बाजुरामा बिहीबार रातिदेखि हिमपात शुरु भएको छ । भारी हिमपातसँगै अत्याधिक चिसो बढेकाले यहाँको जनजीवन कष्टकर भएको छ । बाक्लो हिमपातका कारण किसान उत्साहित र खुशी भएका छन् भने व्यापारी चिन्तित भएका छन् ।
समयमै हिमपात र बर्षा नहुँदा खेतमा लगाइएका हिउँदेबाली सुक्ने भए भन्दै किसान चिन्तित बनेका थिए । मङ्सिरबाट हिमपात हुनुपर्नेमा यो वर्ष माघ महिनामा मात्र हिमपात भएको छ । बिहीबार रातिबाट बर्षासँगै हिमपात हुन थालेपछि किसान खुशी भएका हुन् ।
लामो समयसम्म पानी नपरेपछि लगाएका हिउँदेबाली खेतमै सुक्ने भनेर चिन्तित बनेका यहाँका किसान बर्षासँगै हिमपात हुन थालेपछि अब बाली सप्रिने भन्दै उनीहरु उत्साहित भएका छन् । यो वर्ष हिउँदे बाली उत्पादन नहुने भयो भनेर भरोसा मारिसकेका थियौँ बाजुरा गौमुल गाउँपालिकाका किसान मिलन रोकायाले भने, एक्कासी बर्षासँगै हिमपात हुन थालेपछि अब हिउँदे बाली उत्पादनमा वृद्धि हुने आस पलाएको छ । हिउँ र पानीले अन्नबाली सप्रिनुका साथै सुक्खा मौसमले फैलन सक्ने रोग पनि रोक्ने भन्दै आफूहरु खुशी भएको उनको भनाइ छ ।
हिमपातले कृषकमा खुशीयाली ल्याए पनि यहाँका व्यापारी भने चिन्तित भएका छन् । भारी हिमपात भएर सडक बन्द भई सामान ढुवानी बन्द हुन्छ कि भनेर व्यापारी चिन्तित भएका हुन् । बाजुरा जिल्लाको माथिल्लो भेगको सामान तल्लो भेग सदरमुकाम मार्तडीबाट सडक मार्ग भएर आउने भएकाले बढी हिमपात भएमा कच्ची सडक बिग्रने र पोरखे लेकमा सडक बन्द भएर दैनिक उपभोग्य सामानको अभाव हुन्छ कि भनेर व्यापारी चिन्तित भएका हुन् ।
अहिले उच्च हिमाली क्षेत्रमा हिउँले डाँडाकाँडा सेताम्य छन् । एक्कासी बादल लागेर हिउँ पर्न थालेपछि निकै चिसो बढेको छ । चिसोमा न्यानो कपडा लगाउन र झोलिलो तातो खानेकुरा खान स्थानीय प्रशासनले आग्रह गरेको छ । निरन्तर हिमपात भइरहेकाले गाइबस्तु गोठभन्दा बाहिर निकाल्न सकिएको अवस्था छैन् । चिसोको मार बालबालिका र वृद्धवृद्धामा बढी देखिएको हो । बाजुरामा यो वर्ष पहिलो पटक हिमपात भएको हो । हिमपात नहुँदा धुलो र धुँवाका कारण मौसमी रुघाखोकीको प्रकोप बढ्ने सम्भावना थियो ।
यहाँका बडिमालिका नगरपालिका, बूढीन्दा नगरपालिका, त्रिवेणी नगरपालिका, गौमुल गाउँपालिका, स्वामिकार्तिक गाउँपालिका, पाण्डव गुफा गाउँपालिका, हिमाली गाउँपालिकाको माथिल्लो क्षेत्रमा बिहीबार रातिदेखि नै हिमपात भइरहेको छ भने तलो क्षेत्रमा वर्षा भइरहेको छ ।
सम्बन्धित खबर
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा
लेखनाथ उद्योग वाणिज्य संघमा महानगरको कर सचेतना कार्यक्रम
पोखरा १५ मा तेस्रो रोपाइँ महोत्सव सम्पन्न, उत्कृष्ट चार फार्मलाई नगद पुरस्कारले सम्मान
पोखरा १५ मा क्षमता विकास सशक्तीकरण तथा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
फेरिए दुःखका दिन : गाउँ पुग्न बाटो बन्यो, खोला तर्न पुल
कुमामोतो नेपाली समाज जापानको अध्यक्षमा भट्टराई
यो पनि पढौँ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा
स्कूल बिदामा घर गएका बालकको खेतको आलीबाट लडेर मृत्यु
छोरेपाटन मावि अध्यक्षलाई कालोमोसो दल्ने योजनाकार सुजन बिक पक्राउ, २ जना खोज्दै पक्राउ