तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा स्थापना हुने गण्डकी विश्वविद्यालयका लागि प्रदेश सरकारले साढे दश करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले विश्वविद्यालय स्थापनाका लागि रु १० करोड ४० लाख बजेट विनियोजन गरेका हुन् ।
उच्च शिक्षामा दक्ष तथा व्यावसायिक जनशक्ति उत्पादन गर्न सम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा विश्वविद्यालय स्थापनाका लागि उक्त रकम विनियोजन गरिएको मन्त्री गुरुङले जानकारी दिए । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेको शिक्षा प्रणालीले सीपमूलक जनशक्ति उत्पादन गर्न नसकेको भन्दै व्यावसायिक र प्राविधिक शिक्षा अहिलेको प्रमुख आवश्यकता रहेको बताउँदै आएका छन् ।
मुख्यमन्त्री गुरुङले विश्वविद्यालय स्थापनाको प्रक्रिया आगामी वर्षदेखि शुरु हुने जानकारी दिँदै भनेका थिए, “विश्वविद्यालय स्थापनाका लागि रु आठ अर्ब बजेट अनुमान गरिएको छ । आगामी आर्थिक वर्षदेखि काम शुरु गर्ने तयारीमा छौं ।”
विश्वविद्यालय स्थापनाका लागि प्रदेश सरकारले बेलचौतारामा ४७५ रोपनी सार्वजनिक जग्गा पहिचान गरेको छ । भानुभक्त क्याम्पससँगै जोडिएको जग्गामा स्थापना हुने विश्वविद्यालयका लागि सङ्घ सरकारसँग जग्गा माग गरिएको छ । उक्त जग्गा प्रदेशलाई उपलब्ध गराउन गत पुस १३ गते मन्त्रिपरिषद्को बैठकले माग गरिसकेको छ ।
विश्वविद्यालय स्थापना गर्न गठित प्रारम्भिक अध्ययन समितिले शुक्लागण्डकीमा विश्वविद्यालय स्थापना गर्न उपयुक्त भएको प्रतिवेदन दिएपछि प्रदेश सरकारले विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययनका लागि प्रदेश सरकारले प्रा डा गणेशमान गुरुङको संयोजकत्वमा एक समिति गठन गरेको थियो । उक्त समितिले स्थलगत अनुगमनपछि शुक्लागण्डकी नगरपालिका विश्वविद्यालय स्थापनाका लागि उपयुक्त रहेको प्रतिवेदन सरकारलाई बुझाएको थियो ।
विश्वविद्यालयमा प्राकृतिक विज्ञान, प्राविधिक तथा व्यावहारिक व्यवस्थापन, समाजशास्त्र मानवशास्त्र, प्रविधि, आविष्कार र शिक्षामा स्नातक, स्नातकोत्तर, एमफिल र पिएचडी गराउने योजना छ ।
स्थानीयवासी खुशी
शुक्लागण्डकी नगरपालिकामा प्रदेशस्तरीय विश्वविद्यालय स्थापना हुने खबरले स्थानीयवासी खुशी भएका छन् । शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले प्रदेशस्तरीय विश्वविद्यालय शुक्लागण्डकीमा स्थापना हुनु खुशीको कुरा भएको भन्दै आवश्यक सहयोगका लागि नगरपालिका तयार रहेको बताए ।
तनहुँ उद्योग वाणिज्य सङ्घ खैरेनीटार एकाइका उपाध्यक्ष एवं स्थानीयवासी सुजित हिराचनले बेलचौतारामा स्थापना हुने विश्वविद्यालयका बजेट विनियोजन हुनु खुशीको कुरा रहेको बताए । उनले भने, “सरकारको निर्णय सकारात्मक छ, यसले समग्र शुक्लागण्डकी क्षेत्रकै विकासमा टेवा पुर्याउने विश्वास लिएका छौं ।”
शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडाका तीर्थराज खनालले शुक्लागण्डकीमा विश्वविद्यालय बन्नु समग्र तनहुँवासीकै हितमा हुने बताए ।रासस/कृष्ण न्यौपाने
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
सार्वजनिक यातायातमा बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ?
‘तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो’ लेखेका गृहमन्त्री गुरुङले आलोचनापछि हटाए स्टोरी