पोखरामा डिजिटल माध्यमबाटै यौन धन्दाः कारबाट घरमै डेलिभरी

पोखरामा डिजिटल माध्यमबाटै यौन धन्दाः कारबाट घरमै डेलिभरी

Pokhara Online

पोखराको बाग्लुङ बसपार्क क्षेत्र नै बदनाम गर्ने गरी दशक अघि यौनधन्दा सञ्चालित थियो । तत्कालिन एसपी बसन्तकुमार लामाले यस विरुद्ध कडा अपरेशन चलाएपछि त्यहाँबाट तितरबितर भएका यौन व्यवसायी टोलटोलमा छरिए । कतिपय भित्री टोलमा रेष्टुरेन्ट एण्ड बारको नाममा यौन धन्दा व्यवसाय चलि नै रहेको गुनासो स्थानियले गरेका छन् । फोन फोनबाट मोलमोलाई गरी ट्याक्सी चालकले ग्राहकसम्म यौनव्यवसायी लग्ने गरेको घटना पनि नौलो रहेन । पछिल्लाे समय भने डिजिटल माध्यमको प्रयोग गरी यौन व्यवसाय सञ्चालन गर्ने गरेकाे पाइएकाे छ । यसमा संलग्न समूहहरु एकपछि अर्को गरी पक्राउ परेका छन् ।

कास्की प्रहरीले एक साता अघि (१४ फागुनमा) यौन धन्दा चलाउने गिरोहका दुई सदस्य पक्रियो । भोलिपल्टै यो गिरोहका नाइके पक्राउ परे । नाइके पोखरा ७ मुस्ताङचोकका ३० वर्षीय नारायण पोखरेल हुन् । उनकी प्रेमिका सिन्धुपाल्चोकको चौतारा नगरपालिका, ६ ठूलीधाराकी २२ वर्षकी पूजा थापा मगर र बाँके चिसापानी ९ का २२ वर्षीय विशाल योगी हुन् । यो समूह विरुद्ध मानव बेचबखन तथा ओसारपोसार मुद्धा अघि बढेको छ । यसअघि दुई समूह समातिसकिएको कास्की प्रहरीले बताएको छ ।

यौन व्यवसायमै संलग्न रहेकी किशोरीले प्रहरी गुहारेपछि यिनीहरु समातिएका हुन् । ती किशाोरीले प्रहरीलाई १४ फागुनको मध्यरात १२ बजे फोन गरेर आफू पीडित भएको भन्दै गुहार मागेकी थिइन् । जानकारी पाएलगत्तै कास्की प्रहरीका इन्स्पेक्टर मुकेश न्यौपानेको नेतृत्वमा चार जनाको टोली खटिएको थियो । त्यही रात लेकसाइडको जरेवरबाट पूजा र विशाललाई नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले बताए ।

मुख्य योजनाकार एवं यो समूहका नाईके नारायण पोखरेललाई प्रहरीले १५ फागुनमा घेरा नै हालेर रामबजारबाट समातेको हो । अघिल्लो रात डेरामा नभेटिएका उनी भोलिपल्ट पक्राउ परेका हुन् ।

कारमार्फत् घरमै युवती डेलिभरी

अनलाइन यौनधन्दा चलाउने मुख्य योजनाकार नारायण र पूजाको जोडी हो । उनीहरुले यस्तो व्यवसाय गर्नका लागि सामाजिक सञ्जाललाई मूख्य हतियार बनाएका छन् । विभिन्न फेक आइडी र आफ्नो पहिचान नखुल्ने मोबाइल नम्बरबाट भाइबर, ह्वाट्सएप जस्ता आइडी बनाउने र त्यसमार्फत् नै यौनसम्पर्क गर्न चाहनेका लागि विभिन्न सूचना जारी गर्ने गर्दथे । त्यसपछि ग्राहकले उनीहरूलाई सम्पर्क गर्दथे । उनीहरूले आफ्नो सम्पर्कमा भएका युवतीका तस्वीर ग्राहकलाई पठाउने र ग्राहकले रोजेका युवती छान्दथे ।

रेट मिलेपछि ठाउँ निश्चित गर्दथे । विशालले ‘होम डेलिभरी’को काम गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार विशालले कार प्रयोग गरेर युवतीलाई ग्राहकसम्म पु¥याउँथे । युवतीलाई ग्राहकसम्म लैजान प्रयोग गरिँदै आएको निलो रंगको ग२च ४८२४ नम्बरको कार पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो गिरोहले लेकसाइडमा कोठा भाडामा लिई यौन धन्दा चलाउने गरेको प्रहरीले जनाएको छ । विभिन्न होटेलमा माग अनुसार महिला उपलब्ध गराइदिने भन्दै उनीहरुले धन्दा चलाएको खुलेको हो । ‘यौन व्यवसाय गर्न बाध्य पार्ने अनि कोठा मिलाएर राख्ने गरेका रैछन्,’ प्रहरी निरीक्षक मुकेश न्याैपानेले भने ।

जति कम उमेर, त्यति महँगो मूल्य

प्रहरीका अनुसार उनीहरूले उमेर समूह हेरेर युवतीहरूको मूल्य तोक्थे । १८ वर्षभन्दा मुनिको माथिको फरक–फरक रेट तोकिने गरेको जाहेरीवालाले प्रहरीलाई बताएका छन् । १८ वर्षभन्दा मुनिका युवतीको १७ हजार रुपैयाँ प्रतिरात र त्योभन्दामाथि उमेर समूहका युवतीको १५ हजार रुपैयाँ प्रतिरातसम्म ग्राहकबाट लिने गरेको पाइएको छ । अर्थात् जति कम उमेर, त्यति महँगो मूल्य ।

यसरी महँगो मूल्यमा युवतीको माग गर्नेहरू प्रायः छोटो समयका लागि पोखरा आउने पर्यटकहरू रहेको प्रहरी स्रोत बताउँछ । ‘अधिकांश पोखरा घुम्न आएकाहरू नै ग्राहक हुँदा रहेछन् । पोखराका नियमित ग्राहक पनि हुने रहेछन्,’ प्रहरी निरीक्षक न्याैपाने भन्छन्, ‘जाहेरी दिनेहरू सात महिना, तीन महिना र एक महिनादेखि यो समूहसँग जोडिएको पाइएको छ ।’

लेनदेन नमिल्दा प्रहरीलाई गुहार

प्रहरीको सम्पर्कमा आएका युवतीहरु सुरुमा सहमतिमै देहव्यापारमा लागेका हुन् । पछि उनीहरुनै प्रहरीको सम्पर्कमा आउनु भने आश्चर्यको विषय बनेको छ । यस्ता घटना लेनदेन नमिल्दा सार्वजनिक हुने गरेका छन् ।

यो घटना सार्वजनिक हुनुको एउटा कारण आर्थिक पाटो पनि हो । ग्राहक खोज्नेले मोटो रकम असुल्ने र युवतीले कम रकम पाउँदा मनमुटाव भएको प्रहरीको अनुमान छ ।

महिनामै लाखौं कमाईको आशमा देहव्यापार

अहिलेसम्म देहव्यापारमा संलगन तीन जना युवती प्रहरीको सम्पर्कमा आएका छन् । यसमा संलग्न अधिकांश महिला दुर्गम क्षेत्रबाट आएको देखिएको छ । यौन व्यवसायमा लागेकाहरू सामान्य लेखपढ गरेका र स्याङ्जा, सिन्धुपाल्चोक, पर्वत, म्याग्दी, बाग्लुङ लगायत जिल्लाका ग्रामीण भेगबाट पोखरा आएका हुन् । कसरी पोखरा ल्याइन्थ्यो भन्नेबारे प्रहरी अनुसन्धानरत छ ।

केही युवतीको बयान अनुसार उनीहरुलाई प्रलोभन, धम्की र यातना दिएर यौन व्यवसायमा लगाउने गरेको खुलेको छ । केही युवती देहव्यापारमा लागेको एक वर्ष पनि पुगेको छैन । होटलमा काम लगाइदिने भन्दै ल्याए पनि विस्तारै यौन व्यवसायमा संलग्न गराएको र अहिले बारम्बार यातना दिएको उनीहरुको दाबी छ ।

महिनामा लाखौं कमाएर पोखरामै स्थापित हुन सकिने प्रलोभन दिई यौन धन्दामा लगाइएको प्रहरी अनुसन्धानमा खुलेको छ । सुरुवाती दिनमा राम्रो आम्दानी भए पनि पछिल्ला दिनमा विस्तारै ब्ल्याकमेलिङ गर्दै मानसिक यातना दिने, ग्राहकसँगको सम्बन्धपछि पैसा नदिने, यौन व्यवसायमा संलग्न छ भन्दै परिवारलाई सुनाइदिने, समाजमा बदनाम गरिदिने धक्की दिने गरेपछि प्रहरीकहाँ उजुरी गर्न आइपुगेको उनीहरुले बताएका छन् ।

‘ग्राहकसँग धेरै पैसा उठाउने यौन व्यवसायमा संलग्नलाई सुरुमा ४/५ हजार दिने, पछि पैसा नै नदिने र मानसिक यातना दिने गरेको खुलेको छ ।’ प्रहरी निरीक्षक न्याैपाने बताउँछन् ।

गिरोहका नाइकेका चार डेरा

यो घटनाका नाइके नारायण पोखरेललाई देखेर प्रहरी नै चकित परेको छ । अनुसन्धान गर्दै जाँदा प्रहरीले पोखरामा उनको चार वटा डेरा भेटेको छ । पोखरा १७, रातोपहिरामा उनी बस्छन् । छिमेकी वडा पोखरा, ७ मा उनको अर्को डेरा छ । त्यहाँ श्रीमती बस्छिन् । प्रेमिका पूजालाई लेकसाइडको स्ट्रीट नम्बर ३ मा डेरामा राखेका छन् भने आमाबुवालाई नजिकै स्ट्रीट नम्बर ७ मा राखेका छन् ।

‘ऊ एकदमै चलाख रहेछ । चार जना चारतिर राखेको छ । त्यस्तो हुँदा कसैले शंका नै गर्न सक्दैन,’ प्रहरी निरीक्षक न्याैपाने बताउँछन् । पोखरेलसहित पक्राउ परेका तीनै जनालाई बिहीबार आठ दिनको म्याद थपेर प्रहरीले अनुसन्धान गरिरहेको छ । मानवबेचविखन तथा ओसारपोसार मुद्दामा कास्की जिल्ला अदालतबाट बिहीबार म्याद थप गरिएको हो ।

उनीहरूकै सहयोगमा प्रहरीले यस्तै क्रियाकलापमा संलग्नको खोजी गरिरहेको छ । प्रहरीले पक्राउ परेका र पीडितबाट अरु गिरोहको पनि सुइँको पाएको छ । प्रहरी निरीक्षक न्याैपानेले भने, ‘यो घटनाको अनुसन्धान गर्दा अरु पनि संलग्न रहेको सूचना पाएका छौँ । भनेजस्तो भए अरु पनि समातिन सक्छन् ।’

युवतीलाई ग्राहकसम्म लैजान प्रयोग गरिँदै आएको कार

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ