बागलुङको मालढुङ्गा–कुश्मिशेरा सडक मर्मतका लागि मुख्यमन्त्रीको ध्यानाकर्षण

बागलुङको मालढुङ्गा–कुश्मिशेरा सडक मर्मतका लागि मुख्यमन्त्रीको ध्यानाकर्षण

cmgyapan

रचित पौडेल, पाेखरा । स्थानीय बजेटले नसकेपछि बागलुङमा सडक मर्मतका लागि गण्डकीका मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएको छ। बागलुङको मालढुङ्गा–गलुवा–पाग्जा–बलेवा हुँदै कुश्मिसेरा जाने सडक अन्तर्गतको गलुवाको ठूलो पहिरो मर्मतका लागि त्यहाँका जनप्रतिनिधिले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको ध्यानाकर्षण गराएका हुन् ।

बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल र जैमिनी नगरपालिकाका नगर प्रमुख इन्द्रराज पौडेलले हस्ताक्षर गरेको ध्यानार्कषण पत्र बागलुङका प्रदेश प्रतिनिधिहरु इन्द्रलाल सापकोटा र सावित्रा राना, रोहबरमा मुख्यमन्त्रीलाई प्रदान गरिएको छ । एमाले बागलुङका नेता कृष्ण पाठकसहित टोलीमा सहभागी थिए ।

स्थानीय सरकारको बजेटले अस्थायी मर्मत गरेर सञ्चालनमा ल्याएको सडक वर्खा लाग्दासाथ बन्द हुने अवस्थामा पुगेकाले बुधबार मुख्यमन्त्रीको कार्यकक्षमा पुगेर ध्यानाकर्षण गराईएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिएका छन् । प्रदेशले निर्माण गरिरहेकै सडक भएकाले पनि तत्काल योजना बनाएर मर्मतका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएको पौडेलले बताए ।

उनका अनुसार सडक ४ महिना बन्द रह्यो । र, अहिले सामान्य पहिरो पन्छाएर एकतर्फी सवारी चल्ने गरी अस्थायी रुपमा सञ्चालनमा ल्याइएको छ । सुरुमा ४ लाख लागतमा पहिरो पन्छाई अहिले नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट २० लाख बजेट बिनियोजन गरेर सडक मर्मत गर्न थालिएको छ । तर, पहिरो निकै ठूलो भएकाले वर्षा नलाग्दै समयमै मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराइएको हो ।

उक्त पहिरो मर्मत गरी पुरानै अवस्थामा सडक फर्काउन तीन करोड ४३ लाख ६४ हजार खर्च हुने प्राविधिकहरुले तयार पारेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । उक्त पहिरोले झण्डै एक सय मिटर कालोपत्रे सडक बगाएको छ । उक्त सडक भकुण्डे बलेवा संगै दक्षिणको सिंगो जैमिनी नगरपालिका र बरेङ गाउँपालिका जोड्ने मुख्य सडक हो ।

गलुवामा गत असार १ गतेको भीषण पहिरोले पहाडनै खसेर दक्षिण जोड्ने सडकसंगै कालीगण्डकी करिडोर समेत बगाएपछि अहिले त्यहाँ निकै समस्या भएकाले पहिरोको दीर्घकालिन व्यवस्थापनका लागि ठूलो बजेट खर्च हुने र स्थानीय सरकारले नसक्ने भन्दै मुख्यमन्त्रीलाई बजेट विनियोजन गर्न ध्यानआर्कषण गरिएको हो । बागलुङ कुश्मीशेरा सडकको तीन ठाउँमा पहिरोले ठुलो क्षति पु¥याएको छ ।

ध्यानाकर्षपत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले मागप्रति सकरात्मक रहेको प्रतिक्रिया दिए । योजना बनाएर काम थाल्ने आश्वासन दिएका मुख्यमन्त्री पोखरेलले जनताको समस्यामा प्रदेश सरकार साथमा रहेको बताए । प्रदेश सरकारको स्रोत र साधनले भ्याएसम्म सडक मर्मत र पहिरो रोकथामको काम तत्काल थाल्ने उनको भनाई थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ