बाढीपहिरोबाट मनाङको नासोंमा मात्रै रु एक अर्ब भौतिक क्षति

बाढीपहिरोबाट मनाङको नासोंमा मात्रै रु एक अर्ब भौतिक क्षति

badhi

मनाङ । अविरल वर्षापछि आएको बाढीपहिराबाट नासों गाउँपालिकामा धेरै भौतिक क्षति भएको छ । गाउँपालिकाभित्र पर्ने जलविद्युत् आयोजना र सडक भत्किँदा रु एक अर्बभन्दा बढीको भौतिक क्षति भएको छ । गत जेठ १४ गतेदेखि परेको वर्षाले गर्दा आएको बाढीपहिराले गाउँपालिकामा रु एक अर्ब एक करोड ८३ लाख बराबरको सार्वजनिक भौतिक संरचनामा क्षति भएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए। गाउँपालिकामा सबैभन्दा बढी सडकमा क्षति पुगेको उनले बताए।

गाउँपालिकाका सूचना अधिकारी गोविन्द रानाभाटका अनुसार सडकमा मात्रै रु ८३ करोड ६५ लाख बराबरको क्षति भएको छ । नासों क्षेत्रभित्र रहेका कच्ची तथा पक्की सडकमा उक्त रकम बराबरको क्षति भएको रानाभाटलले बताए। बाढीपहिराले गाउँपालिकाकै प्रशासनिक भवनमा रु पाँच करोड बराबरको क्षति भएको अध्यक्ष घलेले जनाए। पालिकाअन्तर्गतका सात पुलमध्ये चार पुल बगाएको छ भने तीन पुल मात्र मर्मत गर्न सकिने अवस्थामा रहेको रानाभाटले बताए। उनका अनुसार पुलमा पूर्ण तथा आशिंक गरी रु पाँच करोड २० लाख बराबरको क्षति भएको छ ।

तीन जलविद्युत् आयोजनामा रु चार करोड ५० लाख बराबरको क्षति भएको छ । यस्तै रु तीन लाख बराबरको गाउँपालिकाको एउटा मोटरसाइकल पनि बाढीले बगाएको बताइएको छ । यही असार ४ गते मस्र्याङ्दी नदीको बाढीले हिमाली जिल्ला मनाङको गाउँपालिकाको भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको हो । वडा नं २ बाहेक सबै वडामा बाढीपहिराले ठूलो क्षति पुर्‍याएको छ ।

बाढी पहिराबाट १, ३, ४, ५, ६, ७, ८ र ९ नं वडा पूर्णरूपमा क्षति भएका छन् । बाढीपहिराले ३ नं वडामा रहेका सबैभन्दा बढी भौतिक संरचनामा क्षति पुर्‍याएको छ । अध्यक्ष घलेका अनुसार १ नं वडाको तालगाउँ अहिले पूरै बगरमा परिणत भएको छ । मस्र्याङ्दीमा आएको बाढीले मनाङका विभिन्न स्थानमा ठूलो क्षति पुर्‍याएको छ । केही स्थानमा गोरेटो बाटो निर्माण गरिए पनि पुनः बाढीपहिराले लगेको छ ।

पुनः जोखिम

निरन्तरको वर्षापछि जिल्लामा पुनः जोखिम बढेको छ । बुधबार साँझ ४ः०० बजेदेखि परेको वर्षाले गर्दा मस्र्याङ्दी नदीको सतह बढेपछि जोखिम बढेको हो । नदीको सतहमाथि आएपछि सदरमुकाम चामेस्थित बस्ती कटान भएको छ । केही दिन वर्षा कम भएकाले सहज बनेको मनाङमा वर्षा भएपछि समस्या भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए। निरन्तर वर्षा हुँदा बहाव बढेकाले नदीको धार परिवर्तन भएको स्थानमा उच्च जोखिम रहेको उनले बताए । डुबानमा परेका गाउँ फेरि डुब्ने अवस्थामा पुगेको लामिछानेले जनाए।

सदरमुकाम चामेबाट तल्लो भाग पुनः जोखिममा पुगेको उनले बताए। “नदीको बहाव बढेकाले जिल्लाका धेरै स्थानमा जोखिम बढेको छ, मनाङको तल्लो भागमा अझै उच्च जोखिम भएको छ”, लामिछानेले भने, “सतर्कता अपनाउन सूचित गरिएको छ ।” नदी कटानले फेरि बस्तीबाट भौतिक संरचना बाढीले तान्न थालेको छ । अहिले पनि पानी पर्ने क्रम जारी रहेकाले समस्या बढ्न सक्ने देखिएको छ । बाढीपहिराले मनाङका बस्ती बगरमा परिणत भएका छन् । ती बगरमा बस्ती बसाउनसमेत लामो समय लाग्ने देखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ