पोखरा। गण्डकी प्रदेशको लाइफलाइन पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडकखण्ड चार लेनको बन्दै छ । २०२६ सालमा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बन्न लागेको हो ।
८० किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१ दशमलव ४५ किलोमिट सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । जामुने–पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुई काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको होे ।
हाल आँबुखैरेनी–जामुने पूर्वी खण्डको काम सुरु भएको छ । जामुने–पोखरा पश्चिम खण्डमा भने काम सुरु हुने चरणमा छ । निर्माण कम्पनी फिल्डमा आएर काम थालेको मुग्लिन पोखरा सडक योजना (आँबुखैरेनी–जामुने) पूर्वी खण्डका योजना प्रमुख नरेन्द्र सुवेदीले बताए ।
सर्भे डिजाईन सकाएर फाइनल गर्ने चरणमा रहेको उनले बताए । ‘बर्खाको बेला हाम्रो सेड्युलमा नै थिएन कन्सट्रक्सनको काम । दशैँ अगाडि खाल्डाखुल्डी पुर्ने काम सुरु गर्छौँ । कन्सट्रक्सनको काम दशैँ पछाडि सुरु हुन्छ’, सुवेदीले भने । ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा यो खण्डको ठेक्का सम्झौता भएको हो ।
मुग्लिन पोखरा सडक योजना पश्चिम (जामुने–पोखरा) खण्डको ठेक्का पाएको यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सन कम्पनीका प्रतिनिधि भने कोरोनाको कारण भदौ दोस्रो साता मात्रै नेपाल आइपुगे । १३ भदौमा यनहुइका प्रतिनिधिले निर्माण प्रतिबद्धता जनाएको योजना प्रमुख प्रेमप्रकाश खत्रीले जानकारी दिए ।
२७ भदौमा निर्माण कम्पनीलाई कार्यक्षेत्र हस्तान्तरण गरेको उनले बताए । कार्यक्षेत्र हस्तान्तरण भए पनि मर्मत सम्भारको कामका लागि भने सडक डिभिजन कार्यालयलाई अनुरोध गरेको खत्रीले बताए । निर्माण कम्पनीका प्रतिनिधि आएपनि कामदार भने आइनपुगेको उनको भनाइ छ ।
‘कामदार ल्याउनलाई भिसा प्रक्रियामा छन् । नेपाल आएका प्रतिनिधिले अस्थायी कार्यालय खडा गरेका छन् । कार्यालय बनाउनलाई डिजाइन गर्ने, निर्माणस्थलको निरक्षण, बिमा र पेस्की लिनका लागि कागजात तयार पार्ने काम प्रतिनिधिले गरिरहेका छन्’, खत्रीले भने । यो प्याकेजको सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का लगाइएको हो ।
चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो वस्ती भएको स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौँडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।
सडक चार लेनको बन्दा अहिले भएका पुलको ठाउँमा नयाँ बनाउनुपर्ने हुन्छ । आँबुखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर दूरीमा सडक चार लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण गर्नुपर्ने मुग्लिन पोखरा सडक योजना पश्चिम (जामुने–पोखरा) खण्डका योजना प्रमुख अधिकारीले जानकारी दिए ।
३१ मध्ये दमौलीस्थित मादी नदी र पोखरास्थित सेती नदीमा पुल निर्माणको ठेक्का लगाउन बाँकी रहेको उनले बताए । अरु २९ पुल दुई प्याकेजमा लगाइएको ठेक्का अन्तर्गत नै निर्माण हुने उनले जनाए । २९ मध्ये पनि सात पुल ठूला हुनेछन् ।
सडक चार लेन बनाउँदा दायाँवायाँका आठ हजार रुख काटिनेछन् । तनहुँ खण्डमा ६ हजार ७ सय ५० रुख काटिनेछ । यो खण्डमा रुख काट्नलाई वन विभागले स्वीकृति दिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बताए ।
काफ्लेका अनुसार योजनाले रुख काटेर वन कार्यालयलाई बुझाउनुपर्ने हुन्छ । कास्की खण्डमा एक हजार दुई सय पचास रुख कटानका लागि विभागबाट स्वीकृत लिने प्रक्रियामा रहेको जनाइएको छ । ८० किलोमिटरमध्ये हालसम्म तनहुँको गुणादी क्षेत्रको आठ किलोमिटर दूरीमा सडक आसपासको बिजुलीको पोल सार्ने काम सकिएको छ ।
आँबुखैरेनीदेखि मुग्लिन खण्डको आठ किलोमिटर दूरीको भने डिजाइन हुँदैछ । यो खण्डमा हाल पृथ्वीराजमार्गको भएको स्थानमा मस्र्याङ्दी जलविद्युत गृह रहेको छ । जलविद्युत गृह र सडक फराकिलो बनाउन सकस हुने भएपछि सडकको रेखांकन नै परिवर्तन गर्नुपरेको छ ।
चालु आर्थिक वर्षमा संघीय सरकारले मुग्लिन पोखरा चार लेन सडक योजनाका लागि चार अर्ब ४३ करोड ४३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
गत आर्थिक बर्षमा दुई अर्ब नौ करोड ५४ लाख चार हजार रुपैयाँ विनियोजन भएको थियो । चालुतर्फ विनियोजन भएको ४२ लाख सात हजार रुपैयाँमध्ये १८ लाख २६ हजार ६ सय ८५ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जानकारी दिएको छ ।
कार्यालयका अनुसार पूँजीगततर्फ दुई अर्ब नौ करोड ११ लाख ९७ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा ३६ करोड ७५ लाख ६९ हजार ८ सय ७३ रुपैयाँ मात्र खर्च गर्न सफल भएको छ ।
सम्बन्धित खबर
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु