शरीरको टक्सिन निकाल्न गुर्जो उपयोगी

शरीरको टक्सिन निकाल्न गुर्जो उपयोगी

गुर्जो

काठमाडौँ । कार्यक्रममा निःशुल्क गुर्जोका बिरुवा र धुलो एवं चिया वितरण गर्दै आएका अभियानकर्मी कमलबहादुर राजलवटले गुर्जोको नियमित सेवनले रोग प्रतिरोधी क्षमता बढाउने बताए। गुर्जोले शरीरका टक्सिनलाई बाहिर निकाल्छ । गुर्जोको चिया र धुलो सेवन गर्नाले पाइल्स, आँखा, छालाको समस्या समाधान हुने गरेको छ । गुर्जो वात, पित्त, कफ त्रिदोष नाशक छ । प्राचीन कालदेखि नै औषधिका रूपमा उपयोग गरिँदै आएको गुर्जोले पाचनतन्त्र बलियो बनाउँछ । गुर्जोले बच्चा र वृद्धलाई जवान बनाउने एवं जवानलाई पहलमान बनाउने अभियानकर्मी राजलवट बताउछन्।

पाँच वर्षमुनिका बालबालिका र गर्भवती महिलाले भने गुर्जोका परिकार सेवन गर्नुहुँदैन । गुर्जोको बिरुवा रोपेको एक वर्षपछि परिपक्व बन्छ । एक वर्षमा गुर्जोको बिरुवामा सबै गुण आउँछ । वि.सं. २०७६ चैतमा कोरोनाबाट बच्न बन्दाबन्दी गरिएदेखि यसबाट बनेको औषधि र बिरुवा निःशुल्क वितरण गर्दै आएका अभियानकर्मी राजलवटले त्यो अभियानलाई यस वर्ष पनि निरन्तरता दिएका छन्। गत वर्ष एक लाख ४० हजार गुर्जोका बिरुवा रोपणका लागि निःशुल्क वितरण गरिएको उनले बताए।

कार्यक्रममा पूर्व मुख्यसचिव एवं प्रमुख अभियानकर्मी लीलामणि पौडेलले सफाइ महाअभियान आठौँ वर्ष पूरा गरी नवौँ वर्ष प्रवेश गरेको अवसरमा सात हप्ताअघिदेखि हामी साथ छौँ अभियानसँग मिलेर कोरोनाबाट बच्न आवश्यक जानकारी दिन प्रवचन कार्यक्रम आयोजना गरिएको बताए।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियानले ५० औँ हप्ताका अवसरमा २०७१ वैशाख १ गते गुह्येश्वरीभन्दामाथिको वाग्मतीमा ढल मुक्त गरेर गुह्येश्वरीमा स्नान गरेकामा हाल पुनः प्रदूषित बनेको छ । नेपालमा अङ्ग दान गर्ने परम्परा विकास हुन नसकेको उल्लेख गर्दै पूर्व मुख्यसचिव पौडेलले आफूले देशमै पहिलोपटक छाला दान गरेको बताए। आगोबाट जलेकाका लागि छाला आवश्यक पर्ने गर्छ । आफू मुख्यसचिव भएकै बेला ‘ब्रेन डेथ क्राइटेरिया’को कानूनी व्यवस्था गरेको उनले सुनाए। ब्रेन डेथ भएकाको छाला, मिर्गौला र कलेजो दान गर्न सकिने व्यवस्था छ ।

विकसित मुलुकमा ७५ प्रतिशत अङ्ग दानबाट पाइने गरेको छ । नेपालमा पनि अङ्गदान सबैभन्दा ठूलो दान हो भन्ने मान्यतालाई स्थापित गर्न अभियान चलाइनुपर्नेमा जोड दिइएको छ ।

अभियानकर्मी डा माला खरेलले महाअभियान र हामी साथमा छौँ अभियानको आयोजनामा साप्ताहिकरूपमा भइरहेको प्रवचनले धेरैलाई स्वस्थ जीवनयापनको सूत्र दिने भएकाले यसलाई निरन्तरता दिने बताए। अभियानकर्मी राजकुमार भट्टराईले वाग्मतीबाट हालसम्म २० हजार टन फोहर व्यवस्थापन गरिएको बताए । सफाइ महाअभियानमा १२ लाख स्वयंसेवीले सफाइमा साथ दिएका छन् ।

महाअभियानबाट प्रभावित भएर उपत्यकामा वाग्मती, सहायक नदी, चक्रपथ, सम्पदा स्थलसहित २० स्थान र उपत्यका बाहिरका मुख्य नदी, शहर र सांस्कृतिक सम्पदामा सफाइ भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ