बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले ठूलो परिमाणमा अवैध लागु औषधसहित चार जनालाई पक्राउ गरेको छ।
सोमबार दिउँसो अन्दाजी १ बजेको समयमा बुटबलबाट बागलुङका लागि छुटेको लु २ ख ५३१६ नंवरको बसबाट प्रहरीले ठूलो परिमाणमा लागु औषधसहित चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पाल्पा जिल्ला साविक मदनपोखरा गा.वि.स – ७ स्थायी घर भएका ४५ वर्षीय कृष्ण प्रसाद पुरी, गुल्मी जिल्ला मुसिकोट नगरपालिका- ५ निवासी ३८ वर्षीय सुरथ बहादुर घिमिरे, रुपन्देहि जिल्ला देवदह नगरपालिका – ६ निवासी ३३ वर्षीय लोक बहादुर थापा र दाङ जिल्ला लमहि नगरपालिका ७ निवासी २५ वर्षीय को शोसण चौधरी रहेका छन्।
प्रहरीका अनुसार उक्त बसमा लागु औषधको ओसारपसार भइरहेको भन्ने विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीको टोलीले बागलुङ नगरपालिका -४ चिप्लेटी बसपार्कमा पुगेर बसलाई चेकजाँच गर्दा यात्रु आवतजावत गर्ने गल्लीमा रहेको कम्ब्याट रङको पछाडि भिर्ने झोलामा लुकाई राखेको काजग र खैरो रङको प्लाष्टिकको टेपले बेरेको अवस्थामा लागु औषध बरामद गरेको हो।
बरामद भएको लागु औषधमा फेनेरागन ९०५ एम्पुल, डाइजेपाम ९२४ एम्पुल, र नुर्फिन ९२७ एम्पुल गरी कूल २ हजार ७ सय ४६ एम्पुल लागु औषध रहेको छ।
पक्राउ परेका चारै जनामाथि जिल्ला अदालत बागलुङबाट २० दिनको म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।