भेंडीगोठमा विद्युत र मोटरबाटो, गाउँलेहरु दङ्ग

भेंडीगोठमा विद्युत र मोटरबाटो, गाउँलेहरु दङ्ग

bhedigoth lamjung

लमजुङ । बेलायती सेनामा छाती नाप्न जानु अघि मजन बहादुर गुरुङलाई लागेको थिएन आफ्नो गाउँठाउँको यति धेरै विकास हुन्छ । जन्मे खेलेको ठाउँमा २० वर्ष पछि फर्किदा गाउँको माटोले उनको पदचाप त चिन्यो । तर, गाउँका यौवनाले चिनेनन् । ‘यही माटोमा हुर्के खेलेको हो, लाहुरे भयो । अहिले गाउँमा आउँदा त कसैले पनि चिन्दैन,’ उनले भने, ‘यो ठाउँमा यति धेरै विकास होला भनेर त मैले सोचेको पनि थिइनँ ।’

लमजुङको क्होलासोथर गाउँपालिका ६ क्होम्रे डाँडामा बिजुली बत्ति र बाटो पुगेपछि गाउँलेहरु दंग छन् । भुपु सैनिक समिति क्होलासोथर पसगाउँ र स्थानीय सरकारको पहलमा बिजुली बत्ति र बाटो पुगेपछि स्थानीयले खुसीयाली मनाएका छन् ।

क्होम्रे डाँडामा बनभोज स्थल बनाएर पर्यटकीय गतिविधि बढाउने योजना अनुरुप बिजुली बत्ति र बाटो पु¥याइएको भुपु सैनिक समिति क्होलासोथर गाउँपालिका ६ पसगाउँका कोषाध्यक्ष खड्गबहादुर गुरुङले जानकारी दिए । ‘हाम्रो पुख्र्यौली थलोमा आज बिजुली बत्ति आएको छ, यहाँ बनभोज स्थल बनाएर पर्यटकीय गतिविधि बढाउने, पर्यटक ल्याएर आर्थिक आम्दानी गर्न सक्छौं,’ उनले भने ।

क्होलासोथर गाउँपालिका ६ का अध्यक्ष मनलाल गुरुङले बिजुली बत्ति ल्याए पनि बनभोज स्थल बनाउन अन्य पूर्वाधार पनि खाँचो रहेको बताए । ‘अरु पूर्वाधार पनि बनाउनपर्छ । पानी र शौचालयको पनि व्यवस्था गर्न सक्यो भने धेरै पर्यटकलाई लोभ्याउन सकिन्छ,’ उनले भने, ‘तत्कालै ल्याउन पर्ने देखिएको छ । सबैले सोचेका पनि छौं । त्यसको लागि पनि पहल गछौं ।’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका स्वकिय सचिव सूर्यप्रसाद गुरुङले पुख्र्यौली थलोलाई पर्यटकीय स्थल बनाउने पहलको तारिफ गरें । ‘हामी आज पुख्र्यौली थलोमा यसरी जम्मा हुन पाएका छौं । बिजुली बत्ति आई सकेको छ । अरु पनि पूर्वाधार ल्याएर हाम्रो यो ठाउँलाई पर्यटकीय गतिविधी बनाउन सक्यौं भने गाउँको विकासमा ठूलो टेवा पुग्ने छ,’ उनले भने ।

भुपु सैनिकको अग्रसरतामा भएको पहललाई प्रदेश सरकारले पनि सकारात्मक रुपमा लिएको उनले सुनाए । सो ठाउँको विकासको लागि बजेट निकासा गर्न प्रदेश सरकारसँग पहल गर्ने उनले जनाए ।

क्होलासोथर गाउँपालिका ६ का पर्यटन व्यवस्थापन समिति अध्यक्ष बलराम गुरुङले अझैं पनि रोजगारीका लागि आफूहरु विदेश पुग्नु परेको भन्दै गुनासो पोखे । संस्कृतिको धनी पस गाउँमा पर्यटकीय गतिविधि बढाउँदै लैजानुपर्ने उनको मत छ । ‘आज बिजुली बत्ति र पानी आएको छ, अर्काे साल अरु पनि पूर्वाधार थपिन्छ, झन राम्रो हुन्छ । हामीले गर्न सके पैसै पैसा छ,’ उनले भने ।

यसअघि भेडीगोठको रुपमा प्रयोग हुँदै आएको क्होम्रे डाँडाबाट उत्तरतर्फ अन्नपूर्ण, गणेश हिमालको पानारोमा भ्यू देख्न सकिन्छ । कार्यक्रममा जेष्ठ भुपु सैनिकलाई समेत सम्मान गरिएको थियो । बिजुली बत्ति उद्घाटन कार्यक्रमको छेको पारेर ११ औं पस गाउँ पनि क्होम्रे डाँडामा नै आयोजना गरिएको थियो । भुपु सैनिकको ३ लाख रुपैयाँ लागतमा बिजुली बत्ति क्होम्रे डाँडासम्म पु¥याइएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ