ओली र प्रचण्ड किन गए शीतल निवास ?

ओली र प्रचण्ड किन गए शीतल निवास ?

oli-prachanda

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लिएर राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । विहान ११ नबज्दै राष्ट्रपति भवन पुगेका ओली र प्रचण्ड पौने एक बजेसम्म शीतल निवासमै थिए ।

मन्त्रिपरिषद पुनर्गठनका लागि बोलाइएको पार्टीको सचिवालय बैठक केही घन्टापछि सारेर राष्ट्रपतिसँग के छलफल भयो ? यसबारेमा खुलाइएको छैन । तर नेताहरुले भने मन्त्रिपरिषद् पुनर्गठन गर्नुअघि अध्यक्षद्धयले भेट्दा राष्ट्रपति राजनीतिक रुपमा सक्रिय रहेको सन्देश जाने भन्दै असन्तुष्टि जनाएका छन् ।

उसो त नेकपाभित्र नेताहरुलाई सन्तुलन मिलाउनेदेखि राजनीतिक नियुक्तिहरुमा समेत राष्ट्रपतिको भूमिका रहने गरेको छ । राष्ट्रपतिले मन्त्रिपरिषद गठनदेखि राजदूत नियुक्तिमा पनि चासो राख्ने गरेको एक नेताले बताए ।

अहिलेको मन्त्रिपरिषदमा गोकुल बास्कोटा, थममाया थापा र पद्मा अर्याल राष्ट्रपति निकट मानिन्छन् । त्यस्तै, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र उपसभामुख शिवमाया तुम्बाहाम्फे पनि राष्ट्रपति निकटस्थ मानिन्छन् । पछिल्लो समय ओली र बामदेव गौतमलाई मिलाउनसमेत राष्ट्रपतिले भूमिका खेलेको नेकपाकै नेताहरु बताउँछन् ।

तत्कालिन नेकपा एमालेमा केपी ओली गुटमै पनि भण्डारीको अलग्गै र बलियो उपगुट थियो । त्यसको प्रभाव अहिले पनि देखिने गरेको नेताहरु बताउँछन् । यो पटक मन्त्रिपरिषद पुनर्गठन हुने निश्चित भएपछि राष्ट्रपतिले हट्ने र नयाँ आउने मन्त्रीबारे चासो राखेको हो वा प्रधानमन्त्री र अध्यक्ष प्रचण्ड आफैं जानकारी दिन गएका हुन् ? यो प्रष्ट भएको छैन । तर सचिवालय बैठकमा छलफल नगरी राष्ट्रपतिसँग अध्यक्षद्वयले परामर्श गर्नुले राष्ट्रपति पदको अनावश्यक राजनीतिकरण हुनेतर्फ केही नेताले चिन्ता व्यक्त गरेका छन् ।

एक सचिवालय सदस्य भन्छन्, ‘राष्ट्रपति पार्टीभन्दा माथि हुनुहुन्छ । उहाँले पार्टीभित्र माइक्रो म्यानेजमेन्टमा चासो दिनु हुँदैन । प्रधानमन्त्री र अध्यक्षले पनि पार्टीमा छलफल नगरी शीतल निवासमा छलफल गर्दा विवाद हुनसक्छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ