बागलुङ नगरपालिका र अदालतको सेवा बन्द

बागलुङ नगरपालिका र अदालतको सेवा बन्द

baglung

पदाधिकारी र कर्मचारी नै कोरोना सङ्क्रमित भएपछि बागलुङ नगरपालिकाले अत्यावश्यकबाहेकका सबै नियमित सेवा सेवा बन्द गरेको छ ।

नगरपालिकाले आजदेखि यही माघ २१ गतेसम्मलाई अत्यावश्यकबाहेकका सबै नियमित सेवा बन्द गरेको हो । जनप्रतिनिधि, कर्मचारी र नगरवासीमा तीव्रगतिमा सङ्क्रमण फैलिएकाले सेवा प्रवाहलाई स्थगन गर्नुपरेको नगरपालिकाले जनाएको छ ।

कर्मचारी नै सङ्क्रमित भएर आइसोलेशनमा बस्नुपरेको र कन्ट्याक्ट ट्रेसिङमा परेका कारणले सेवा बन्द गर्नु परेको बताइएको छ । नगरपालिकाअन्तर्गत वडा र विषयगत शाखाबाट प्रदान हुने सेवा पनि स्थगन भएको जनाइएको छ ।

यस्तै, जिल्ला अदालतले पनि आइतबारदेखि आउँदो २५ गतेसम्मलाई अत्यावश्यकबाहेकका नियमित सेवा स्थगन गर्ने निर्णय गरेको छ । न्यायाधीश र कर्मचारीमासमेत कोरोना सङ्क्रमण देखिएकाले सेवा प्रवाह स्थगन गर्नुपरेको अदालतले जनाएको छ । मुलुकी फौजदारी संहिता, बन्दी प्रत्यक्षीकरण र निषेधाज्ञा निवेदन दर्ता र सुनुवाइ, अभियोगपत्र दर्ता, चालु मुद्दाको मिलापत्र र फिर्ता जस्ता अत्यावश्यकीय सेवा भने नियमित सञ्चालनमा रहने अदालतले जनाएको छ ।

सेवा स्थगन भएको अवधिमा मुद्दा, रिट तथा निवेदनहरूमा रहेका हदम्याद, म्याद र तारेख भने नगुज्रने अदालतले स्पष्ट पारेको छ । गत आइतबारदेखि मालपोत कार्यालयको सेवा पनि प्रभावित छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ