जुवा खालबाट बरामद एक लाख बढी रकम गोरखाका एसपी गुरुङको आफ्नै खल्तीमा

जुवा खालबाट बरामद एक लाख बढी रकम गोरखाका एसपी गुरुङको आफ्नै खल्तीमा

surendra-gurung

गोरखा । दसैं‌ तिहारको समयमा जुवाको खालबाट बरामद गरिएको एक लाख रुपैयाँ बढी रकम जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले आफैंले राखेको खुलेको छ । बरामद भएको दुई महिनासम्म पनि उनले सो रकम आफैले राखेको भेटिएको हो ।

दस‌ै‌ तिहारको समयमा इलाका प्रहरी कार्यालय जौवारीले करिव ६९ हजार रुपैयाँ जुवाको खालबाट बरामद गरेको थियो । उक्त रकम इन्चार्ज प्रहरी निरीक्षक ईश्वर लौडारीले तिहारलगत्तै जिल्ला प्रहरी कार्यालय पठाएका थिए । त्यस्तै इलाका प्रहरी कार्यालय ठाटीपोखरीले बरामद गरेको करिब ५० हजार रुपैयाँ इन्चार्ज प्रहरी निरीक्षक सोमदास ढकालले पनि जिल्ला प्रहरी कार्यालय पठाए । तर दुवै ठाउँबाट बरामद भएको उक्त रकम हालसम्म राजश्वमा दाखिला भएको छैन ।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले पनि हालसम्म त्यो रकम राजश्वमा दाखिला नगरेको स्वीकार गरेका छन् । बरामद भएको दुई महिनासम्म पनि आफैंले राखेको उक्त रकम अब दाखिला गर्ने उनले बताए ।

जुवाको खालबाट बरामद रकम जतिसक्दो चाँडो राजस्वमा दाखिला गर्नुपर्ने गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी घनश्याम अर्याल बताउँछन् । बरामद रकम तुरुन्त राजस्मा दाखिला गरेर जुवाडेलाई मुद्दा चलाउनुपर्नेमा त्यसो नहुँदा प्रहरी अधिकारीको बदनियत देखिएको उनको भनाइ छ । यसमा कारबाही अघि बढाउने अर्यालले प्रतिबद्धता जनाएका छन् ।

असोज १ गतेदेखि मंसिर मसान्तसम्म गोरखा जिप्रकामा जुवाका तीनवटा मात्र मुद्दा दर्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तर, यी दुवै क्षेत्रबाट पक्राउ परेका जुवाडेविरुद्ध मुद्दा दर्ता पनि नभएको र जुवाको खालबाट बरामद रकम पनि हालसम्म राजस्वमा दाखिला भएको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ