फलोअपः ब्लड क्यान्सर भएकी दिप्तीको उपचारका लागि बाँकी ७ लाख हस्तान्तरण, ११ लाख बढी संकलन

फलोअपः ब्लड क्यान्सर भएकी दिप्तीको उपचारका लागि बाँकी ७ लाख हस्तान्तरण, ११ लाख बढी संकलन

Dipti-sapkota-baby

ब्लड क्यान्सर पीडित बालिका पोखरा ३१ बेगनास निवासी दिप्ती सापकोटाको उपचारका लागि ११ लाख बढी सहयोग संकलन भइसकेको छ । दिप्तीको ज्यान बचाउन गण्डकन्यूज डटकमले समाचार प्रकाशित गरेको थियो ।

देश विदेशबाट अभियान चलाई रकम संकलन गरिएको छ भने बालिकाकी बुबाको बैंक खातामा पनि पैसा जम्मा भएको छ । ३ बर्षिया बालिका दिप्तीका लागि यसअघि नै २ लाख रकम हस्तान्तरण गरी उपचारका लागि पोखराबाट काठमाण्डौ लगिसकिएको छ । यस्तै, कास्की परिवार दक्षिण कोरियाको समन्वयमा संकलित १ लाख ७५ हजार रुपैंया सहयोग संकलन अभियानका संयोजक सूर्यबहादुर क्षेत्रीले बालिकाकी परिवारलाई पठाइसकेका छन् ।

दिप्ती सापकोटा बचाउ अभियानले आइतबार उनका अभिभावकलाई ७ लाख ३७ हजार ९ सय ७ रुपैयाँ हस्तान्तरण गरेको हो । संकलित रकम सिलिङे कृषि सहकारी संस्थाका अध्यक्ष शैलेन्द्र मोहन भट्टराई, सामाजिक अभियन्ता राम रानाभाट, सामाजिक व्यक्तित्व ठाकुर प्रसाद रानाभाट तथा संचारकर्मीको रोहवरमा पीडित बालिकाका बुबा देव बहादुर सापकोटालाई हस्तान्तरण गरेका हुन् ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा. रामचन्द्र बास्तोलाको अग्रसरतामा सञ्चारकर्मी र सामाजिक अभियन्ता बालिका बचाउने अभियानमा जुटेका हुन् ।

बेगनासका युवा समाजसेवी राम रानाभाटले संचालन गरेको दिप्ती बचाउ अभियानलाई साथ दिँदै सिलिङे सहकारीका व्यबस्थापक समेत रहेका बिकास रानाभाटले स्वतस्फूर्त रुपमा अभियान संचालन गरेका थिए। सामाजिक संजालमा फण्ड राईजर संचालन गरेर अस्ट्रेलियाबाट बिबेक रानाभाट तथा अमेरिकाबाट ईन्द्र र चन्द्र रानाभाटको सहयोगमा ५ लाख ३७ हजार ९ सय ७ रुपैयाँ आर्थिक संकलन भएको हो ।

त्यस्तै, अभियन्ता राम रानाभाटले आफूले संकलन गरेको रकममध्ये बाँकी २ लाखको चेक पनि सापकोटालाई हस्तान्तरण गरेका हुन् । उनले यसअघि अस्पतालमै पुगेर डा. बास्तोलाको रोहवरमा २ लाख १ हजार ६० रुपैयाँ हस्तान्तरण गरिसकेका छन् ।

अभियानमा देश तथा विदेशमा रहेका मनकारी व्यक्तिहरुले सहयोग गरेका छन्। हाल दिप्तीलाई कान्ति बाल अस्पताल काठमाण्डौंमा उपचार गराईरहेको र स्वास्थ्य सुधारोन्मुख रहेको बुबा सापकोटाले बताए। रकम हस्तान्तरण गर्दै अभियन्ता दोय रानाभाटले संकलित रकम दुरुपयोग नगरी बच्चाको स्वास्थ्य मै खर्चन अभिभावकलाई सुझाव दिएका छन् ।

डा. वास्तोलाका अनुसार दिप्तीको समयमै उपचार गरेमा निको हुने अवस्था ६० प्रतिशत भन्दा माथि रहेको छ ।

सम्बन्धित समाचारः

बेगनासकी ब्लड क्यान्सर पीडित बालिकाको उपचार गर्न सहयोगको याचना [भिडियोसहित]

फलोअपः दीप्तिको उपचारका लागि २ दिनमै २ लाख सहयोग संकलन, अब काठमाण्डौमा उपचार

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ