रिङमा थिए भारतीय बक्सर–मनोज पिङ्ले । स्वर्णको अपेक्षामा नेपाली बक्सर सुरेश मल्ल ठकुरी प्रतिस्पर्धामा अगाडि बढे । सुरेश त्यसबेलामात्र २० वर्षका थिए । खेल थियो, चौथो साफ च्याम्पियनसीप ।
नेपालको प्रतिनिधित्व गर्दै आजभन्दा ३२ वर्षअघि पाकिस्तानको राजधानी इस्लामावादमा उनी साफ खेल्न गएका थिए । क्वार्टरफाइनलमा सुरेशले बंगलादेशका खेलाडीलाई पाखा लगाइसकेका थिए । त्यसपछि पुगे सेमिफाइनलमा । सेमिमा पाकिस्तानी अर्का खेलाडीको चुनौती समाप्त पार्दै उपाधि नजिक पुगेका थिए ।
दिलोज्यान लगाएर सुरेशले भारतकै टप बक्सर मनोजसँगको प्रतिस्पर्धामा उत्रिएका थिए । बेन्टम क्याटगोरी (५२ देखि माथि ५४ वर्षभन्दा तल केजी तौल समूह) को खेल थियो त्यो । ३ चरणको फाइनलमा खेल २०÷१९ को भयो । अहिलेजस्तो कम्प्युटराज्ड सिस्टम थिएन । कलमकै भरमा अंक चढ्थ्यो । आफ्नो पक्षमा २० को खेल भएको दाबी गरेका सुरेशले देशको लागि स्वर्ण चुम्ने उत्कृट अपेक्षा थिए । तैपनि निर्णायकले भारतीय खेलाडीको पक्षमा जित दिलायो । सुरेश रजतमा सीमित भए ।
खेल हेरिरहेका दर्शकलाई चित्त बुझेनछ, उनीहरुले निर्णायकविरुद्ध ‘प्रोटेस्ट’ हाले । त्यसबेलाको घटना अहिले पनि सुरेशलाई झल्झली आउँदोरहेछ । उमेरले ५१ वर्षमा हिडिरहेका सुरेश अहिले पनि यही खेलसँग पौँठेजोरी खेलिरहेका छन् । अहिले उनी खेलाडी हैनन् । प्रशिक्षकको भूमिकामा आफूजस्तै थुप्रै खेलाडी उत्पादन गरिरहेका छन् ।
पोखरा रंगशालामा प्रशिक्षण क्रममा उनले भने, ‘चौथो साफमा निष्पक्ष रुपमा निर्णय गरी मेरो पक्षमा स्वर्ण भैदिए भए जीवनमै कायापलट हुन्थ्यो । स्वर्ण अक्षरले नाम लेखिन्थ्यो ।’ सुरेशले चौथोमात्र हैन, पाँचौ साग पनि खेले । श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित पाँचौ साउथ एशिया फेडेरेसन गेम्स, १९९१ मा उनको नाममा कास्य पदक छ । नेपालमै सन् २०१९ मा भएको १३ आंै सागमा भने उनी प्रशिक्षक थिए ।
त्यस्तै, सन् १९८९ मा इण्डोनेसियामा आयोजित १२ औं प्रेसिडेन्ट कप इन्टरनेशनल एमेच्युर बक्सिङ टुर्नामेन्ट–१९८९ मा उनले भाग लिने अवसर पाएका थिए । त्यसबेला विभिन्न क्याटागोरीमा नेपालबाट ९ जनामात्र खेलाडी छानिएका थिए । तर उनीसहित प्रचण्ड शर्माले मात्र गरी कास्य पदक देशका लागि भित्राए । यो पनि सुरेशका लागि अहिलेसम्मकै सुखद क्षण भएको बताउँछन् ।
खेलकुद क्षेत्र राष्ट्रिय एकताको प्रतीक हो । राष्ट्रको झण्डा बोकेर पसिना बगाउने खेलाडीहरुलाई उचित सम्मान तथा हौसला प्रदान गरिनुपर्छ । तर देशका लागि जीवन नै बक्सिङ खेलमा समाहित गरेका यी सुरेश मल्ल अहिलेसम्म पनि सुकुम्बासी बस्तीमै सीमित छन् । ‘जीवन नै यही खेलमा गयो । अहिलेसम्म पनि रिङमै भेटिन्छु । नयाँ नयाँ खेलाडीलाई प्रशिक्षण दिनमै व्यस्त छु,’ उनले गुनासो गर्दै भने, ‘विदेशमा राष्ट्रको लागि कुनै पनि पदक जितेपछि खेलाडीको जीवनकै एकाएक फेरिन्छ । आर्थिक स्थिति सुध्रिन्छ । तर नेपालमा खेलमा भविष्य देखेर लागिपर्नेहरुको लागि कहिल्यै पनि सम्भावना भएन ।’
पोखरा रंगशालमा उनले बिहान र बेलुका गरी करिब ४० जनालाई बक्सिङ प्रशिक्षण दिने गरेका थिए । कास्की जिल्ला बक्सिङ संघ मार्फत प्रशिक्षण दिने सुरेशमात्र हुन् । २२ वर्षदेखि निरन्तर बक्सिङ प्रशिक्षण गर्दै आएका सुरेशले सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकीलाई पदक जिताउन सफल भएका छन् । सातदोबाटोमा आयोजित प्रथम यु–१९ महिला तथा पुरुष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता, २०७६ मा उनी प्रशिक्षणको गण्डकीको टिम च्याम्पियन बनेको थियो । त्यसबेला गण्डकीले ३ स्वर्ण, २ रजत र ३ कास्य जितेको थियो । यस्तै, भारतको पटियालामा डिप्लोमा इन बक्सिङ कोर्स लिन सफल प्रियंका बर्माका प्रशिक्षक उनै सुरेश हुन् । उनको परिचय अहिले रेफ्री जज हो । परेको बेला रेफ्री र जज दुवै भ्याउँछन् ।
कक्षा छोडेर बक्सिङमा
२०४२ सालतिरको कुरा हो । त्यसबेला सुरेश कक्षा १० पढ्थे । पोखरा ९ नयाँबजारस्थित नवप्रभात माविसम्म पुग्न रंगशाला हुँदै जानुपथ्र्यो । पोखरा १०, रामबजारमा भाडाको कोठामा बस्थे ।
स्कुल आउजाउ गर्दा रंगशालामा बक्सिङ खेलेको देखिरहन्थे । मानिसहरु आपसमा हानाहान गर्ने खेल देखेर उनी अचम्मित पर्थे । एक दिन कक्षा छोडेर रंगशाला छिरे । हेर्र्दै र बुझ्दै जाँदा उनी पनि यसप्रति आकर्षित भए । सिक्ने हुटहुटी जाग्यो । विद्या मर्सानीले उनलाई ४/५ दिनको कक्षा लिए ।
बुटवलमा आयोजित ११ औं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०४४ खेल्ने अवसर पाए । किनकि उनले पोखरामा छनोटमा रजत जितेका थिए । त्यसपछि क्लोज क्याम्प बसे । क्रमशः विभिन्न प्रतियोगितामा भाग लिँदै गए । १९८८ मा काठमाडौंमा आयोजित चौथो आमन्त्रित बक्सिङ च्याम्पियनसीपको स्वर्ण पनि उनकै नाममा छ । उनी फेदर वेट (५४ भन्दा माथि ५७ भन्दा मुनि) मा प्रथम हुन सफल भएका हुन् । श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित पाँचौ साउथ एशिया फेडेरेसन गेम्स १९९१ मा कास्य पदक हासिल गरेका उनले १९९४ मा जापानको हिरोसिमामा आयोजित १२ औं एशियन गेम्समा नेपालको तर्फबाट सहभागिता जनाएका थिए । १९९० मा बेइजिङमा आयोजित ११ औं एशियन गेम्समा पाँचौ स्थान हासिल गरे । सोही उपलब्धिमार्फत उनी बैंककमा सातौ वल्र्ड कपमा भाग लिने अवसर पाएका थिए । हाल पाँचौ पोखरा स्पोर्टस् अवार्डको उत्कृष्ट प्रशिक्षकको मनोनयन सूचीमा उनी परेका छन् । नाच्न सिपालु उनी बरोबर टिकटकमा पनि भेटिन्छन् ।
अहिलेसम्म सुकुमबासी बस्तीमै
राष्ट्रका लागि यति धेरै पदक ल्याएर योगदान पु¥याएका सुरेश जीवन सुकुमबासी बस्तीमै सीमित छ । उनी पोखरा महानगरपालिका वडा ७, घारीपाटनस्थित सुकुमबासी बस्तीमा वर्षौदेखि बस्दै आएका छन् । परिवारमा आमा, श्रीमती छन् । एक छोरी विहेदान भैसकेको छ । बावु भारतीय सेनाका लाहुरे थिए । उनको धेरै पहिले निधन भएपछि परिवारको वागडोर सम्हाल्ने जिम्मा उनको काँधमा आइपरेको हो । ‘काम नगरी हातमुख जोर्दैन, जानेको यहीँ खेल हो,’ उनले गुनासो गरे, ‘जीवनभर खेलमा समर्पितहरुलाई राज्यले पनि हेर्नुपर्ने हो ।’
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’