मुस्ताङ घुम्न होटल क्वारेन्टिन बसेको प्रमाणपत्र अनिवार्य

मुस्ताङ घुम्न होटल क्वारेन्टिन बसेको प्रमाणपत्र अनिवार्य

jomsom-airport

एसके थकाली । मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई शुक्रबारदेखि होटल क्वारेन्टिन बसेको प्रमाणपत्र अनिवार्य गरिएको छ । प्रमाणपत्रका आधारमा जिल्ला प्रवेश अनुमति दिने जनाइएको छ ।

पछिल्लो समय युके भेरियन्टको दोस्रो लहरले मुलुक आक्रान्त भइरहेको छ । मुस्ताङमा समेत बिहीबार राति १ महिलाको कोरोनाकै कारण मृत्यु भएपछि जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको शुक्रबार बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

मुस्ताङ र म्याग्दीको सीमानामा पर्ने थासाङ ४ घासाको प्रहरी चेकपोस्टमा अबदेखि मुस्ताङ भित्रिने पर्यटकलाई होटल क्वारेन्टिन बसेको सर्टिफिकेट अनिवार्य गराइएको प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी दिइन् । मुस्ताङीलाई भने जिल्ला फर्किदा अनिवार्य होम क्वारेन्टिन बस्ने प्रतिवद्धता र सुनिश्चितता खोजिने भएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका साथै जिल्लाको उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाउनका लागि मुस्ताङ जिल्ला सिसिएससीले योसहित अन्य ६ बुँदे थप निर्णय गरेको छ ।

यसअघि वैशाख ६ गते नेपाल सरकार मन्त्रिपरिषदले गरेको निर्णय अनुसार जिल्लाका मठ, मन्दिर, मस्जिद, चर्च र गुम्बा जस्ता धार्मिकस्थलमा नित्य पूजा, प्रार्थना, ध्यानबाहेक अन्य गतिविधि गर्न रोक लगाउने निर्णय गरेको छ ।

उपल्लो मुस्ताङमा चाडै हुने तिजी लगायतका चाडपर्वमा ध्यान, प्रार्थनाबाहेक अन्य कार्य आयोजना गर्न रोक लगाइएको छ भने विवाह, ब्रतबन्ध, मृत्यु संस्कारमा बढीमा १५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ । पास्नी, विवाह, मृत्यपछिको भेटघाटमा पूर्णत रोक लगाउने निर्णय गरिएको छ ।

मुस्ताङमा आउने हरेक व्यक्ति अनिवार्य १० दिन क्वारेन्टिन बस्नुपर्ने र सोको अनुमगन तथा निगरानी स्थानीय सिसिएमसी तथा वडाले गर्ने, गराउने भनिएको छ । भौगोलिक रुपले विकट मुस्ताङमा पिसिआर गर्न समस्या परेको र कोभिड १९ को परीक्षण एन्टिजिनबाट भइरहेकोमा एन्टिजिनको मौज्याद कम भएकाले आवश्यक एन्टिजोन माग गर्ने निर्णय भएको छ ।

समितिले पछिल्लो समय कोभिड १९ को संक्रमणका कारण १ व्यक्तिको मृत्यु भइसकेकाले मुस्ताङ जिल्ला भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई नआउन अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ