तालमा भेटियो एक वर्षदेखि हराएको आइफोन

तालमा भेटियो एक वर्षदेखि हराएको आइफोन

Capture-27

सामान्य स्मार्टफोन पानीमा डुब्यो भने बिग्रिन्छ । पछिल्लो समय केही यस्ता स्मार्टफोनहरु पनि बनेका छन् जो वाटरप्रुफ छन् । केही समय पानीमा डुब्दैमा यी स्मार्टफोन भने बिग्रिँदैनन् । तर, १ वर्षसम्म पानीमा डुबेर रहँदा पनि कुनै स्मार्टफोन सुरक्षित रहन सक्ला ? ताइवानमा एक व्यक्तिको आइफोन भने १ वर्षसम्म पानीमा डुब्दा पनि सुरक्षित रह्यो ।

ताइवानमा अहिले खडेरी परेको छ । यो शताब्दीकै सबैभन्दा ठूलो मानिएको यो खडेरीका कारण त्यहाँका नागरिक पानीको गम्भीर कमीसँग जुधिरहेका छन् । पानीको अभावले कैयौं जनता समस्यामा परिरहेका बेला त्यहाँका एक व्यक्तिका लागि भने यो खडेरीले खुसी ल्यायो । उनको एक वर्ष अगाडि तालमा डुबेको आइफोन अहिले ताल सुकेपछि भेटियो ।

ताइवानको सन मुन ताललाई यहाँका प्रमुख तालमध्येको एक मानिन्छ । तर, खडेरीका कारण यो ताल सुकेको छ । सुकेको तालमा चेन नामका ती पर्यटकको एक वर्षअगाडि हराएको आइफोन भेटियो । १ वर्षअगाडि चेन यो तालमा डुङ्गामा घुमिरहेका थिए । यही क्रममा उनको आइफोन ११ प्रो म्याक्स तालमा खसेको थियो । उनले आफ्नो आइफोन भेटिने आशा मारिसकेका थिए । तर, एक हप्ताअगाडि उनले आफ्नो हराएको आइफोन भेटिएको सूचना पाए ।

ताइवान न्यूजका अनुसार चेनलाई तालका एक कर्मचारीले फोन भेटिएकोबारे सूचना दिएका थिए । चेनले यो खबरलाई फेसबुकमा पनि शेयर गरेका छन् । चेनले आफ्नो आइफोन पाएपछि त्यसलाई चार्ज गर्दा आइफोन चार्ज भयो । उनले आइफोन अन गरे । फोनले राम्रोसँग काम गरिरहेको थियो । फोन पानीमा डुबेको भए पनि त्यसको वाटरप्रुफ कभरका कारण फोन सुरक्षित थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ