दोश्रो टाइगर कप आमन्त्रित भलिबल प्रतियोगिता पुस २६ देखि, सम्पूर्ण तयारी सकियो

दोश्रो टाइगर कप आमन्त्रित भलिबल प्रतियोगिता पुस २६ देखि, सम्पूर्ण तयारी सकियो

tg main

पोखरा । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा यही पुस २६ गतेदेखि हुने ‘दोश्रो टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला/पुरुष भलिबल प्रतियोगिता २०७८’ को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

टाइगर ग्रुपले पोखरामा पत्रकार सम्मेलन आयोजना गरी तयारी पूरा भएको जनाएको हो । सुश्री मिडिया प्रालिको मुख्य प्रायोजनमा पोखरा रंगशालामा राउण्ड रोविन लिगको आधारमा सञ्चालन हुने प्रतियोगितामा महिला र पुरुष गरी १० टीमको सहभागिता हुने संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिएका छन् ।

प्रतियोगिताको अन्तिम तयारीबारे जानकारी गराउँदै अध्यक्ष शर्माले भने–“यस क्षेत्रमा भलिवलको लोकप्रियता संगै राष्ट्रिय टिममा गण्डकी प्रदेशबाट उत्पादित खेलाडीहरुको लामो समयदेखिको उपस्थितिका साथै भलिबल खेलको विकासमा योगदान दिन यो प्रतियोगितालाई निरन्तरता दिएका छौं ।”

प्रतियोगितामा महिला तर्फ विभागिय टीमहरु नेपाल आर्मी क्लब, नेपाल पुलिस र शसस्त्र प्रहरी बलका साथै न्यू डायमण्ड र आयोजक संस्था टाइगर ग्रुप अफ पोखरा नेपाल रहेको छ । आयोजकको टिममा नेपाल महिला भलिबलकी क्याप्टेन अरुणा शाहीको नेतृत्वमा श्रीलंकका महिला भलिबलका क्याप्टेन सहित ३ जना खेलाडीहरूको सहभागिता रहनेछ ।

त्यस्तै, पुरुषतर्फ गण्डकी प्रदेश, विभागिय टिमहरू नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल, टिप टप हेल्प नेपाल स्पोर्टस क्लबको टीम रहेका छन् । केही टीममा छिमेकी राष्ट्र भारतका टीम क्याप्टेन सहितका खेलाडीहरूको सहभागिता रहनेछ ।

प्रतियोगिताको उपाधि विजेता महिला-पुरुष उपाधि विजेता टीमलाई समान नगद रु. ३/३ लाख, उपविजेता महिला÷पुरुष टिमलाई समान नगद रु. १ लाख ५० हजार, तेश्रो हुने महिला-पुरुष टिमलाई समान नगद रु. ७५ हजार र सान्त्वना हुने महिला÷पुरुष टिमलाई नगद ३५ हजार प्रदान गर्ने आयोजकले जनाएको छ ।

यसैगरी महिला तथा पुरुष तर्फ उत्कृष्ट एक–एक खेलाडीलाई समान नगद रु. २५/२५ हजार तथा हरेक विद्याका उत्कृष्ट खेलाडीहरुलाई नगद जनही नगद १०/१० हजार सहित र ट्रफीद्वारा सम्मान गरिनेछ ।

प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । साथै, प्रतियोगिता अवलोकनका लागि साउथ एशिया सेन्ट्रल भलिवलका अध्यक्ष मोहमद लतिफ समेत पोखरा आउने कार्यक्रम तय भएको छ ।
पुष २६ गते दिउसो १ बजे हुने उद्घाटन खेलमा पुरुष तर्फको डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेश र नेपाल ए.पि.एफ क्लब भिड्ने भएका छन् । पहिलो राउण्ड रोविन लिग अन्तर्गतका खेलहरु भने विहान ८ बजेबाट नै शुरु हुने र दैनिक महिला र पुरुषतर्फका गरी ४ खेल हुने आयोजकले जनाएको छ ।

पोखरा रंगशालामा हुने आमन्त्रित महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि हामीले यो पटक विशेष तयारीका साथ अघि बढेको प्रचार प्रसार समितीका संयोजक रामकृष्ण ज्ञवालीले जनाएका छन् । उनका अनुसार दर्शकहरूका लागि अस्थायी प्यारापिट निर्माण, जेष्ठ नागरिक लगायत फरक क्षमता भएका दर्शकहरूलाई खेल हेर्न छुट्टै व्यवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई बस्नको लागि विशेष व्यवस्था गरिएको छ । साथै प्रतियोगिताका लागि प्रवेश शुल्क रु. २ सय र ३ सय निर्धारण गरिएको आयोजकले जनाएको छ ।

साथै, प्रतियोगिता अवधीभर नेपाल टेलिकमले रु. ५० व्यालेन्स सहितको सीम निःशुल्क वितरण गर्नेछ भने ई–सेवा रेमिटबाट प्रत्येक दिनको म्याचको ‘म्यान अफ द म्याच’को पुरस्कार राशी नगद ५ हजार खेलाडीले प्राप्त गर्नेछन् । साथै केएफसीले महिला तथा पुरुष विजेता टिमका खेलाडीहरुलाई गिफ्ट स्वरुप डिनरको व्यवस्था गरेको संयोजक ज्ञवालीले जनाएका छन् ।

प्रतियोगितालाई सफल बनाउन शिव श्रेष्ठ संयोजक, सहसंयोजक गोविन्द थापा सहितको विभिन्न उपसमितिहरू गठन गरी सम्पूर्ण कामहरू पुरा गरी अन्तिम चरणमा पुगेको क्लवका सचिव प्रकाश बरालले उल्लेख गरे । साथै उनले विदेशबाट यस प्रतियोगिता सफल विभिन्न खेल प्रेमीहरूले आर्थिक, भौतिक एवम् नैतिक रुपमा सहयोग गरेकोमा आभार समेत व्यक्त गरेका छन् ।

प्रतियोगितालाई सफल बनाउन मुख्यमन्त्रीको कार्यालय, गण्डकी प्रदेश, राष्ट्रिय खेलकुद परिषद, नेपाल भलिबल संघ, यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, नेपाल भलिबल संघ जापान शाखा, प्रदेश खेलकुद परिषद गण्डकी, जिल्ला खेलकुद विकास समिती कास्की, महानगर पालिका कार्यालय, अन्नपूर्ण केबल कार प्रा.लि., पोखरा, प्रभु बैंक लिमिटेड, गण्डकी प्रदेश, मुक्तिनाथ विकास बैंक, अन्नपूर्ण गाउँ पालिका, केएफसी, काठमाण्डौ,बतास ब्रदर्श अर्गनाईजेशन, अटोवेज प्रा.लि., होटल बाराही, पोखरा, माउण्ट कैलाश रिसोर्ट, होटल पेनेन्सुल्ला, पोखरा, कास्की जिल्ला कवाडी संघ, विश्वकर्मा सप्लायर्स, कृषि तथा पशुपंछी फर्म, कुस्मा नगरपालिका–११, पकुवापोखरा महानगरपालिका, नगर खेलकुद विकास समिति, केल्मी लगायत एक दर्जन संघ संस्थाले सहयोग गरेको संस्थाका सदस्य डिवी नेपालीले जनाएका छन् ।

यसैबीच, पहिलो पटक नेपाल राष्ट्रिय टीमकी कप्तान अरुणा शाहीको कप्तानीमा आफ्नै महिला टीम उर्तान लागेको टाइगर ग्रुपले श्रीलंकाका ३ जना खेलाडीलाई टीममा भित्राएको छ । पत्रकार सम्मेलनमा कप्तान अरुणाले आफ्नो टीमको तयारी पूरा भएको जनाउँदै उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने बताइन् ।

उनले भनिन–“टीममा गण्डकीका केही खेलाडी र विदेशी अनुभवी खेलाडीको समिश्रण छ, त्यसैलै पनि टीम बलियो भएको छ ।” यता गण्डकी प्रदेशका डिफेण्डिङ च्याम्पियन टिमका कप्तान हरि पाण्डेले केही पूराना र नयाँ खेलाडीको समिश्रणका साथ आफ्नो टीमको तयारी पूरा भएको जनाउँदै गत वर्षकै लय समात्ने गरी मैदानमा उत्रिने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ