सुरुवालको पासोले ‘कोपिला’ निमोठिँदाको नालीबेली

सुरुवालको पासोले ‘कोपिला’ निमोठिँदाको नालीबेली

Cover Kopila

कोपिला नेपालको आश्रयमा रहुन्जेल कोपिला मालीको रेखदेख पुगेको फूलबारीको कोपिला झैं सुरक्षित थिइन् । यहाँबाट बाहिरिएपछि भने कोपिला निमोठिएझैँ निमोठिइन् । फक्रने समयमा रेखदेख गर्ने माली नै भएनन् ।

फूल्न नपाएकी उनै कोपिला परियार (१७), जो १४ महिनाअघि मृत भेटिएकी थिइन् । कास्कीको मादी गाउँपालिका–१०, मकैखोलामा मावली हजुरआमासँग बस्दै आएकी कोपिलालाई आमाबुवाको वात्सल्य पत्तै भएन । बुबा (मिनबहादुर) अर्कैसँग बिहे गरेर विदेशमै रमाए । आमा (सीता) ले पनि अर्कैसँग बिहे गरिन् ।

त्यसपछि बेसहारा कोपिलालाई सहारा दिने कोपिला नेपाल भयो । ३ कक्षासम्म पढिन् । उमेर बढ्दै गएपछि उनी त्यहाँबाट निस्किन् । हजुरआमासँगै मकैखोलामा बसिन् । हजुरआमाको लाडे प्यारमा हुर्केकी उनमा किशोरावस्थाको उत्तराद्र्धसम्म पनि केटाकेटी व्यवहार गएन । सुस्त मनस्थितिकी थिइन् भन्छन् परिवार । प्रहरीले पनि यही भन्छ ।

घटनाको झण्डै १४ महिनापछि प्रहरीले कोपिलाको हत्यामा संलग्नलाई सोमबार सार्वजनिक पनि गरेको छ । स्याङ्जाको हरिनास गाउँपालिका ६, क्याक्मी, चालिसेका ४५ वर्षीय खड्कबहादुर खवास, जसले आफूलाई रामबहादुर थापा भनेर चिनाउथे र अरुले मोटे भनेर बोलाउथे । आइतबार स्याङ्जाको पुतलीबजार–४, शिव मन्दिर चोकबाट पक्राउ गरेर पोखरा ल्याई खवासलाई कास्की प्रहरीले सार्वजनिक गरेको हो । कास्की प्रहरीका प्रमुख एसपी रमेश थापाले १४ महिनापछि घटनामा संलग्नलाई पक्राउ गरी पीडित परिवारलाई न्याय दिन सकेको भन्दै सन्तोष प्रकट गरे ।

१४ महिनाअघि फर्कँदा…

कोपिला ०७७ असार १५ गते नजिकैको खोलामा भाइबहिनीहरुसँग पौडी खेल्न गएकी थिइन् । त्यसपछि कहिल्यै फर्किनन् । उनी घरको काम गर्थिनन् । आफूभन्दा साना भाइबहिनीहरुसँग पौडी खेल्न जाने, गाउँ चाहर्ने गर्थिन् । मामाघरमा बसेकी उनी अनाथ, असहाय भएकाले पनि पारिवारिक बन्धन थिएन । सुस्त मनिस्थिति रहेकाले उनको हिँडडुल, आनीबानी, स्वभावलाई सामान्य नै मान्थे ।

१५ असारमा घरबाट निस्केपछि नफर्केको दिन बित्यो, हप्ता बित्यो तर उनी घर आइनन् । उनको बुवाको घर मादी ९, सिप्लिबेसी हो । बुवा विदेश भएपनि उनी कहिलेकाहीँ त्यहाँ हजुरबा–आमाकहाँ जान्थिन् । त्यहाँ पनि नगएको थाहा पाएपछि हजुरआमा झनै आत्तिइन् । गाउँलेले खोजीकार्य गरिरहेका थिए ।

१० दिनपछि मादी ११ स्थित खोलाको छेउमाथिकै मुखियाशेरको पातीघारीमा सडेगलेको अवस्थामा लास भेटेको खबर गाउँसम्म पुग्यो । किरा परिसकेको अवस्थामा भेट्ने त्यहाँकै सुरेश गुरुङ थिए । खोला मास्तिर आफ्नै जग्गामा गोरु चराउँदै गर्दा उनले शव भेटेका थिए । गुरुङले १० र ११ नम्बरका वडाध्यक्षसहित स्थानीयलाई खबर गरे। प्रहरी पनि लगत्तै पुग्यो ।

शव हेर्दा कोपिलाको ज्यानको मासु कुहिएर झर्न थालिसकेका थिए । किरा परिसकेको थियो । घोप्टो परेको अवस्थामा भेटिएकी कोपिलाको शरीरमा लुगा खोलिएको थियो । सुरुवाल घाँटीमा बेरिएको थियो । केही समयमा प्रहरी पुग्यो । स्थानिय र प्रहरीको प्रारम्भिक अनुमान रह्यो ‘हत्या अघि बलात्कार गरिएको छ ।’

शव हेर्ने भीडमा मिसिएका गाउँकै विद्यालय भवन निर्माणमा खटिएका एकजना मजदुरले सुरुमै प्रहरीलाई बोलाउनुपर्छ भनेर सुझाव दिएका थिए । ति यिनै अभियुक्त खवास थिए । पछि उनलाई प्रहरीले अनुसन्धानमा बोलायो पनि । तर, पर्याप्त प्रमाणको अभावमा छाडिएको थियो । यद्यपी, कास्की प्रहरीले उनीमाथि निगरानी राखिरहेको थियो । यसबीचमा उनले पोखरामै अर्की महिलासँग पनि रंगरसको सम्बन्ध बनाउँदै आएको समेत प्रहरीले पत्तो लगाएको छ । यस अर्थमा खड्क महिला भनेपछि हुरुक्कै हुने स्वभावका थिए ।

सुरुवालले घाँटी कसेर हत्या

०७७ को जेठको १ गते ठेकेदार पदम तामाङले मादी गाउँपालिका १० को जनकल्याण माविको भवन निर्माण गर्न बोलाएपछि खवास मकैखोला पुगेका थिए । भवन बनाएको हेर्न जाने गाउँले केटाकेटीको भीडमा कोपिला पनि थिइन् । ठेकेदार तामाङ, माझी भन्ने मजदुर र खड्कसँग  छोटो समयमै कोपिलाको निकटता बढ्यो । ‘बा’ उमेरका ४५ वर्षीय खड्कको मनमा भने पाप पलाईसकेको थियो । स्याङ्जा स्थित घरमा एउटी श्रीमती छन् । अर्की श्रीमती (बुद्धिमाया) आफूसँगै काममै लगेका थिए । दुई श्रीमति भएपनि खड्क कोपिलाको शारीरिक तथा मानसिक कमजोरीको फाइदा उठाई शरीर भोग गर्नतर्फ लागे ।

कोपिलासँग जिस्किने, चाउचाउ, बिस्कुट किनिदिने गर्थे । त्यही एकमहिना बीचमा एकान्त पाउनासाथ शारीरिक सम्पर्क गर्न थालिसकेको प्रहरी अनुसन्धानमा खुलेको छ । घटनाको दिन १५ असारमा पनि शारीरिक सम्बन्ध पश्चात् हत्या भएको खुलासा प्रहरीले गरेको छ ।

गाउँ नजिककै खोला गाउँका बालबालिका खेल्ने पार्क झैं थियो । नुहाउन र पौडी खेल्न गाउँका प्रायः सबै बालबालिका खोला झर्छन् । १५ गते कोपिलाले हजुरआमा पुतलीसँग २ सय रुपैयाँ मागिन् । हजुरआमाले नदिएपछि रिसाउँदै घरबाट निस्केर हिँडिन् । १ बजेतिर गाउँका एन्जिना परियार, आषिश परियारलगायतका केटाकेटीसँग खोलामा गइन् । करिब १ घन्टा सबैजना सँगै खोलामा पौडी खेले ।

खोलामा पौडिएपछि दिउँसो साढे दुई बजे भाइबहिनीहरुलाई घर पठाएर कोपिला खोलामै फर्केकी थिइन् । प्रायः उनी पौडिएर तातो ढुंगामाथि सुत्थिन् र घामले कपडा सुकेपछि मात्र घर फर्कने गर्थिन् । दयनिय आर्थिक अवस्थाका कारण कपडा फेरेर लगाउने सामर्थ्य थिएन ।

त्यो दिन पनि कोपिला मौरीखोलामा एक्लै रहिन् । ढुंगामाथि सुतिरहँदा खड्क पुगे । त्यसपछि थोरै मास्तिर पातिघारीमा पुगेर शारीरिक सम्पर्क गरे । कोपिलाले आफूलाई बिहे गरेर सँगै लैजान भनिन् । खड्कका पहिल्यै दुई श्रीमति थिए ।

‘बिहे गरेर लग’ भनेर दबाब दिन थालेपछि मारेँ

कास्की प्रहरीले खड्कको बयानको भिडियो पत्रकारमाझ देखायो । बयानमा विवाह गर्न दबाब दिएपछि कोपिलाको हत्या गरेको बताएका छन् । खड्कले घटनाबारे विस्तृतमा बुझाउँदै भनेका छन्ः कोपिलाले ‘मलाई पनि तिमीसँगै लैजाऊ’ भनेपछि रिस उठ्यो । धेरै दबाब दिन थालेपछि मैले हात समातेर झापड हानेँ । कोपिला ढलिन् । अनि उसकै सुरुवालले घाँटी कसेँ । केहि समयपछि बोलिनन् । घोप्टो पारेर छोडेर खोलातिर झरेर आएँ ।’

घटनाबारे प्रहरीलाई बयान दिँदै अभियुक्त खड्क

उनले उक्त घटनामा आफू बाहेक अरु कसैको संलग्नता नरहेको समेत स्पष्ट पारेका छन् । पत्रकारमाझ प्रहरीले आफूहरुको कुनै यातना र दबाब नरहेको प्रष्ट पार्न पनि खोजेको छ । अहिले तपाईंले जे बताइरहनु भएको छ, यसमा प्रहरीको दबाब, यातना केही छ ? भन्ने खड्कलाई प्रश्न गरिएको छ । उनले ‘छैन सर’ भनी प्रतिक्रिया दिएका छन् ।

‘मोटे’ प्रति नै थियो आशंका

घटनाको दिन मध्यान्ह करिब साढे १२ बजे स्थानीय विष्णुमाया भुजेलले पधेंरो नजिक प्याजी रङको कुर्था र हरियो सुरुवालमा कोपिलालाई भेटेकी थिइन् । त्यसपछि सँगै पौडी खेल्न गएका बालबालिकाहरु फर्केपछि उनलाई कसैले देखेनन् ।

खड्क ‘मोटे’ ले नै कोपिलाको हत्या गरेको भन्नेमा गाउँलेको पहिल्यै शंका थियो । किनभने, गाउँकै एक छिमेकीकहाँ कोपिला र खड्कबीच शारीरिक सम्बन्ध भएको थियो । कृष्ण भन्ने किसान परियारकी छोरी लक्ष्मी र कोपिला असाध्यै मिल्छन् । घटनाको चार दिन अघि ११ असारमा पनि लक्ष्मीकै घरमा कोपिला र खड्कबीच अस्वभाविक हर्कत भएको भन्दै किसानले गाउँमा हल्ला खल्ला गरेका थिए । कोपिलाको हत्या खड्कले नै गरेको भन्ने गाउँलेको आशंकालाई बल पुगेको यही घटनाले थियो । किसानले आफ्नो सम्बन्धबारे थाहा पाएपछि खड्क मानसिक रुपमा बेचैन भएका थिए ।

परिवारको आरोपः जिप्रकामा टेक्नै दिएनन्

कोपिलाको परिवारले न्याय पाउने आश नै मारिसकेको थियो । यसअघि कास्कीको प्रहरीको कमाण्ड सम्हालेका जीवनकुमार श्रेष्ठले घटनामा खासै चासो दिएनन् । हिजोको दिनसम्म प्रहरीसँग परिवारको ठूलो चित्त दुःखाइ छ ।

हजुरआमा पुतली बेलाबेला जिल्ला प्रहरी कार्यालय कास्की आइरहन्थिन् । ‘किटानी जाहेरी दिन्छु भनेर आउँदा अनुसन्धान हुँदैछ भन्नुहुन्थ्यो । प्रहरी कार्यालयमा टेक्नै दिनुभएन । फर्किए गयौँ,’ पुतली भन्छिन् । अहिले हत्यामा संलग्न सार्वजनिक गरेपछि भने उनी प्रहरीप्रति अनुग्रहित बनिन् ।

कोपिलाकी हजुरआमा पुतली परियारले प्रहरीदेखि पत्रकारसम्म जो भेट्छिन् ‘मोटेले मारेको हो’ भनेर भनिरन्थिन् । सुरूबाटै शंकाको घेरामा रहेका खड्क पक्राउ परे पनि प्रहरीले प्रमाण जुटाउन सकिरहेको थिएन ।

गत असार दोस्रो हप्ता कास्की प्रहरी प्रमुख भएर आएपछि रमेश थापाले यो घटनामा चासो राखेका हुन् । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरणले अझैसम्म प्रहरी संगठनको शाख गिरेको छ । ११ साउन, ०७५ मा घटेको यही घटनासँग दाँज्दै कास्की प्रहरी जसरी पनि हत्यारा पत्ता लगाउने मिसनमा जुट्यो । ३ वर्ष अघि (९ असोज ०७५) पोखरा पुम्दीभुम्दीकी श्रीया बिकलाई पसलबाट फर्कने क्रममा बलात्कार पछि हत्या गर्दा कास्की प्रहरीले भोलिपल्टै अभियुक्त सार्वजनिक गर्न सफल भएको थियो ।

कास्की प्रहरीले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा एसपी थापाले घटनाबारे बताउँदै गर्दा हजुरआमा पुतली, आमा सीता, सानीमा मीना भक्कानिइन् । ‘मैले मोटेले मारेको भनेको सुरुदेखि नै हो । मेरो नातिनीलाई मारेर, स्कुलको काम सकेर गयो । त्यही मान्छेले मारेको भन्दा कसैले सुनेन, अहिले त्यही रहिछ नि, टुनामुना जानेको थियो त्यो । बिस्कुटहरु दिएर फकाउने गर्दो रहेछ ।’ उनले पत्रकारमाझ अहिले पनि यही भनिन् ।

कोपिलाकी हजुरआमा पुतली र आमा सीता जिप्रकामा आयोजित पत्रकार सम्मेलनमा

पुतलीकी हजुरआमा, आमा, सानीमासँगै मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरूङ (श्याम), कार्यपालिका सदस्य विष्णु सुवेदी सोमबार जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए । एसपी थापालाई कार्यकक्षमा भेटेर अध्यक्ष गुरुङ र सदस्य सुवेदीले अपराधी पत्ता नलाग्दा काँडा बिझेजस्तै भएकोमा आजको दिनदेखि हलुका भयो भन्दै प्रहरीलाई धन्यवाद दिए । ‘देशभर छोरीचेली असुरक्षित छन् । यही गाउँमा हाम्रा छोरीचेलीहरु छन् । यसरी दिनदहाडै मारेर फाल्ने पत्तो नलाग्दा त काँडा बिझेजस्तै भएको थियो नि । बल्ल श्वास फेर्न पायौं’ – उनीहरुले भने ।

सजायको व्यवस्था

खड्कलाई ज्यानसम्बन्धी मुद्दामा जन्मकैद माग गर्दै कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरिएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास हमालले जानकारी दिए । हत्या स्वीकारेका खड्कलाई कर्तव्य ज्यानमार्ने उद्योग तथा करणी सम्बन्धि कसुरमा कारवाही हुनेछ ।

नाबालिकाको हकमा सहमतिमै भएपनि जबर्जस्ती ठहर्छ । त्यसैले जबरजस्ती करणी पश्चात् हत्या भएकाले मुलुकी अपराधसंहिता २०७४ को दफा १०० (१) बमोजिम ज्यान सम्बन्धि कसुर, दफा २१९ (१) र (३) (घ) बमोजिम करणी सम्बन्धि कसुर, दफा ३८ (ब) अनुसार मृतक सुस्त मनस्थिति रहेकाले उक्त कसुर र दफा ४१ (च) अन्तर्गत जबरजस्ती करणी पश्चात् हत्या भएकाले जीवित रहेसम्म कैद गर्नुपर्ने प्रावधान छ । मृतकमा मानसिक समस्या भएकाले अभियुक्तविरुद्ध मुद्दा बलियो बनाउने पक्षमा प्रहरी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ