बालाचतुर्दशीका अवसरमा ऐतिहासिक महाप्रभुधाममा सद्वीज छरिदै

बालाचतुर्दशीका अवसरमा ऐतिहासिक महाप्रभुधाममा सद्वीज छरिदै

satabij

पोखरा । आज बालाचतुर्दशी पर्व देशभर मनाईदैछ। प्रत्येक वर्ष मार्ग कृष्ण चतुर्दशीका दिन दिवंगत वितृको सम्झनामा सतबीज छरेर यो पर्व मनाईन्छ । देशभरका शिव मन्दिरहरुमा आज बिहानैदेखि सतबिज छर्नेहरुको भिड लागेको छ ।

यसैबीच, दुई शताब्दीभन्दा अघिदेखि अस्तित्वमा आएको पोखरा महानगरपालिका–१३ आर्बास्थित महाप्रभुधाममा पनि बालाचतुर्दशीका अवसरमा आज शुक्रबार सद्वीज छरिने भएको छ ।

बालाचतुर्दशीका अवसरमा प्रत्येक वर्ष सद्वीज छर्ने प्रचलन रही आएकोमा यस वर्ष पनि सद्वीज छर्ने कार्यक्रम रहेको महाप्रभुधाम रतन पाण्डे पर्यटकीय क्षेत्र विकास समितिका अध्यक्ष धर्मराज बरालले जानकारी दिए । महाप्रभुधाममा टाढाटाढाबाट सद्वीज छर्नका लागि भक्तजन आउने गरेको बताउँदै उनले यस वर्ष भारतबाट आउनुभएका सन्त दीनदयालजी महाराजको विशेष उपस्थितिमा सद्वीज छर्ने कार्यक्रमको शुभारम्भ हुने जानकारी दिए ।

सद्वीज छर्न आउने भक्तजनलाई लक्षित गरी स्थानीय वस व्यवसायी समितिले काहुँखोलाबाट महाप्रभुधामसम्म आवतजावतको व्यवस्था मिलाएको उनले बताए ।

पोखराको मुख्य बजारबाट नजिकै रहेको आर्वा प्राचीन धार्मिक एवं ऐतिहासिकस्थल भएर पनि उचित प्रचारप्रसार र भौतिक पूर्वाधार विकासको अभावमा ओझेलमा परेको अवस्थालाई दृष्टिगत गर्दै पछिल्लो समयमा यसको प्रवद्र्धन र विकासका लागि पहल गरिएको बरालले जानकारी दिए ।

महाप्रभुधाम पुग्ने पर्यटकले पोखरा उपत्यकाको दृश्यावलोकनसहित अन्नपूर्णदेखि लमजुङ हिमालसम्मका रमणीय दृश्य एकसाथ नियाल्न पाउनाका साथै ऐतिहासिक एवं धार्मिक पक्ष प्रत्यक्ष अवलोकन गर्न सक्छन् ।

आजभन्दा झण्डै दुई सय वर्षअघि स्वर्गद्वारीबाट महाप्रभु आएर यहाँ दुई महिनासम्म यज्ञ गरेर मनोकांक्षा पूरा गर्नुभएकाले यहाँको गरिमा बढेको बताइन्छ । अध्यक्ष बरालकानुसार तत्कालीन समयमा महाप्रभुहरूले यज्ञ गरेका कुण्ड अझै सुरक्षित रहनाका साथै वरपरका गुफा, गणेश तथा शिवजीको मन्दिर, रतन पाण्डे थान आदि धार्मिक एवं ऐतिहासिकस्थल पनि छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ