म्याग्दी मङ्गलाको कुहुँ सिल

म्याग्दी मङ्गलाको कुहुँ सिल

Sil

म्याग्दी । जिल्लाको मङ्गला गाउँपालिका–१ मा पर्ने कुहुँलाई १० दिन सिल गरिएको छ । कुहुँ र पूर्णगाउँमा एकै दिन लक्षणसहितका ३९ जना कोरोना सङ्क्रमित भेटिएपछि नियन्त्रणका लागि वडाबाहिर र एकदेखि अर्को टोलमा आवतजावत बन्द गरिएको हो । गाउँपालिकाले आइतबार जारी गरेको सूचनामा कुहुँमा एम्बुलेन्स, बिरामी बोक्न प्रयोग भएको गाडी, औषधि र विकास आयोजनाका सामग्री बोकेका बाहेकका गाडी र मानिसको आवतजावतलाई बन्द गरिएको उल्लेख छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र आचार्यले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यही असार २३ गतेसम्मका लागि कुहुँ वडा सिल गरिएको जानकारी दिए। वडा कार्यलय तथा सहकारीको सेवा बन्द भएको छ। खाद्यान्नका सामग्री गाउँपालिकाको सहमति लिएर तोकिएको समयमा ढुवानी गर्नुपर्नेछ ।

आइतबार वडाध्यक्ष डेकबहादुर राम्जाली र कर्मचारीसहित ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । उन्चालीस जनाको परीक्षण गर्दा सबैमा कोरोना सङ्क्रमण पुष्टि भएको स्थानीय अगुवा एकजित रोकाले बताए। सङ्क्रमित सबैमा ज्वरो आउने तथा रुघाखोकी लाग्ने जस्ता लक्षण देखिएको छ ।

गाउँपालिकाको निर्देशन नमान्नेलाई सवारी साधन नियन्त्रणमा लिने र कारबाहीका लागि प्रशासनमा बुझाइने बताइएको छ। गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, कार्यपालिका सदस्य डिलकुमारी खत्री र कुहुँ स्वास्थ्य चौकीका प्रमुख माया अधिकारीको टोलीले होम आइसोलेशनमा बसेका सङ्क्रमितको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका छन्।

पछिल्लो केही हप्ता घट्दै गएको कोरोनाको सङ्क्रमणदर एकै पटक ह्वात्तै बढेपछि सरोकारवाला झस्किएका छन् । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार हालसम्म जिल्लाभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या दुई हजार ४३४ जना पुगेको छ। हाल १२६ जना सक्रिय सङ्क्रमित छन्।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ


This will close in 3 seconds