फलोअपः दीप्तिको उपचारका लागि २ दिनमै २ लाख सहयोग संकलन, अब काठमाण्डौमा उपचार

फलोअपः दीप्तिको उपचारका लागि २ दिनमै २ लाख सहयोग संकलन, अब काठमाण्डौमा उपचार

dipti sapkota (1)

रक्त क्यान्सरबाट पीडित पोखरा ३१ बेगनासकी ३ बर्षिया बालिका दिप्ती सापकोटाको सहयोगका लागि अपिल भएपछि दुई दिनमै दुई लाख बढी सहयोग संकलन भएको छ । उक्त रकम बेगनास युथ क्लबका निवर्तमान अध्यक्ष राम रानाभाटको अगुवाईमा संकलन भएको हो । दीप्ति सापकोटा बचाऔं अभियान चलाउने औपचारिक निर्णय गरेर सहयोग संकलन अभियान सुरु गरिएको हो ।

गण्डक न्यूज डटकमले मंगलबार दीप्ति सापकोटाको उपचारका लागि सहयोगको अपिल भन्दै समाचार र भिडियो पनि सार्वजनिक गरेको थियो । बालिकाको उपचारमा संलग्न डा. रामचन्द्र बास्तोलाले पनि मिडियासँग सहजीकरण र सहयोग संकलनका लागि चासो लिएका थिए । अभियन्ता राम रानाभाटको पहलमा संकलित २ लाख १ हजार ६० रुपैंया शुक्रबार बालिकाका अभिभावकलाई प्रदान गरिएको छ ।

संकलित रकम पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका बालरोग विभाग प्रमुख बरिष्ठ बालरोग विशेषज्ञ डा. रामचन्द्र बास्तोला मार्फत बालिकाकी आमा कोपिला रानाभाट सापकोटालाई हस्तान्तरण गरिएको हो ।

अभियानमा देश तथा विदेशमा रहेका विभिन्न व्यक्तिहरुले सहयोग गरेको सहयोग संकलन नेतृत्वकर्ता रानाभाटले बताए । सहयोगदाताको नाम र तस्वीर रानाभाटले फेसबुकमा शेयर समेत गरिरहेका छन् । बुधबार र विहीबार संकलित रकम २ लाख बुझेपछि दीप्तिलाई गण्डकी हस्पिटलबाट डिस्चार्ज गरिएको छ । अब उनको उपचार काठमाण्डौमा हुनेछ ।

कम्तिमा ६ लाख आर्थिक जोहो गर्न सुझाएपछि अझै उनको सहयोग संकलन जारी छ । हाललाई दीप्तिको थप उपचार कान्ति बाल हस्पिटलमा हुनेछ । रानाभाटले कान्ति बाल अस्पतालमा रहेर उपचारमा सहजहोस् भन्ने उदेश्यले थप केही दिन अभियान चलाएर समापन गरिने बताए ।

सहयोग आउने क्रम जारी रहेको उल्लेख गर्दै रानाभाटले दिप्तीका बुवा देवबहादुर सापकोटाको गरिमा बिकास बैंकको खातामासमेत रकम जम्मा गर्न सकिने बताए ।

अस्पतालका बालरोग विभाग प्रमुख बालरोग विशेषज्ञ डा. वास्तोलाले अहिले बच्चाको उपचार क्षेत्रिय अस्पतालमा भएपनि थप ढिलाई गरे बच्चाको ज्यान जानसक्ने बताए । उनले अहिले अस्पतालले निःशुल्क उपचार र कुुरुवालाई समेत निःशुल्क खाने व्यवस्था मिलाएको बताउँदै तुरुन्त क्यान्सरको उपचार संभव हुने अस्पतालमा पठाइएको बताए ।
कान्ति बाल अस्पतालमा त्यहाँका चिकित्सकसँग सम्पर्क पनि डा. बास्तोलाले नै गरेका छन् । रकम हस्तान्तरण गर्दै डा. वास्तोलाले संकलित रकम दुरुपयोग नगरी बच्चाको स्वास्थ्यमै खर्चन अभिभावकलाई सुझाव दिए । उनले उदारमन सहित रकम सहयोग संकलन गरेको भन्दै अभियन्ता रानाभाट सहित मिडियालाई धन्यवाद समेत दिए । उनले भने— वास्तवमा नेपालीहरु उदारमनका छन् यस्ता घटना हेर्न सक्दैनन्, मिडिया र साथीभाईसँग कुरा गरेको यतिका रकम संकलन भयो ।

अभियन्ता रानाभाटले बच्चालाई पैसाको अभावमा उपचार नहुने अवस्था दुःखद भएको भन्दै थप सहयोगका लागि विभिन्न व्यक्तित्वहरुले समेत आश्वासन दिएको बताए । पीडित बालिकाकी आमा कोपिला रानाभाट सापकोटाले सहयोगी मनहरुलाई धन्यवाद दिँदै यो सहयोगले आफ्नी छोरी बाँच्ने आशा पलाएको बताईन् ।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ