म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले मुदीमा शनिबार साँझ केन्द्रीय प्रसारण लाइनको विद्युत् बिस्तार गरेको हो ।
प्राधिकरणका प्राविधिक रवीन्द्र भण्डारीले मुदीका २५० घरमा विद्युतीकरण भएको जानकारी दिए। “मिटर जडान गरेका सबै घरमा बिजुली बलेको छ”, उनले भने, “सोही वडाको खाम्ला, खारा र बाँसबोटका ६५ घरमा यसअघि नै विद्युतीकरण भइसकेको छ ।” ताकम, मच्छिम, फलियागाउँ, मुना, दर हुँदै विस्तार गरिएको केन्द्रीय प्रसारण लाइन वितरणका लागि मुदी र खाम्लामा एक/एक सय एमभिए क्षमताका दुई वटा ट्रान्सफर्मर राखिएको छ ।
मुदीमा विद्युत् विस्तार गर्न त्यहाँ सडक नपुग्दै विसं २०७६ चैतको पहिलो हप्ता धवलागिरिले वडा नम्बर ७ काउसीबोटबाट हेलिकप्टरमार्फत दुई वटा ट्रान्सफर्मर ढुवानी गरेको थियो । विसं २०७७ असारमा मुदी सडक सञ्जालमा जोडिएको थियो । खाम्लामा अझै सडक सुविधा छैन ।
उज्यालोका लागि सोलार, मट्टितेलको टुकी, दियालो र सिट्ठामा निर्भर स्थानीयवासीमा बिजुली बलेपछि खुसीयाली छाएको छ । घरायसी काम गर्न तथा विद्यार्थीलाई अध्ययन गर्न सहज हुनुका साथै उद्यम व्यवसाय सञ्चालन गर्ने अवसर सिर्जना भएको स्थानीयवासी गणेश पुनले बताए।
विसं २०७६ चैतमा वायरिङ गरिए पनि कोरोना, बन्दाबन्दी र निषेधाज्ञाका कारण विद्युतीकरण प्रभावित भएको थियो । प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख प्रशान्त झाले धवलागिरिको फलिगाउँ, मुना, दर र मङ्गलाको अर्मनमा चालु आर्थिक वर्षभित्रै विद्युतीकरण गर्न लागिएको बताए।
मुनास्थित गाउँपालिकाको कार्यालयमा विद्युतीकरण भइसकेको छ । मुदीको थलडाँडामा रहेको नेपाल टेलिकमको बिटिएस टावरमा पनि विद्युत विस्तार गरिएको छ । दर हुँदै थलडाँडासम्म विद्युत् विस्तार गर्न गाउँपालिकाले लगानी गरेको छ । मुदी र मुनाका सबै घरधुरीमा विद्युतीकरण भएपछि धवलागिरिलाई उज्यालो पालिका घोषणा गर्ने तयारी छ ।
यसअघि धवलागिरिको वडा नं ७ ताकम र वडा नं ६ मराङको करिब डेढ सय घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुगिसकेको छ । विसं २०७६ कात्तिकमा वडा नं २ लुलाङमा लघुजलविद्युत् र वडा नं ४ कै बगरमा सौर्य ऊर्जामार्फत विद्युतीकरण गरिएको छ ।
गुर्जा, मल्कवाङ, खिवाङ र मराङमा लघुजलविद्युत् परियोजनामार्फत विद्युतीकरण गरिएको छ । पालिकाका सबै घरमा केन्द्रीय लाइन, लघुजलविद्युत र सौर्य ऊर्जामध्ये कुनै एक माध्यमको विद्युत सुविधा पु¥याउने गाउँपालिकाको योजना छ । लघुजलविद्युत् परियोजना नभएका र केन्द्रीय लाइन नपुग्ने १२० घरधुरीलाई प्रदेश सरकारमार्फत गत कात्तिकमा ५० वाट क्षमताको सोलार सेट वितरण गरिएको थियो ।
सम्बन्धित खबर
रत्नेचौरमा टिकटक र भिडियो बनाउनेको लर्काे
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
प्रकृति र संस्कृतिको संगम तीनचुले : पूर्वाधार थपिँदै, पर्यटक पर्खिंदै
अन्नपूर्ण ट्रेक र मुस्ताङमा पर्यटकको लर्को
म्याग्दीमा भिरबाट लडेर वृद्धको मृत्यु
यो पनि पढौँ
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला