बाग्लुङ । धवलागिरि अस्पतालले कोरोना सङ्क्रमणसँगै मिर्गौला रोगबाट ग्रसित बिरामीलाई नियमित डायलासिस सेवा प्रदान गर्दै आएको छ ।
अस्पतालमा अहिले चार जना कोरोना सङ्क्रमितले डायलासिस गराइरहेका छन् । जसमध्ये तीन जना होम आइसोलेशनमा छन् भने एक जना अस्पतालमै भर्ना भएर उपचाररत छन्।
अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलका अनुसार अस्पतालमा नियमित डायलासिस गराउनेको संख्या २० छ । “कोरोना सङ्क्रमितका लागि विशेष सावधानीसहित डायलासिस गराइरहेका छौँ”, उनले भने, “जोखिम हुँदा पनि हामीले मिर्गौलाका बिरामीलाई अन्यत्र पठाएनौँ, यही व्यवस्थापन ग¥र्यौँ ।”
कोरोना सङ्क्रमितलाई आइसोलेशनकक्षमा छुट्टै राखेर डायलासिस गराउने गरिएको छ । होम आइसोलेशनमा रहेका तीन जना मिर्गौलापीडित भने सुरक्षित तवरले अस्पताल आई डायलासिस गरेर फर्कन्छन् । अस्पतालले कोरोना सङ्क्रमित महिलालाई प्रसूतिसमेत गराउँदै आएको छ ।
महामारीको दोस्रो लहर शुरु भएयता दुई जना सङ्क्रमित महिलाले अस्पतालमा शिशु जन्माएको प्रमुख चिकित्सक पोखरेलले बताए। कोरोनासँगै अन्य दीर्घ रोग भएका बिरामीको पनि उपचारमा विशेष ध्यान दिइएको उनको भनाइ छ ।
त्यस्ता बिरामीलाई कोरोनाले चाँडै गम्भीर बनाउने चिकित्सक बताउँछन् । मिर्गौला रोगी पनि बढी जोखिममा पर्छन् । अस्पतालले तीन वर्षअघि मिर्गौलापीडितको उपचारका लागि डायलासिस सेवा शुरु गरेको थियो । डायलासिस सेवा दिने अस्पताल जिल्लामा यही मात्र हो ।
विसं २०७६ चैत १५ मा देशकै पाँचौ सङ्क्रमित जिल्लामा भेटिएपछि अस्पतालले गण्डकी प्रदेशमै पहिलोपटक कोरोनाको उपचार थालेको थियो । हालसम्म सयौँ सङ्क्रमित उपचारपछि निको भएर अस्पतालबाट घर फर्केका छन् । अहिले १४ जना सङ्क्रमित अस्पतालमा उपचाररत छन् ।
सीमित स्रोत साधनका बावजुद अस्पतालले सङ्क्रमितको उपचार र व्यवस्थापन गरिरहेको छ । दरबन्दी अनुसार चिकित्सक÷स्वास्थ्यकर्मी नहुँदा कामको चाप छ । उपप्रादेशिक तहको अस्पताल भएर पनि पूर्वाधार र मानव संशाधनको व्यवस्थापनमा सम्बन्धित निकायको उचित ध्यान पुगेको छैन ।
पछिल्लो सातायता अस्पतालमा सङ्क्रमितको संख्या ५० प्रतिशतले घटेको जनाएको छ । हालसम्म जिल्लाका चार हजारबढीमा कोरोना पुष्टि भएको छ । सक्रिय सङ्क्रमितको संख्या ६९० छ भने कोरोनाका कारण ४७ जनाले ज्यान गुमाएका छन् ।
सम्बन्धित खबर
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
बागलुङमा व्यावसायिक स्याउखेती
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु