पोखरा सेदी-सराङकोट केबलकार सञ्चालनको यस्तो छ तयारी (भिडियोसहित)

पोखरा सेदी-सराङकोट केबलकार सञ्चालनको यस्तो छ तयारी (भिडियोसहित)

Annapurna Cablecar 1

पोखराको सेदी बगरदेखि सराङकोटसम्मको अन्नपूर्ण केबलकार सञ्चालनको तयारीमा छ । ढिलोमा ३ महिनासम्ममा सञ्चालन गर्ने गरी तयारी अघि बढाइएको सञ्चालक टीमको भनाई छ । अहिले जापानी प्राविधिक टोली नआइपुगेकाले सञ्चालनको मिति घोषणा गर्न नसकिएको अन्नपूर्ण केबलकार प्रालिका जेनेरल म्यानेजर दिनेश पौड्यालले बताए ।

पोखराका दुई महत्वपूर्ण पर्यटकीय स्थल फेवातालदेखि सराङकोट जोड्ने गरी निर्माण भएको यो केबलकार अंग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालन गर्ने तयारीमा जुटेको निर्देशक तीर्थराज त्रिपाठी बताउँछन् ।

शुक्रबार मात्रै जापानीज प्राविधिक टोलीसँग अन्र्तक्रिया गरिएको जनाउँदै उनले टोलीलाई पोखरा झिकाउने प्रक्रिया सुरु हुने उनले बताएका छन् ।

यसअघि, दुई पटक सम्म सञ्चालन मिति तोकिए पनि विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ सङ्क्रमणका कारण निर्माण सामग्रीको आयात तथा विदेशी प्राविधिकहरूको आवतजावतमा समस्या उत्पन्न हुँदा केबलकार सञ्चालनमा ल्याउन नसकिएको त्रिपाठीको भनाई छ ।

जेनेरल म्यानेजर पौड्यालले भौतिक पूर्वाधारका कार्यहरू भइरहेको भए पनि स्टेसनसँगै तार टाँग्ने र केबलकारका डिब्बा (गुण्डला) राख्ने लगायतका मुख्य कार्य सबै सकिएको बताए । अब जापानी प्राविधिक टोली पोखरा आएर प्राविधिक परीक्षण गरेपछि केबलकार व्यावसायिक रूपमा सञ्चालनमा आउने उनले बताए ।

लकडाउनले गर्दा जापानी प्राविधिकलाई सहज रुपमा ल्याउन नसकिरहेकै कारण सञ्चालन मिति धकेलिएको उनी बताउँछन् ।

दिनेश पौड्याल, जेनेरल म्यानेजर

लागत बढेर २ अर्ब पुग्यो

एक अर्ब ३० करोडको लागत अनुमान गरिए पनि निर्माण गर्दै जाँदा हाल दुई अर्ब रुपैयाँ भेटेको त्रिपाठी बताउँछन् । केबलकारको माथिल्लो स्टेसनमा निर्माण गरिएको भ्यू टावर, गार्डेन, पार्किङ संरचना, रेष्टुरेन्ट, कफी सप तथा अतिरिक्त जग्गा खरिदले गर्दा लागत मूल्य बढेको उनको भनाई छ ।

‘हामीले पछिल्लो क्रममा केबलकारको रुटमा पर्ने निजी आवादीको २० रोपनी भन्दा बढी जग्गा खरिद ग¥यौँ, त्योसँगै केबलकारसँग जोडेर विविध भौतिक संरचनाहरू निर्माण ग¥यौ जसले लागत धेरै बढायो’, त्रिपाठीले भने ।

केबलकारको दुई हजार ४०० मिटर दुरीको उक्त क्षेत्रमा ८ देखि ९ मिनेटमा पुग्न सकिने त्रिपाठीले बताए । केबलकारमा ८ जनाको सिट क्षमता रहेका १७ वटा गुण्डला र सामान ओसारपसार गर्ने एउटा गरी १८ वटा गुण्डला जडान गरिएको छ । केबलकारमा ३५ वटा यात्रु बोक्ने गुण्डला जडान गर्न सकिने उल्लेख गर्दै निर्देशक त्रिपाठीले पर्यटकको माग र चाप अनुसार गुण्डला थप गर्दै लगिने बताए ।

टिकट मूल्य निर्धारण

केबलकारमा टिकटको मूल्य नेपाली पर्यटकलाई प्रतिव्यक्ति ६ सय रुपैयाँ, एसियनलाई ७ सय र अन्य मुलुकका पर्यटकलाई ८ सय रुपैयाँ निर्धारण गरिएको जनरल म्यानेजर दिनेश पौड्यालले बताए । पौड्यालले केबलकार सञ्चालन पूर्व टिकटमा विद्यार्थी, ज्येष्ठ नागरिक र स्थानीयलाई विशेष छुटको निर्णय गरिने बताए ।

प्रालिले केबलकार सञ्चालनमा ल्याएसँगै पोखराको पृथ्वीचोक र लेकसाइड क्षेत्रबाट स्टेसनसम्म पुग्नको लागि सवारीसाधनको व्यवस्था पनि गर्ने भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ