गण्डकीकी अरुणा शाही राष्ट्रिय महिला भलिबलको नयाँ कप्तान

गण्डकीकी अरुणा शाही राष्ट्रिय महिला भलिबलको नयाँ कप्तान

aruna shahi (1)

काठमाडौं । गण्डकी प्रदेशकी अरुणा शाहीले नेपाली राष्ट्रिय महिला भलिबलको कप्तानी गर्ने अवसर पाएकी छिन् । नेपाल भलिबल संघले नेपाली महिला टिमको नयाँ कप्तानमा अरुणालाई चयन गरेको हो । नियमित कप्तान विनिता बुढाथोकी राष्ट्रिय टिम बाहिर रहदा नेपाली महिला टिम कप्तान विहिन रहेको थियो ।

वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड जानु अघि नेपालले कप्तानको तय गरेको हो । नेपाली टिम बुधबार थाइल्याण्ड जाने छन् ।नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र बंगलादेशमा एभिसी सेन्ट्रल जोनको तयारी गर्न नेपाली टिम थाइल्याण्ड जान लागेका हुन् ।

अब नेपालले अरुणाको कप्तानीमा पहिलो संस्करणको एभिसी सेन्ट्रल जोन खेल्ने छ । एभिसी सेन्ट्रल जोन कात्तिक २२ देखि २७ गतेसम्म हुनेछ । सेन्ट्रल जोनपछि नेपालले मंसिर १५ देखि २५ गतेसम्म घरेलु भूमिमा हुने साग खेल्ने छन् । सागमा पनि अरुणाले नै नेपालको कप्तानी गर्ने सम्भावना रहेको छ ।

कप्तान र उप–कप्तान मात्रै टिम बाहिर नभई केही स्टार खेलाडीहरुनै टिम बाहिर रहेपछि नेपाली भलिबल वृत्तमा मात्रै नै नभई समग्र नेपाली खेलकुद नै तरङ्गित बन्न पुग्यो । नियमित कप्तान विनिता भने यस पटक राष्ट्रिय टिमको प्रारम्भिक चरणमै परेकी थिइनन् । विनिता हाल बिच भलिबलको राष्ट्रिय टिममा रहेकी छिन् । केही खेलाडीहरुले विनिता र मन्जु गुरुङलाई आसन्न साफ गेम्ससम्म राखेर स–सम्मान बिदाई गरिनुपर्ने धारणा राखे । केहीले भलिबलमा यति लामो समय गरेको योगदानलाई कदर गर्न नसकेको भन्दै खेलेर केही नहुने अड्कल समेत काटे । नेपाल भलिबल संघले कप्तान विनिता र उपकप्तान मन्जुलाई स–सम्मान बिदाई गर्ने बताएका छन् ।

अरुणा गण्डकी प्रदेशकी मात्रै नभई नेपाली राष्ट्रिय टोलीकी भरपर्दी खेलाडी हुन् । स्पाइकर (हाल लिफ्टर) अरुणाले २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी थिइन् । त्यसयता, उनी टोलीको नियमित सदस्य छिन् । उनले राष्ट्रिय टोलीबाट माल्दिभ्ससँगको मैत्रीपुर्ण, भारतसँगको मैत्रीपुर्ण, साउथ एसियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन र १२औं दक्षिण एसियाली खेलकुद (साग) खेलेकी छन् । अरुणा सिनियरको आधारमा पनि कप्तान बन्ने बलियो सम्भावना छ ।

प्रारम्भिक टोलीः

प्रतिभा माली – प्रदेश ३
सरस्वती चौधरी – एपीएफ
अरुणा शाही – गण्डकी प्रदेश
कमला पुन – पुलिस
हिरा केसी – एपीएफ
उषा विष्ट – एपीएफ
रेश्मा भण्डारी – एपीएफ
जानकी भण्डारी – आर्मी
सुनिता खड्का – आर्मी
पुनम चन्द – पुलिस
सोफिया पुन – आर्मी
कविता भट्ट – एपीएफ
निरुता ठगुन्ना – आर्मी
शान्ति थारु – आर्मी
उषा भण्डारी – पुलिस
संगम महतो – आर्मी
ममता डगौरा – गण्डकी प्रदेश
लक्ष्मी कुमाल – गण्डकी प्रदेश
पुष्पा शाही – कर्णाली प्रदेश
आरती सुवेदी – प्रदेश ३
चन्द्रकला खरेल – पुलिस
सरस्वती कट्टेल – प्रदेश ५
सलिना श्रेष्ठ – प्रदेश ३
शान्ति तामाङ – पुलिस
यामकली कुँवर – गण्डकी प्रदेश

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ