पहिरोले अवरुद्ध भएको दुई महिनापछि खुल्यो बेँसीशहर-चामे सडक

पहिरोले अवरुद्ध भएको दुई महिनापछि खुल्यो बेँसीशहर-चामे सडक

besisahar

file photo

लमजुङ र मनाङ जोड्ने बेँसीशहर–चामे सडकअन्तर्गत लमजुङतर्फको खण्ड करिब दुई महिनापछि पूर्णरूपमा खुलेको छ । अविरल वर्षासँगै आएको बाढीपहिराले गत असार १ गतेदेखि सो सडक अवरुद्ध भएको थियो । सडकको विभिन्न स्थानको ढुङ्गा माटा तथा पहिरा हटाउनुका साथै सडक मर्मत सम्पन्न गरेपछि आजदेखि लमजुङ खण्डमा पूर्णरूपमा सवारी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ ।

कार्यालय प्रमुख अमित श्रेष्ठले भने, “यस सडकमा असार १ गतेयता विभिन्न ठाउँमा सडकको माथिबाट पहिरा आउने र कुनै कुनै स्थानमा सडक बगाएको थियो । हामीले सोही दिनबाट सडक खुलाउने प्रयास गर्न खोजे पनि निरन्तर वर्षाका कारण काम अघि बढाउन सकेका थिएनौं । यही साउन ५÷६ गतेदेखि शुरु गरेर विभिन्न ठाउँमा सडक खुलाउँदै जाने क्रममा रामबजार नजिकको सडकखण्ड पनि खुलाउन सफल भएसँगै लमजुङतर्फ पूर्णरूपमा सडक खुलेको हो ।”

रामबजार नजिक मस्र्याङ्दी नदीमा पानीको बहाव बढेका कारण सडक दलदल हुने, भासिने भएकाले सवारी सञ्चालन हुन सकेको थिएन । पानीको बहाव केही कम भएपछि यही साउन १९ गतेदेखि काम शुरु गरेर सडक ट्र्याक बनाई सवारी सञ्चालन गरेको कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ ।

रामबजार नजिकको सडक खुलेपछि लमजुङतर्फ मात्र होइन, मनाङको सिरानतालसम्म अर्थात् बेँसीशहरबाट ३८ किलोमिटरसम्मको सडक खुलेको छ । यो सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर गरी कूल ६५ किलोमिटरको लामो छ । लमजुङतर्फ बेँसीशहर नगरपालिका–६ स्थित खरखरे भिर, बेलौती विसना, मस्र्याङ्दी गाउँपालिकास्थित अरखलेबेँसी, घोप्टेभिर, स्यागे, सिरीचौर, म्यार्दीभिरमा सडक अवरुद्ध भएको थियो ।

यी सबै ठाउँका पहिरा खुलाउनका लागि यतिका समय लागेको सडक डिभिजन कार्यालय दमौली तनहुँले जनाएको छ । खरखरे भिरलगायत स्थानमा पटक–पटक सडक खुलाउँदै बन्द हुँदै गरेको थियो । सडक सञ्चालनमा आएपछि सवारी आवतजावत हुँदा यात्रु हर्षित बनेका छन् । यस सडक पूर्णरूपमा बन्दा हुँदा मनाङवासी अन्यत्र जिल्ला जानुपर्दा वा आउनुपर्दा पनि हेलिकोप्टर चढ्नु पर्ने बाध्यता थियो । अब केही सहज भएको स्थानीयवासीको भनाइ छ ।

लमजुङतर्फबाट सो क्षेत्रसम्म सवारी सञ्चालन भए तापनि मनाङतर्फ खोत्रो, धारापानी, धाना क्यू, तिमाङलगायतका पाँच÷छ ठाउँमा सडक अवरुद्ध भइरहेको छ । तीमध्ये सबैभन्दा बढी यस सडकको ३८ किलोमिटर सिरानतालबाट ५० किलोमिटर तिमाङसम्मको बीच भागमा क्षति पुगेको र त्यसको निर्माणमा धेरै समय लाग्ने प्रमुख श्रेष्ठले बताए ।

विशेषगरी खोत्रोमा १५० मिटर र धारापानीमा १४० मिटर सडक नै मस्र्याङ्दी नदीले बगाएकाले यी दुई ठाउँमा सडक खुलाउन बढी समय लाग्ने छ । यी ठाउँमा काम गर्नका लागि ठेक्कासमेत खुलाएको र भोलि आइतबार ठेक्का सार्वजनिक हुने सो कार्यालयले जनाएको छ । यो सडक आगामी असोज २० गतेसम्ममा पूर्णरूपमा खुलाउने बताइएको छ । यस वर्षको बर्खायाममा आएको बाढीपहिराले दर्जनौँ स्थानमा क्षति पुगेको छ । सडकमा करिब रु १५ करोड बराबरको क्षति पुगेको अनुमान सो कार्यालयको छ ।

हिमाली जिल्ला मनाङलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरूप विसं २०५१ देखि सडक डिभिजन कार्यालय दमौलीले निर्माण शुरु गरेको थियो । योजना कार्यान्वयन भएसँगै माओवादी सशस्त्र द्वन्द्व शुरु भयो । योसँगै अन्य विविध कारणले अवरुद्ध भएको सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । विसं २०५७ मा सेनाले सडक निर्माणको जिम्मा पाएर काम अघि बढाएर विसं २०६९ मा सम्पन्न गरेर सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो ।

सवारी चढ्ने मनाङवासीको सपना सडक निर्माण शुरु भएको १८ वर्षपछि मात्रै बेँसीशहर–चामे सडकखण्ड निर्माण पूरा भएको थियो । नेपाली सेनाले बाँदरसमेत लड्लाजस्तो जोखिमपूर्ण भिरमा ज्यानको बाजी राखेर सडक निमार्ण गर्न सफल भएको थियो ।

मस्र्याङ्दी नदीबाट ३०० देखि एक हजार ६०० फिट माथि हुँदै सडक निर्माण भएको छ । यस सडकमा वर्षेनी बाढी पहिराले विषेशगरी बर्खायाममा सडक अवरुद्ध बनाउँदै आएको छ । सडकका लागि करौँडौ रुपैयाँ सरकारले वर्षेनी खर्च गर्दै आएपनि दिगोरूपमा गुणस्तरीय सडक हुन नसक्दा सवारी चालकदेखि यात्रु तथा स्थानीयवासीलाई बढी समस्या हुँदै आएको छ । रासस

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ