बागलुङमा वैकल्पिक सडकबारे छैन योजना

बागलुङमा वैकल्पिक सडकबारे छैन योजना

सङकेतिक चिन्ह

बलेवा । जिल्लाका विभिन्न ग्रामीण सडकहरुमा हालैको अविरल वर्षपछि गएको पहिराले यातायात सञ्चालनमा कठिनाइ भएको छ । सहश्रधारा, अर्मादीसहित १३ किमी सडक खण्डमा दर्जनौं ठाउँमा पहिरो खसेपछि मङ्गलबारदेखि पर्वतको कुश्मा र बागलुङमा आवतजावत बन्द भएको छ ।

एकअर्का जिल्लाका कार्यालयहरुमा काम गर्ने कर्मचारीले यातायात असुविधाका कारण हाजिर हुन नपाएको गुनासो गरेका छन् । असार मसान्तमा कार्यालयमा कामको चाप बढी हुने हुने बेला कर्मचारीहरु आवतजावत गर्न पाएका छैनन् । कुश्मास्थित सरकारी कार्यालयका कर्मचारी कृष्णराज गौतमले भने, “काम धेरै थियो, सडक खुल्ने छाँटकाँट नदेखेपछि फर्कन बाध्य भयौँ ।” फोन र इन्टरनेटसमेत नभएपछि जानकारी दिन नपाएको उनले गुनासो गरे। बुधबार रातिदेखि नै इन्टरनेट र टेलिफोन अवरुद्ध भएपछि बागलुङ, पर्वत र म्याग्दीमा सम्पर्क विच्छेद भएको थियो ।

यो समस्या काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकामा पनि परेको छ । काठेखोलाका अधिकांश कर्मचारी र जनप्रतिनिधिसमेत सदरमुकामबाट जाने आउने गर्छन् । मध्यपहाडी लोकमार्गको बोक्सेमा पनि सडक अवरुद्ध भएपछि जनताको काम प्रभावित भएको छ । “आवतजावत गर्दा पहिराको जोखिम बढेपछि गाडी चलाउन सकिएको छैन”, गाउँपालिका अध्यक्ष अमर थापाले भने, “गाडी राखेर पैदल यात्रा गरिएको छ ।” पैदल यात्रासमेत जोखिमको भएको उनले गुनासो गरे।

काठेखोलाको गाउँपालिका केन्द्रदेखि रेश र लेखानी जाने सडक सातादेखि अवरुद्ध छ । लोकमार्गको बिहुँ खण्डमा पनि दर्जनौँ पहिरो खसेर घण्टौं जाम हुने गरेको छ । अत्यावश्यक काम परेर गलकोट, बुर्तिबाङतर्फ यात्रा गर्नेले पनि सास्ती खेपिरहेका छन् । बागलुङ बजारदेखि कुश्मीसेरा जाने दुईवटै सडक अवरुद्ध छन् । गत वर्ष गलुवाबाट भकुण्डे जाने गरी खनिएको ग्रामीण सडकको पहिराले कालीगण्डकी करिडोर र कुश्मीसेरा सडक भत्केको छ । यो सडक बनेर सामान्य बन्न एक महीना बढी समय लाग्ने बताइएको छ ।

यी पहिरोका विकल्पबारे अहिलेसम्म तालुक आयोजनाले सोच बनाएका छैनन् । यात्रीले सधैँ सास्ती खेप्ने गरेको पर्वतको सहश्रधारा र बागलुङको बोक्सेको विकल्प चाहिने स्थानीयको चासो छ । “वैकल्पिक बाटो भएन भने वर्षात्मा मात्रै हैन, हिउँदमा पनि जनताले दुःख पाउँछन्”, थापाले भने, “पहिरो नचल्ने गरी विकल्पको बाटो नभई भएन ।”

सहश्रधारा र बोक्सेमा पहिरो कोतरेर सडक बनाउने पद्दतिको विकल्पमा पुल वा बाढी पहिरो सजिलै तर्कने प्रविधि बनाउनुपर्ने उनले सुझाव दिए। सडक अवरुद्ध हुँदा दैनिक रुपमा सञ्चालन हुने एम्बुलेन्स, दमकल, दूध तथा पानीजन्य पदार्थको ढुवानीमा कठिनाइ भएको छ । अवरुद्ध सडक पुनः सञ्चालन गर्नेतर्फ सरोकारवाला निकायहरुबाट कुनै वैकल्पिक योजना अगाडि सारिएको नहुँदा यो समस्या तत्काल समाधान हुने नदेखिएको स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ