आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६५ औं बुद्ध जयन्ती

आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६५ औं बुद्ध जयन्ती

buddha-jayant

आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६५ औं बुद्ध जयन्ती । भगवान् बुद्धप्रति आस्था प्रकट गरेर मनाइँदैछ ।गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।

नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६५ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए ।

छ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाएका थिए । ३६ वर्षको उमेरमा सारनाथमा उनले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन गर्दै बौद्ध दर्शनको खोज–अनुसन्धान थालेका थिए ।

बुद्धले आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश दिएका थिए । आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि पर्दछन् ।

यसैगरी पञ्चशीलमा चोरी नगर्नु, झुटो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् । मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एसियाका तारा उपाधिले पनि सम्मान प्रकट गरिन्छ ।

हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवान्को नवौँ अवतार मान्दछ । यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन् ।

गौतम बुद्धका मार्गदर्शन आत्मसात् गर्न सकेमा राष्ट्रिय एकता सुदृढ हुने छः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्तिका अग्रदूत गौतम बुद्धको २५६५ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशका बौद्धधर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् ।

विश्विले शान्तिका प्रकाशका रूपमा उच्च सम्मान गर्ने महान् गौतमबुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरवको विषय भएको जनाउँदै उनले बुद्धजयन्तीलाई हाम्रो राष्ट्रको प्राचीन सभ्यता र समृद्ध इतिहासबाट प्रेरणा लिंँदै प्रगतिको बाटामा अग्रसर रहन प्रण गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिएकी छन् ।

बुद्धजन्मस्थलबारे कतिपय मुलुकका पाठ्यक्रमका त्रुटि सच्याउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भए सच्याउन ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री ओलीले  बुद्धजयन्ती र बुद्ध परिनिर्वाण तथा लुम्बिनी दिवसका अवसरमा दिनुभएको सन्देशमा भनेका छन् , ‘‘यस्ता कुराहरु नसच्चिएको भन्ने पनि सुनिन आएको छ । म सबैमा यस्ता त्रुटिहरु आजको वैज्ञानिक युगमा, सूचनाको युगमा त्रुटिहरु नै निरन्तर कायम राखेर बालबालिका वा नयाँ पुस्तालाई तिनै त्रुटिहरु पढाउनु वाञ्छनीय हुँदैन । त्यसकारण सत्य पढाउनेतर्फ, सत्य सिकाउनेतर्फ र बालबालिकालाई सत्य कुरा अवगत गराउने दिशातर्फ सबैको ध्यानाकर्षण पनि गराउन चाहन्छु ।’’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ