बाग्लुङमा जेठ १५ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय

बाग्लुङमा जेठ १५ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय

baglung

बाग्लुङ – जिल्ला प्रशासन कार्यालय बाग्लुङले जेष्ठ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ ।

जिल्लामा नयाँ भेरियन्टको कोरोना भाइरस फैलिएसंगै संक्रमण रोक्न आज बसेको जिल्ला सुरक्षा समितीको बैठकले जेठ १५ गते मध्यराति १२ बजे सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको कार्यालयले जनाएको छ।

जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जारी गरेको सूचनामा अत्यावश्यक सेवा तथा वस्तु बाहेक अन्य सबै प्रकारका व्यापार व्यवसाय सञ्चालनमा रोक लगाइएको छ । त्यसैगरी अत्यावश्यक सामग्रीलगायत मालवाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन वाहेकलाई रोक लगाइएको छ ।

यस्तै अत्यावश्यक वस्तु वा सेवाअन्तर्गत पर्ने औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, पानी, तरकारी फलफूल, बीउ बिजन, दूध, पशुपंक्षीका दाना बोकेका सवारी साधन, विद्युत्, दूरसञ्चार, परिचयपत्र वाहक सञ्चारकर्मीका सवारी साधन, चिकित्सकका जाने आउने सवारी साधन, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी साधन र स्वास्थ्य सेवाका सामग्री बोकेका साधन भने संचालन गर्न पाइने छ ।

अत्यावश्यक सेवाका पसलहरु स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गरी विहान १० बजेसम्म मात्र संचालन गर्न पाइने छ ।

कुनैपनि मेला महोत्सव, जात्रा सञ्चालन गर्न, मानिस भेला हुन, भीडभाड गर्न र सभा जुलुस गर्न रोक लगाइएको छ । यस्तै बैवाहिक कार्यक्रम घरबाट मात्र संचालन गर्ने गरी स्वास्थ्य तथा सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गरी एक पक्षबाट बढीमा ७ जना मात्र सहभागी हुन पाइने छ। भने, बैंक तथा वित्तिय संस्थाहरु, बीमा कम्पनी, मनि ट्रान्सफर संचालन गर्न पाइने छैन।

अत्यावश्यक कामका लागि यात्रा गर्नुपर्दा आवश्यक कागजपत्र (अस्पतालका या अत्यावश्यक कार्य प्रमाणित हुने) कागज देखाई प्रहरीसँग समन्वय गरी अनुमति प्राप्त भए पश्चात मात्र यात्रा गर्न पाइने छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ