गणेश बहादुर भट्टराईलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’

गणेश बहादुर भट्टराईलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’

Ganesh Bhattarai 1

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई लाईफ टाईम अचिभमेन्ट अवार्डबाट सम्मान गर्ने भएको छ । यही असार १८ गते मञ्चले आयोजना गर्ने छैटौें पोखरा स्पोटर्स अवार्ड २०७८ को अवसरमा भट्टराईलाई उक्त अवार्ड प्रदान गरिने मञ्चले जनाएको छ ।

भट्टराईलाई लाइफटाइम अचिभमेन्ट अवार्डका साथमा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।

पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी भट्टराई सन् १९९० मा पाकिस्तानमा भएको चौथो दक्षिण एशियाली खेलकुदमा सिल्भर मेडलिस्ट हुन् । उनलाई पराजित गरेका पाकिस्तानी बक्सर पछिल्लो वर्ष एसियन गेम्सकै गोल्ड मेडलिस्ट हुन् ।

भट्टराई १९८९, १९९० र १९९१ मा लगातारा बक्सिङमा राष्ट्रिय च्याम्पियन भए । सन् १९८७ मा पहिलो पटक जुनिअर राष्ट्रिय प्रतियोगितामा सहभागी भएका भट्टराईले पहिलो सहभागितामै जुनियर च्याम्पियन बने । १९८८ मा पनि जुनिअर राष्ट्रिय च्याम्पियनशीपमा गोल्ड मेडल जिते । सोहि वर्ष सिनियरतर्फ चौथो भए । त्यसको एक वर्षपछि राष्ट्रिय च्याम्पियन बने । १९९० मा बैंकक र १९९१ मा पाकिस्तानमा ६–६ महिना प्रशिक्षणका लागि भट्टराई पुगेका थिए ।

राष्ट्रिय अन्तर्राष्ट्रिय खेलहरुमा सहभागिता जनाउँदै गर्दा उनको दाहिने हात भाँच्चियो । त्यसपछि खेलाडीको रुपमा उनको करिअरले विश्राम लिएपनि व्यवस्थापकीय पक्ष सम्हाल्न थाले । १९९८ मा नेपालमै भएको सागमा २ स्वर्ण, ५ रजत र २ कास्य पदक देशले जित्दा उनी टीम मेनेजर थिए ।

फुटबल खेलसँग समेत संलग्न भट्टराई एन्फाको केन्द्रीय सदस्य हुँदै उपमहासचिव बने । भट्टराईले भूतपूर्व खेलाडी मञ्चका उपाध्यक्ष, नेपाल बक्सिङ संघका उपाध्यक्ष, रेबान पोखराका अध्यक्ष जोय फाउडेशनका संस्थापक सदस्य, पोखरा उपमहानगरपालिकाको ८ महिनासम्म उपमेयरको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।

यसअघि, मञ्चले यहाँका अग्रज खेलाडीहरु प्रा.डा. वीरेन्द्रसिंह गुरुङ, कृष्णबहादुर थापा, खड्गबहादुर रानाभाट, चित्र बहादुर गुरुङ र आनन्द रञ्जितलाई लाईफ टाईम अचिभमेन्ट अवार्डबाट सम्मान गरिसकेको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले छैटौं पोखरा स्पोटर्स अवार्ड २०७८ को तयारी अन्तिम चरणमा पुगिसकेको जनाएका छन् । अवार्ड कार्यक्रमलाई भव्य बनाउन विभिन्न समिति तथा उपसमिति मार्फत कामलाई तिव्रता दिएको छ । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds