बाग्लुङ बलेवामा फेरि जहाज चलाउने तयारी, पक्की संरचना बन्दै

बाग्लुङ बलेवामा फेरि जहाज चलाउने तयारी, पक्की संरचना बन्दै

Balewa Airport

file Photo

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण र लकडाउनले रोकिएको बागलुङ बलेवा विमानस्थल पुनःनिर्माण द्रुतगतिमा भइरहेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल पुनःनिर्माणको काम दु्रतगतिमा भएको जनाएको छ। विमानस्थल आगामी जेठ मसान्तभित्र निर्माण सकेर जहाज नियमित चलाउने तयारीसमेत भएको छ।

विमानस्थलमा ६२० मिटर लामो पक्की नाली बनाउने, मैदानमा एक हजार ५०० मिटर लामो घेराबार लगाउने, एउटा मुख्य ढोका र अर्को आपत्कालीन ढोका बनाउने काम अहिले भइरहेको छ। विसं २०१६ देखि २०१८ सम्म लगाएर स्थानीयवासीले बनाएको ८०० मिटर लामो यो विमानस्थलमा २०४९ सम्म नियमित जहाज चल्दै आएका थिए। विसं २०४८ मा पोखरा–बागलुङ सडक खुलेपछि यो विस्तारै बन्द हुँदै गएको थियो। बलेवाबाट काठमाडौँ, पोखरा र भैरहवाका नियमित उडान भइरहेकामा पोखरा–बागलुङ सडक खुलेपछि रोकिएको प्रतिनिधिसभाका निवर्तमान सांसद सूर्य पाठकले बताए। अब असारदेखि नियमित जहाज चलाउने गरी पहल भइरहेको पाठकको भनाई छ।

विसं २०७२ मा तत्कालीन पर्यटनमन्त्री लोकेन्द्र विष्ट र शिक्षामन्त्री दिनानाथ शर्माले नियमित जहाज चलाउने प्रतिबद्धता जनाएपनि जहाज चल्न सकेको थिएन। दुई वर्षअघि बागलुङ नगरपालिकाले अपुग यात्रुको भाडा खर्च व्यहोर्ने सहमतिमा झण्डै हिउँदका ६ महिना जहाज चलेको थियो। कच्ची धावनमार्गका कारण चिप्लो भएपछि वर्षातमा उडान गर्न जोखिम भएपछि जहाज आउन मानेका थिएनन् भने हिउँदमा पनि मुसाले प्वाल पार्दा धावनमार्ग बिग्रेपछि कालोपत्र गर्न लागिएको हो।

मैदानको सबै भाग एक किलोमिटर लामो छ । हाल ६२० मिटर लामो, २० मिटर चौडा कालोपत्र गरिनेछ। मैदान भने ६० मिटर चौडा सम्याइएको छ। यहाँ १८ देखि २४ सिट क्षमताका जहाज चल्ने आकलन गरेर मैदान पुनःनिर्माण भएको छ। आपत्कालीन अवतरण गर्नुपरेमा ५४ सिट क्षमताका जहाज पनि पार्किङ गर्न सकिने कार्यक्रम व्यवस्थापक खड्काले जानकारी दिए। विमानस्थल नियमित सञ्चालनपछि साविक धवलागिरिका पर्वत, बागलुङ र म्याग्दीका बासिन्दा प्रत्यक्षरूपमा लाभान्वित हुनेछन् भने यस क्षेत्रका आर्थिक तथा पर्यटन व्यवसायसमेत उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ। -रासस

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ