मुख्यमन्त्री पोखरेल गृहजिल्ला भ्रमणमा

मुख्यमन्त्री पोखरेल गृहजिल्ला भ्रमणमा

madhayabindu 4 health post

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बुधबार दिनभर गृहजिल्लाका कार्यक्रममा व्यस्त रहे । मुख्यमन्त्री पोखरेलले मध्यबिन्दु जिल्ला अस्पतालमा निर्मित क्षयरोग पे्रषण केन्द्र भवनको उद्घाटन गरेका छन् ।

जटिल प्रकारका क्षयरोग पे्रषण केन्द्रको भवन नयाँ जीवनका लागि हातेमालो र दामियन फाउन्डेसन बेल्जियम नेपालको १ करोड २६ लाख लागतमा निर्माण गरिएको हो । हाल १५ बेड रहेकामा छिटै नै २५ बेडको बनाइने दामियन फाउन्डेसनका नेपाल प्रमुख डा. सुशील कोइरालाले जानकारी दिए ।

उक्त अवसरमा मुख्यमन्त्री पोखरलले प्रदेशवासीको स्वास्थ्यका लागि सरकार संवेदनशील रहेको भन्दै क्षमता अनुसारका कार्यक्रम अगाडि सारेको भनाइ राखे । प्रदेशका बासिन्दालाई कोरोनाविरुद्धको खोप दिलाउनका लागि सरकारले १ अर्ब विनियोजन गरे पनि प्रदेशले सिधै खरिद गर्ने अवस्था नरहेकाले संघकै भर पर्नु परेको भनाइ उनले राखे । संघसँगकै सहकार्यमा पर्याप्त खोप ल्याएर नागरिकलाई उपलब्ध गराइको र अब छिटै प्रदेश पूर्णखोपयुक्त हुने मुख्यमन्त्रीले बताए ।

पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सको उपचार निशुल्क घोषणा भइसकेको र अब प्रदेशमा रगतका लागि कुनै रकम नलाग्ने व्यवस्था गर्न लागिएको समेत उनले जानकारी गराए । मृर्गौला बिरामीहरु अहिले पनि डायलासिसका लागि पालो कुर्नुपर्ने अवस्था रहेको भन्दै उनले अब सबै बिरामीले तत्कालै डायलासिस गराउने प्रबन्ध सरकारले मिलाउन लागेको बताए ।

कार्यक्रममा गण्डकी प्रदेश सभा विधायन समिति सभापति विष्णु लामिछानेले स्वास्थ्य क्षेत्रमा हुँदै गएको सुधारप्रति सन्तोष व्यक्त गरे । ग्रामीण भेगमा अझै पनि क्षयरोगका बिरामी प्रशस्त रहेको थाहा पाउँदा दुख लागेको भन्दै उनीहरुको खोजबिन गरेर उपचार गराउनुपर्नेमा जोड दिए ।
गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या सचिव डा। विनोदबिन्दु शर्माले टिबी रिफरल सेन्टर स्थापनाले प्रदेशको स्वास्थ्य प्रणालीमा अभूतपूव काम भएको बताए । कम उमेरका व्यक्तिमा समेत टिबी देखिन थाल्नु भनेको समुदायस्तरमै रोग रहेको प्रमाण हो भन्दै सबै सरोकारवाला मिलेर बिरामीको खोजबिन गरी आइसोलेसनमा राख्नुपर्ने बताए ।

उक्त अवसरमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. प्रकाशकुमार साह, नवपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी, मध्यबिन्दु जिल्ला अस्पतालका मेडिकल सुपरीडेन्डेन्ट डा. वीरबहादुर थापालेसहितले भनाइ राखेका थिए ।

मुख्यमन्त्री पोखरेलले बुधबारै मध्यविन्दु नगरपालिका १,२ र ३ नम्बर वडामा सञ्चालित कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आठौं वार्षिक साधारणसभा उद्घाटन गरेका छन् । प्रदेशवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन सरकारले एक घर एक धारको अभियान सञ्चालन गरेको र यो अभियान अब छिटै पूरा हुने विश्वास व्यक्त गरे । कार्यक्रममा विधायन समिति सभापति विष्णु लामिछाने, प्रमुख जिल्ला अधिकारी मनमाया पंगनी, समितिका अध्यक्ष श्रीधर भट्टराईसहितले भनाइ राखेका थिए ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरलेलले मध्यबिन्दु नगरपालिका ४ मा निर्मित नारायणी स्वास्थ्य चौकीको उद्घाटन गरेका छन् । स्वास्थ्य चौकीमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी उपलब्ध गराई बर्थिङ सेन्टर सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्ने प्रतिबद्धता उनले जनाए । वडाध्यक्ष पदमनारायण चौधरीले ४ नम्बर वडा मात्र नभएर आसपासका क्षेत्रका बासिन्दालाई समेत सेवा दिने गरी यो चौकी स्थापना गरिएको बताए ।

मुख्यमन्त्री पोखरेलले हुप्सेकोट गाउँपालिकाको पत्थरखोलास्थित जीण पुलको अवलोकन समेत गरेका छन् । पालिका अध्यक्ष लक्ष्मी पाण्डेको आग्रहमा उनले पुल अवलोकन गरेका हुन् । गाडी आउजाउ अत्यधिक हुने पुल बाढीले क्षति पु¥याएकोमा मर्मतका लागि अध्यक्ष पाण्डेले आग्रह गरिन् ।

कावासोतीमा रहेको कुमारवर्ती बहुमुखी क्याम्पसमा समेत मुख्यमन्त्री पोखरेलले बुधबारै अवलोकन गरेका छन् । सञ्चालक समिति अध्यक्ष महेन्द्रप्रसाद पोखरेल र क्याम्पस प्रमुख गुरुप्रसाद सुवेदीले क्याम्पसमा प्राविधिक शिक्षाका लागि कम्प्युटर अभाव भएकाले प्रदेश सरकारसँग सहयोगको अपेक्षा गरिएको बताए ।

मुख्यमन्त्रीको चाहानाः त्रिवेणी – कोरोला कनेक्सन

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको लाइफलाइनका रुपमा परिचिन त्रिवेणी कोरोना कनेक्सनका लागि प्रदेश सरकारले हरसम्भव प्रयास गरेको बताए छन् । जिल्लका विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा उनले डेढगाउँदेखि झ्यालवास खण्ड डबल लेनको बनाउनका लागि ठेक्का लागिसकेको भए पनि दुम्कीबासदेखि त्रिवेणी खण्डमा नै अवरोध भएको भन्दै उनले यसको पनि समाधान खोजिने भनाइ राखे ।

चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा यो सडक खण्डको ८ किलोमिटर पर्छ । उनले भने, ‘दुम्किबासबाट त्रिवेणीका लागि हिजोको सरकारले पैसा छुट्यायो, निकुञ्जका कारणले काम गर्न सकेन, पैसा त जतिबेला पनि हामीसँग हुन्छ त्यसको लागि तर प्रक्रियामा लान प¥यो, निकुञ्जबाट त्यो क्षेत्र छुट्टिने बित्तिकै हामी काम थाल्छौँ, यो केन्द्र सरकारलाई भनेका छौँ, हिजोका मुख्यमन्त्रीले पनि भन्नुभएकै हो ।’

युनेस्को भनेर रोकियो भने सधैँ यसै बसिरहन नसकिने भन्दै उनले विकल्पमा सुरुङमार्ग समेत निर्माण गर्न सकिने भनाए राखे । सुरुङमार्गका लागि १८ देखि २० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिए र संघ सरकारको समेत सहयोग लिएर काम गर्न सकिने भनाइ राखे । सुरुङ नभए फ्लाइ ओभर समेत निर्माण गर्नुपर्ने मुख्यमन्त्री पोखरेलले बताए । यसका लागि मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई मौखिक एवं लिखित रुपमा जानकारी समेत गराइसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ