पोखरा १४, चाउथे, बेलचौतारामा डेरामा बस्दै आएका जिते नेपाली मनकारी घरभेटी नहुँदो हो त यतिबेला सडकमा पुगिसकेका हुन्थे । आर्थिक अभावमा बिरामी श्रीमतीको उपचार गर्न सकेका छैनन् । श्रीमतीको रेखदेखमा खटिनुपर्दा मजदुरी काम गर्न बाहिर निस्कन समेत पाएका छैनन् ।
श्रीमतीको पेट फुलिएर श्वास नै रोकिने अवस्था भइसकेको छ । ४१ वर्षीया श्रीमती सरीताको कलेजो रोगका कारण पेट फुलिएको छ । तत्काल पेटको पानी फाल्नुपर्ने डाक्टरले सुझाएका छन् । तर उनीसँग पैसा छैन । ३ वर्षअघिदेखि नै रोगले थलिएकी श्रीमतीलाई नेपालीले मजदुरी काम गरी पैसा जम्मा गर्दै उपचार गर्दै आएका थिए । तर अहिले मजदुरी काम समेत भनेजस्तो नभएको र श्रीमतीकै रेखदेख गर्नुपर्दा घर छाड्न नमिल्ने भएपछि खान समेत नपाउने अवस्था भएको छ । ३ छोरा र १ छोरी रहेका यी दम्पतीको कमाईको अरु श्रोत छैन । आमासहित ठूलो परिवार बाँच्न नै धौधौ भइरहेको अवस्थामा श्रीमतीको रोगले गरिखाउँ न मरिजाउँ अवस्थामा पुगेको नेपाली बताउँछन् ।
घरभेटी दुर्गा नेपालले ५ महिनाअघि घरमा बसेदेखिको भाडा लिएकी छैनन् । उनैले वडामा सहयोग उठाउन सिफारिसदेखि अस्पतालसम्म जान भाडाको बन्दोबस्ती गरेकी छन् । तर अस्पताल पुगेपछि के ले उपचार गर्ने ? एक पैसो छैन भन्दै श्रीमतीलाई कोठाबाट अस्पताल लैजान सकेका छैनन् । घरभेटी दुर्गाले भनिन् – ‘एकदमै गरिब परिवारका रहेछन् । हाम्रो घरमा आएपछि बिरामी नै हुनुहुन्छ । अहिलेसम्म भाडा पनि लिएका छैनौं । म पनि एकल महिला परेँ । आफूले सक्दो त गरेकै छु । नगद सहयोग गर्न सकिएन । त्यसैले मिडिया गुहारेकी हुँ ।’
जिते नेपाली ४८ वर्षका भए । घर धादिङको ज्याम्रुङ हो । बुवाआमाको अभावमा हुर्किएका उनको नागरिकता पनि छैन । त्यही कारण श्रीमती सरीताको पनि नागरिकता बनेको छैन । उमेर पुगेका छोराछोरीको पनि नागरिकता नहुँदा जागिर छैन ।
लकडाउनपछि मजदुरी काम गरेरै नेपालीले श्रीमतीको उपचार गरिरहेका थिए । अहिले पैसा नै नभएर कलेजोले काम नगर्दा पेटमा भरिएको पानी निकाल्न सकिएको छैन । नेपाली भन्छन् – ‘पेट फुलेर देखेर पीडाले छट्पटाइरहन्छिन् । तत्काल पेटको पानी नफाले त्यसको असरले सास नै रोकिने अवस्था भइसक्यो । पेटको पानी झिकेमा १५ दिन जति आरामले बस्न सक्छिन् । यो अघि पनि ३ चोटी पानी झिक्दा उनलाई आराम भएको थियो । कलेजोको उपचारका लागि सहयोग गरिदिनुभए धर्म नै हुन्थ्यो ।’
सहयोग गर्न चाहने मनकारी व्यक्तिले 9846033286 मा सम्पर्क गरी सहयोग गर्न सक्नेछन् ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ