दुर्गमलाई सञ्चार सेवामा जोड्न टेलिकमको मोवाईल सेवा 

दुर्गमलाई सञ्चार सेवामा जोड्न टेलिकमको मोवाईल सेवा 

ncell1
म्याग्दी । म्याग्दीको अत्यन्तै विकट गाउँमा पहिलो पटक मोवाईल सेवा पुगेपछि स्थानियबासी खुसी भएका छन्। नेपाल टेलिकमले रघुगंगा गाउँपालिका वडा नं ७ चिमखोलाको धुरीमा टावर निर्माण गरेर सेवा सञ्चालन गरेपछि स्थानियलाई सहज भएको हो । भौगोलिक रुपमा विकट रहेको उक्त स्थानमा यसअघि मोवाईल सेवाको पहुँच थिएन ।
ग्रामिण बस्तीलाई सञ्चारको पहुँचमा जोडन टेलिकमले माईक्रो वेभ रेडियो लिङ्क मार्फत टुजी र थ्रिजी सेवा विस्तार गरेको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए । समुन्द्र सतह देखि झण्डै २ हजार ८ सय मिटरको उचाईमा अवस्थित चिमखोलाको धुरीबाट सेवा प्रवाह गरिएको कार्यालय प्रमुख शर्माले बताए । भौगोलिक विकटता र चुनौतिका बाबजुत ग्रामिण क्षेत्रका जनतालाई सञ्चारको पहुँचमा ल्याउन मोवाईल सेवा विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाईएको उनको भनाई छ ।
बस्तीबाट ३ घण्टाको पैदल यात्रा पछि पुगिने उक्त डाँडामा केन्द्रिय विद्युतको लाईन विस्तार गरेर टावर सञ्चालन गरिएको नेपाल टेलिकम म्याग्दीका प्रमुख दामोदर सिंखडाले जानकारी दिए । “टेलिकमले अहिले अस्थायी टावर निर्माण गरि मोवाईल सेवा सञ्चालनमा ल्याएको छ, निकट भविष्यमा हामी उक्त टावरलाई स्तरोन्नती गरि अत्याधुनिक प्रविधीको फोरजी सेवा मार्फत भ्वाईस र उच्च गतिको ईन्टरनेट (मोवाईल डाटा) सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौं” सिंखडाले भने।
पहिले मोवाईल सेवा नहुँदा दुख पाएका नागरिकले टेलिकमको टुजी र थ्रिजी सेवा एकसाथ सञ्चालनमा आएपछि रघुगंगा गाउँपालिका वडा नं ५ झिंईमा १ सय, वडा नं ६ पाखापानीमा १ सय, वडा नं ७ चिमखोलामा १ सय, वडा नं ८ कुईनेमंगलेमा २५० घरधुरी प्रत्यक्ष लाभान्वित भएको रघुगंगा गाउँपालिकाका वडा नं ७ का वडा अध्यक्ष थक बहादुर पाईजाले जानकारी दिए ।
मोवाईल सेवा सञ्चालनमा आएपछि त्यस क्षेत्रमा गुणस्तरिय भ्वाईस तथा डाटा मार्फत ईन्टरनेट चलाउन सहज भएको टेलिकमले जनाएको छ । टावर निर्माण सँगै त्यस क्षेत्रको प्रचार प्रसार र सुचना आदान प्रदानको निमित्त थप सहज भएको स्थानियले बताएका छन । विद्युतिकरण तथा पोल टावर निर्माण र जडानमा टुडे हाईड्रो पावर कम्पनीले सहयोग गरेको हाईड्रो पावरका ईन्जिनियर प्रकाश तिमिल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ