बागलुङमा भत्किएका सडक पुनर्निर्माण गरिनेः विस्थापितलाई घर फर्काइने

बागलुङमा भत्किएका सडक पुनर्निर्माण गरिनेः विस्थापितलाई घर फर्काइने

Majhfat pahiro2

बागलुङ । बागलुङ नगरपालिकाको विपद् व्यवस्थापन समितिले बाढी पहिरोले भत्किएका र भासिन थालेका ग्रामीण सडकसहितका संरचना पुनर्निर्माण गर्ने भएको छ ।

समितिका अध्यक्ष लक्ष्मी बोहोराका अध्यक्षतामा शुक्रबार बसेको बैठकले भत्किएका र भासिन थालेका ग्रामीण सडकसहितका पूर्वाधार क्षतिको विवरण सङ्कलन गरेर प्राथमिकतका आधारमा पुनर्निर्माण गर्ने निर्णय गरेको समितिका सदस्य नारायण शर्मा पौडेलले बताए। प्रत्येक वडाध्यक्षको अध्यक्षतामा रहेको विपद् व्यवस्थापन समितिको निगरानीमा उपभोक्ता समितिमार्फत भत्किएका र भासिन थालेका पूर्वाधारहरु बनाउने निर्णय गरिएको उनले जानकारी दिए।

झण्डै एक साताको लगातारको वर्षाका कारण आएको बाढीपहिराले बागलुङका अधिकांश ग्रामीण सडक, मालढुङ्गा कुश्मीसेरा सडक, कालीगण्डकी करिडोर, सिगाना, तित्याङ, भकुण्डे र रायडाँडासम्म पुग्ने अधिकांश सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध भएपछि ग्रामीण क्षेत्रबाट ढुवानी हुने दूध, खाद्यान्न, तरकारी र अत्यावश्यक सेवा पनि रोकिएका छन् । मालढुङ्गास्थित काठेखोला पुल भत्किएपछि पैदलयात्रा समेत रोकिएको छ । ठेक्का प्रक्रियामा जाँदा ढिलो हुने भएकाले भएकाले उपभोक्ता समितिमार्फत मर्मतसम्भारको काम गराउने निर्णय भएको समितिका अर्का सदस्य जीवन आचार्यले जानकारी दिए।

बैठकले पहिलो प्राथमिकतामा ग्रामीण सडक मर्मतको एजेण्डा राखेको छ । घरगोठ भत्केर विस्थापित भएका परिवारलाई पनि प्राथमिकतामा राखेर पुनस्र्थापना गर्ने योजना छ । ती सबै कामका लागि वडा तहको विपद् व्यवस्थापन समितिमा रहेको बजेट खर्च गरिने निर्णय भएको बताइएको छ । यस कार्यका लागि नगरपालिकाले पनि आवश्यक बजेट विनियोजन गर्ने र अन्य श्रोतको समेत खोजी भइरहेको छ । “वैशाखदेखि असारसम्म खर्च हुन नसकेका बजेटलाई समेत विपद् व्यवस्थापनमा खर्च गर्ने गरी रकमान्तर गर्न सकिन्छ”, सदस्य आचार्यले भने, “यसतर्फ आवश्यक गृहकार्य भइरहेको छ ।”

जिल्लाका अन्य पालिकाले पनि अवरुद्ध सडक सञ्चालनमा ल्याउने प्रयास थालेका छन् । उपभोक्ता समितिको सक्रियतामा सडक मर्मतका लागि केही स्थानमा पालिकाबाट रकम जुटाइएको छ भने कतिपय स्थानमा श्रमदानमा काम भइरहेको छ । बडिगाड गाउँपालिकाले जलजला, दर्लिङ र रणसिंकिटेनी जाने सडकलाई मर्मतसम्भार गरेर सञ्चालनमा ल्याउने काम थालेको अध्यक्ष मेहरसिंह पाइजाले बताए। ढोरपाटन नगरपालिका—६ का उपभोक्ताले पनि श्रमदानमार्फत सडक मर्मतको काम थालेको वडाध्यक्ष लक्ष्मण पुनले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ