छोरी १६ वर्ष पुगेपछि विवाह गर्न पाउनुपर्ने माग गर्दै आन्दोलन

छोरी १६ वर्ष पुगेपछि विवाह गर्न पाउनुपर्ने माग गर्दै आन्दोलन

nepalgung

नेपालगञ्ज । छोरीको बिवाह १६ वर्षमै गर्न पाउनुपर्ने माग गर्दै नेपालगञ्जमा आन्दोलन र चक्काजाम गरिएको छ । मधेशी समुदायका केही महिलाहरुले चक्काजामसहित नेपालगञ्ज उपमहानगरपालिका घेराउसमेत गरेका छन् । चक्काजाममा सहभागी अधिकांश विवाहित महिला हुन् ।

२० वर्षमा विवाह गर्नुपर्ने कानुन मधेशी समुदायको संस्कृतिसँग मेला नखाने भएका कारण कानुनमा परिवर्तन हुनुपर्ने माग सहित विरोध प्रदर्शन गरिएको महिलाहरुले जनाएका छन् । उनीहरुले आफूहरुको माग पूरा गराउनुपर्ने माग गर्दै चक्काजामसहित नेपालगञ्ज उपमहानगरपालिकामा ज्ञापनपत्र समेत बुझाएका छन् । स्थानीय शान्ति यादवले मधेशी समुदायमा छोरीलाई २० वर्षसम्म घरमा राख्न समस्या हुने भएका कारण उमेरहद घटाएर १६ वर्ष हुनुपर्ने आफूहरुको माग रहेको बताइन् ।

२०७५ साल भदौ १ देखि लागू भएको मुलुकी अपराध संहितामा विवाहका लागि केटा र केटी दुवैको उमेर २० वर्ष पुगेको हुनुपर्ने प्रावधान रहेको छ । २० वर्ष नपुगी विवाह गराए यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने मुलुकी अपराध संहितामा उल्लेख छ । संहिताको परिच्छेद –११ को विवाह सम्बन्धी कसूर अन्तर्गत दफा १७३ ले २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने व्यवस्था गरेको छ ।

अहिलेसम्म महिलाको १८ र पुरुषको २० वर्षलाई विवाह गर्ने न्यूनतम उमेर मानिँदै आएको थियो । तर यो संवैधानिक र लैंगिक समानताका आधारमा ठिक र बराबरी नभएकाले केटाकेटी दुवैको विवाह गर्ने उमेर अबदेखि २० वर्ष राखिएको हो । यदि २० वर्षअघि बिहे गरेमा वा गराएमा त्यस्तो विवाह बदर हुनेछ ।

मधेसी र मुस्लिम महिलाले छोरीको विवाहका लागि अनुदान दिनुपर्ने माग राज्यसँग गरेका छन् । गरिबीका कारण छोरीको विवाह गर्न समस्या हुने भएकाले अनुदान माग गरेको खजुरा गाउँपालिका–५ रजनवाकी सुनिता काँदूले बताइन् । राज्यको क्षमताअनुसार मधेसी र मुस्लिम समुदायलाई छोरीको विवाहका लागि अनुदान दिनुपर्ने उनको माग छ । ‘पाँच रुपैयाँ भए पनि छोरीको विवाहका लागि राज्यले अनुदान दिने व्यवस्था गर्नुपर्छ,’ उनले भनिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ