बुढीगण्डकी बाढीमा ५ जना बेपत्ता, ९ विदेशीसहित ८२ जनाको उद्धार

बाढी वितण्डा

बुढीगण्डकी बाढीमा ५ जना बेपत्ता, ९ विदेशीसहित ८२ जनाको उद्धार

चुमनुव्रीको तुम्जेमा पहिरोले उङ्गेलिङ खोला थुनिएपछि बाढी

budhigandakii (4)

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाको बाढीका कारण गएको पहिरोमा परि पाँच जना सम्पर्कविहीन भएका छन् ।

सोही क्षेत्र आसपास भेडीगोठमा बस्दै आएका चुमनुब्री गाउँपालिका–६ चुम्चेतका ६५ बर्षीय सोनाम लामा, उनकी श्रीमती ५९ बर्षीया लाक्पा थोर्मा लामा, ६६ बर्षीया सोम भुटी लामा, ६८ बर्षीय कर्मा लामा र ४१ बर्षीय तेन दोर्जे लामा सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाढीले घर, गोठ, सडक तथा अन्य भौतिक संरचनामा क्षति पुर्‍याएको छ। बाढी प्रभावित क्षेत्रबाट नौ विदेशीसहित ८२ जनाको उद्धार गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार बिहान गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका-६, चुम्लिङ नजिकै उर्लुङ खोलाबाट गेग्रान बहाब आई धार्चे खोला हुँदै बुढीगण्डकी नदीमा ठूलो बाढी आएको हो।

बाढीका कारण प्रारम्भिक विवरणअनुसार पाँच जना सम्पर्कविहीन छन्। बाढीले घरमा पूर्ण तथा आंशिक क्षति पुर्‍याउनुका साथै गोठ, झोलुङ्गे पुल, जलविद्युत् आयोजना र सवारीसाधनमा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार बाढीबाट हालसम्म दुईवटा पक्की पुल, दुईवटा झोलुङ्गे पुल, तीनवटा जलविद्युत् आयोजना र चारवटा भवनमा क्षति पुगेको छ। त्यस्तै ४५ घर पूर्ण र १७ घर आंशिकरूपमा क्षतिग्रस्त भएका छन्। ३४ गोठमा क्षति पुगेको छ भने १२ वटा घर तथा गोठको खोर/गोठमा क्षति भएको विवरणमा उल्लेख छ। तीनवटा सवारीसाधनमा समेत क्षति पुगेको छ।

बाढी प्रभावित क्षेत्रबाट हालसम्म ८२ जनालाई नेपाली सेनाका चार हेलिकोप्टर परिचालन गरी उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये नौ जना विदेशी नागरिक रहेका छन्।

default

बाढीको सूचना प्राप्त हुनासाथ प्राधिकरणले गोरखा, धादिङ, चितवन, नवलपरासी पूर्व र पश्चिम जिल्लाका स्थानीय तह तथा सरोकारवालालाई एसएमएसमार्फत सतर्कता सूचना पठाएको थियो। बिहान ६ बजे बाढी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचनाका आधारमा गोरखा, धादिङ र चितवनको बेनीघाटसम्मका सर्वसाधारणलाई पनि पूर्वसूचना सम्प्रेषण गरिएको प्राधिकरणले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा राहत सामग्रीसमेत पठाइएको छ। सडक तथा हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रमा ५० थान टेन्ट, ५० त्रिपाल, २०० म्याट्रेस, २०० ब्ल्याङ्केट, २०० स्लिपिङ ब्याग, १०० सोलार लाइट, ५० किचेन सेट, १० जेनेरेटर, १३० ज्याकेट, २० हाइजिन किट, १० फुड बास्केट, १० बेबी बास्केट र २० रोयल ब्याग पठाइएको प्राधिकरणले जनाएको छ।

घटनाको अवस्था पत्ता लगाउन ड्रोन तथा भूमिसहितको तीनवटा टोली परिचालन गरिएको छ। गोरखा, लमजुङ र तनहुँका जिल्ला विपद् व्यवस्थापन समिति तथा प्रदेश अस्पताल र आकस्मिक चिकित्सकीय टोलीलाई तयारी अवस्थामा राखिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ