मुख्यमन्त्री गुरुङद्वारा प्रदेश प्रहरी तालिम केन्द्रको स्थलगत अवलोकन तथा निरीक्षण

मुख्यमन्त्री गुरुङद्वारा प्रदेश प्रहरी तालिम केन्द्रको स्थलगत अवलोकन तथा निरीक्षण

mukhyamantri-gurung

पोखरा – गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश प्रहरी तालिम केन्द्र गण्डकी प्रदेशको निर्माणाधीन अवस्थामा रहेका भौतिक संरचनाहरुको अवलोकन तथा निरीक्षण गर्नुका साथै उक्त तालिम केन्द्रको गुरुयोजनाका वियषमा समेत छलफल तथा अन्तरक्रिया गरेका छन् । गण्डकी प्रदेश सरकारका माननीय आन्तरिक मामिला तथा कानूनमन्त्री हरि बहादुर चुमान समेत उपस्थिती रहेको उक्त कार्यक्रममा तालिम केन्द्र परिसरमा वृक्षारोपण समेत गरिएको छ ।

ज्ञान, कला, कौशल र सिपले भरिपूर्ण प्रहरी कर्मचारीहरु उत्पादन गर्ने अन्तराष्ट्रिय स्तरको नमूना प्रहरी तालिम केन्द्रका रुपमा उक्त तालिम केन्द्रलाई स्थापना गर्न आवश्यक पर्ने पूर्वाधार तथा प्रदेश सरकार लगायतका सरोकारवाला निकायहरुको भूमिकाका विषयमा छलफल तथा अन्तरक्रिया गरी आगामी कार्ययोजना तय गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्र गण्डकी प्रदेशका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीले हाल तालिम केन्द्रको निर्माणमा भईरहेका विविध गतिविधिहरु, विभिन्न विधाका प्रशिक्षणहरु, निर्माण सम्पन्न भएका तथा निर्माणाधीन भौतिक संरचना, तालिम केन्द्र संचालनका लागि तत्काल आवश्यक स्रोतसाधन लगायतका विषयमा माननीय मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ तथा उपस्थित अन्य अतिथिहरुलाई जानकारी गराउनुको साथै डिजिटल नक्सा मार्फत तालिम केन्द्रको गुरुयोजना समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै माननीय मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त तालिम केन्द्रलाई सुविधासम्पन्न एवं पूर्वाधारयुक्त देश कै नमूना प्रहरी तालिम केन्द्रका रुपमा स्थापना गरि थप विशिष्टिकृत विधामा समेत प्रशिक्षण प्रदान गर्न सकिने गरि निर्माणकार्य अगाडी बढाउनु पर्नेमा जोड दिए ।

साथै नेपाल प्रहरी संगठनको संगठनिक तथा भौतिक विकास सधै आफ्नो प्राथमिकताको रहेको बताउँदै प्रदेश सरकार सहयोग तथा समन्वयका लागि हरप्रहर तत्पर रहेको बताए ।

उक्त छलफल कार्यक्रममा गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान, गण्डकी प्रदेशका प्रमुख सचिव विष्णु प्रसाद नेपाल, गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता डा. राजेन्द्र अधिकारी, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्याल लगायतले उक्त तालिम केन्द्रको निर्माणसंग सम्बन्धित आ(आफ्नो रचनात्मक राय तथा सुझाव समेत व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा संघीय प्रहरी ईकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर के.सी, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक किरण राणा लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ