उनीहरु यसका लागि तयार हुन्छन् । यहाँ राहतको कुरा के छ भने धेरैजसो मानिसले आफ्नो प्रजातिमा यो घातक व्यवहारको समर्थन गर्दैनन् । तर हामीले यो निश्चित रुपमा बुझ्न जरुरी छ कि शिशु–हत्या कुनै सनकी अवधारणा होइन । यो एउटा यस्तो चिज हो जुन विभिन्न पशु समाजमा विकसित भएको छ र यो प्राकृतिक पनि हो ।
सम्बन्धित खबर
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
कोत्रे खण्ड सडक पाँच दिन अवरुद्ध हुने
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो