स्केच आर्टिस्ट प्रशान्तको दुखेसो: ‘नेपाली समाजले स्केचको मूल्य बुझ्न सकेन’

स्केच आर्टिस्ट प्रशान्तको दुखेसो: ‘नेपाली समाजले स्केचको मूल्य बुझ्न सकेन’

prashant-sketch

पोखरा । रुपन्देही तिलोत्तमास्थित ड्राइभर टोलका प्रशान्त शर्मा २१ वर्ष पुगे । पिता टिकाराम शर्मा र आमा बिमला शर्माका छोरा प्रशान्त अहिले लकडाउनमा समेत आफ्नो काममा व्यस्त छन् । आफ्नो सानैदेखिको रुचिको कारण अंगालेको पेशाले उनलाई विश्वभर अहिले महामारीको रुपमा फैलिएको कोरोना भाइरसका माझ लागु गरिएको लकडाउनमा समेत काम गर्ने स्फुर्ति दिएको छ । उनले गरिरहेको काम हो– पेन्सिल स्केचिङ र लिफ आर्ट । लुम्बिनी सिटी कलेजमा आइटी अन्तर्गत स्नातक तह अध्यनरत प्रशान्तले यस लकडाउनको अवधिमा थुप्रै पेन्सिल स्केच तयार पारेका छन् ।

उनले यस बन्दाबन्दीको समयमै महानायक राजेश हमाल, २०१८ कि मिस नेपाल शृङ्खला खतिवडा, बलिउडका नायक टाइगर श्रोफको पेन्सिल आर्ट तयार पारेका छन् । उनले लिफ आर्ट पनि निकै आकर्शक गराउँछन् । उनलाई एउटा लिफ आर्ट गराउन करिब आधा घन्टाको समय लाग्छ भने पेन्सिल स्केच गराउन ४ देखि ५ घन्टा लाग्ने बताउँछन् । गण्डक न्यूजसँग कुरा गर्दै उनले भने, ‘मलाई लिफ आर्ट गराउन आधा घन्टा जति लाग्छ भने पेन्सिल स्केच गराउन ४ देखि ५ घन्टा लाग्छ । उनले थपे ‘मलाई विभिन्न प्रख्यात व्यक्तिको लिफ आर्ट तथा पेन्सिल स्केच गराउन रुचि लाग्छ ।’

उनले लिफ आर्ट तथा स्केच बनाउन लागेको एक वर्ष भयो । उनले आफुले स्केच तथा लिफ आर्टबाट समाजको सचेतनाका लागि पनि काम गर्ने गरेको बताउँछन् । सानैबाट मानिसको चित्र तथा अन्य वस्तुको चित्र दुरुस्तै निकाल्ने प्रशान्तले विगत १ वर्ष देखि आफ्नो रुचिको कामलाई व्यवसायिकता प्रदान गरेका छन् ।

उनले आफु यस काममा लाग्दा आफ्नो अभिभावकको साथ पाएको गर्वका साथ सुनाउँछन् । पेन्सिल स्केच बनाउन काम लाग्ने सबै चिजको बन्दोबस्त परिवारले नै गरिदिएका छन् । प्रशान्त अझै पनि नेपाली समाजले पेन्सिल स्केच र लिफ आर्टको महत्व बुझ्न नसकेको दुखेसो पोख्छन् । आफ्नो पेन्सिल स्केच तथा लिफ आर्ट बनाउन सबैले चाहने तर त्यसको लागि पैसा खर्च गर्न डराउने मानिसको प्रवृत्तिले स्केच आर्टिस्टको अझै पनि भविष्य अन्यौलमा पारेको उनको बुझाइ छ । आफुले पनि करिब १५०० रुपैँया हालेर स्केचिङ पेन्सिल किन्ने गरेको र करिब ४०० रुपैँयाको आइबोरि स्केचिङ पेपर किन्ने तर त्यस अनुसार आम्दानी नहुने बताउँछन् ।

‘सबैले मेरो स्केच गराइदे भन्नुहुन्छ तर त्यस बापतको शुल्क भने तिर्न डराउनुहुन्छ । यसले गर्दा हामीले आफ्नो दुखको फल पनि पाउँदैनौँ र प्रयोग हुने सामाग्रीको पनि पैसा उठ्दैन ।’ उनी भन्छन्,‘यसले गर्दा हामी जस्ता श्रमजिवी आर्टिस्टको भविष्यमा अन्यौलता छाएको छ ।’ उनले छिट्टै मानिसको स्केच सम्बन्धि रहेको मानसिकता परिवर्तन हुने र यसका शिल्पिले पछि राम्रो आम्दानी गर्ने आशा प्रकट गर्छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ