चैते दसैँ नजिकिँदा मुक्तिनाथमा बढे तीर्थालु

चैते दसैँ नजिकिँदा मुक्तिनाथमा बढे तीर्थालु

muktinath

File Photo

एसके थकाली, मुस्ताङ । प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथमा स्वदेशी तीर्थालुको घुइँचो बढेको छ । नयाँवर्ष तथा चैते दसैँको छेको पारेर तीर्थालु आइरहेका छन् । यो वर्षको चैते दसैं वैशाख ८ गते परेको छ ।

बर्सेनि चैते दसैँ, औंसी तथा बडादसैँ औंसीको सेरोफेरोमा बढी भक्तजन मुक्तिनाथ दर्शन गर्न आउँछन् । एक वर्ष लामो कोरोना कहरपछि मुक्तिनाथ दर्शन गर्ने तीर्थालुको संख्या बढ्न थालेको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिए ।

नेपालमा पनि कोभिडको दोस्रो लहर देखा परे पनि मुस्ताङमा यसको जोखिम नरहेकाले दैनिक २ हजारजनाभन्दा बढीको संख्यामा स्वदेशी भक्तजन मुक्तिनाथ दर्शन गर्न आउने गरेको सुवेदीले बताए ।

मन्दिर व्यवस्थापनले कोभिड रोकथामका लागि आवश्यक सुरक्षा मापदण्डमा भने बेवास्ता गरेको छ । मुक्तिनाथ विकास समितिले भने कोरोनो जोखिम रोकथाम गर्न आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी तीर्थालुलाई दर्शन गर्ने व्यवस्था मिलाएको दाबी गरेको छ ।

मुस्ताङको मुक्तिनाथ र प्युठानको स्वर्गद्वारी धार्मिकस्थल मुक्तिमार्ग भएकाले आफूहरु मुक्तिनाथ दर्शन गर्न आएको झापाकी सलु दाहाल नेपालले बताइन् ।

मुक्तिनाथ क्षेत्र बद्रीनाथ र केदारनाथ धार्मिकस्थल जस्तै अत्यन्तै ठूलो धार्मिक तपोभूमि भएकाले यहाँ आउने पर्यटकका लागि पर्याप्त होटल र धर्मशालाहरुको व्यवस्था गरिनुपर्ने सरोकारवालालाई सुझाइन् ।

काठमाडौंका शुकराज केसीले भने विगत वर्षहरुको तुलनामा मुक्तिनाथ यात्रा सहज भएको दाबी गरे । उनले काठमाडौंबाट मुक्तिनाथसम्म आइपुग्दा कुनै दुखकष्ट झेल्न नपरेको भन्दै अन्य तीर्थालुलाई पनि निर्धक्क मुक्तिनाथ दर्शन गर्न आउन आग्रह गरे ।

उनले उच्च उचाइमा रहेको मुक्तिक्षेत्रमा नेपाली सेनाले अल्टिच्युडले बिरामी पर्ने व्यक्तिको उद्दारका लागि आपतकालीन हेल्थ डेस्क स्थापना गरिएको र मन्दिरमा स्वास्थ्य सुरक्षा मापदण्डको व्यवस्था राम्रो भएको जनाए ।

पछिल्लो समय मुक्तिनाथ मन्दिरमा आन्तरिक तीर्थालुको संख्या बढे पनि मुक्तिनाथ मन्दिरसम्म पुग्ने अपांगमैत्री बाटो नहुँदा वृद्धवृद्धा र अपांग तीर्थालुलाई सास्ती पर्ने देखिएको छ ।

मुक्तिनाथको तल्लो गेटदेखि मुक्तिनाथको उपल्लो गेट पुग्ने सिँढी बाटो निर्माण भइरहेको छ । यसअघि वृद्धवृद्धा र अपांग तीर्थालुलाई सेवा दिने घोडाको सेवासमेत बन्द भएकाले त्यस्ता तीर्थालुलाई मन्दिर पुग्न समस्या परेको छ ।

मुस्ताङमा आन्तरिक तीर्थालु वृद्धि भएसँगै कोभिड माहामारीले थला परेका मुस्ताङका पर्यटन व्यवसायीमा केही उत्साह जगाएको छ ।

वसन्त ऋतुको आगमनसँगै मुस्ताङ होटलहरु तीर्थालुले भरिभराउ हुन थालेको छ । मुस्ताङको स्थानीय कृषि उत्पादनले समेत प्राथमिकता पाउन थालेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ