मुख्यमन्त्रीको अनुगमनपछि सडक मर्मत, चल्न थाले गाडी

मुख्यमन्त्रीको अनुगमनपछि सडक मर्मत, चल्न थाले गाडी

sadak-marmat

लमजुङ – अविरल वर्षाले लमजुङ रामबजारदेखि करपुरटार, भन्ज्याङ, डढुवा, गिलुङ हुँदै मालिङ जाने सडकका ठाउँठाउँमा पहिरो गयो । सबैभन्दा ठूलो पहिरो भन्ज्याङ भन्ने ठाउँमा गयो र सडक अवरुद्ध बन्यो । गाडीहरु आउजाउ गर्न सकेनन् । आफ्नै ठाउँ र निर्वाचन क्षेत्रमा सडक अवरुद्ध भइरहेको खबरले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको मनपेट पोल्यो ।

असोज १६ गते प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, सचिव रामचन्द्र श्रेष्ठ र प्राविधिकहरुको टोलीसहित मुख्यमन्त्री गुरुङ उक्त सडकको अनुगमनमा निस्कनुभयो । स्वयं मुख्यमन्त्रीको गाडी पनि जान सकेन । लठ्ठी टेक्दै वन, भिरपाखा पखेराको बाटो हिँडेर सडकका खण्डखण्डको अवस्था उहाँले बुझ्नुभयो । सँगँसगै प्राविधिकहरु र सम्बन्धित जिल्ला कार्यालयलाई सडक तुरुन्तै मर्मतको निर्देशन गर्नुभयो ।

मुख्यमन्त्रीको त्यही अनुगमन र निर्देशनको परिणाम रामबजारदेखि करपुरटार, भन्ज्याङ, डढुवा, गिलुङ हुँदै मालिङ जाने सडक मर्मत भएको छ । कात्तिक १७ गते सोमबारदेखि उक्त सडकमा गाडीको आवातजावत सुचारु भएको हो । जिल्ला पूर्वाधार कार्यालय लमजुङका प्रमुख इन्जिनियर सुमन गिरीका अनुसार भन्ज्याङ खण्डमा पहिरो गएको ठाउँको सडक मर्मत पूरा भएको छ ।

पहिरो गएको ठाउँमा तारजालीसहितको ग्याबिन वालसमेत लगाई सडक मर्मत गरिएको जानकारी इन्जिनियर गिरीले दिनुभयो । उहाँका अनुसार उपभोक्ता समिति गठन गरी सडक मर्मत गरिएको हो । गण्डकी प्रदेश सरकारले सडक मर्मतका लागि बजेट उपलब्ध गराएको पनि इन्जिनियर गिरीले बताउनुभयो । जनसहभागितासहित २१ लाख रुपैयाँ खर्चेर उक्त सडक मर्मत भएको हो ।

उक्त सडक मर्मत भएपछि लमजुङको डढुवा, टक्सार, गिलुङ, मालिङ लगायत ठाउँ जानेआउनेहरुका लागि सजिलो भएको छ । प्रदेश सरकार जनताको नजिक छ, जनताका दुखपीर मर्का छिटो सुन्छ, छिटो देख्छ र समाधान पनि गर्छ भन्ने थुप्रै उदाहरण छन्, एउटा उदाहरण हो रामबजारदेखि करपुरटार, भन्ज्याङ, डढुवा, गिलुङ, साल्मे, मालिङ जाने सडक मर्मत ।

प्रदेश सरकारले निर्माण गरिरहेको रामबजारदेखि गिलुङ हुँदै साल्मे, मालिङ जाने सडक स्तरोन्नति र कालोपत्रे भएको देख्ने र भोग्ने दिन आउन पनि अब धेरै समय लाग्ने छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ