अरिंगालले चिलेका तनहुँका कुमालको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार नपाएर मृत्यु [भिडियाे]

अरिंगालले चिलेका तनहुँका कुमालको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार नपाएर मृत्यु [भिडियाे]

तनहुँको म्याग्दे गाउँपालिका ५, छाङपाटनका टोप बहादुर कुमाल मिस्त्री काम गर्दै आएका थिए । बिहान ७ बजे घरबाट काममा निस्कने उनी खाना खाएर पुनः काममै खटिन्थे, राति अबेरसम्म पनि घर आइपुग्थेनन् । मजदुरी काम गरेर परिवार पालिरहेका थिए । घरमा बुवाआमासहित श्रीमती समिक्षा, दुई छोरा र एक छोरी छन् ।

अस्ति विहीबार राति श्रीमती समिक्षालाई ‘श्रीमानलाई अरिंगालले टोक्यो’ भन्दै फोन आयो । कुमालसहितका साथीहरू मिलेर बेलुकी ८ बजे सेती नदीको किनारमा सिसौको रूखमा रहेको अरिङ्गालको गोला पोलेका थिए। गोला पोल्ने क्रममा अरिङ्गालले टोकेर उनलाई घाइते बनाएको थियो।  अरिंगालको गोलो पोल्ने क्रममा दर्जनौंले चिलेपछि कुमाल बेहोस् भए । पछि उनी होसमा फर्किए । भिमादको हस्पिटल रोड स्थित शुभलक्ष्मी पोलिक्लिनिकमा प्रारम्भिक उपचार गरियो । उनको ल्याब रिपोर्ट हेरेपछि पोखरा रेफर गरियो ।

परिवारले रातारात पोखरा १०, शिवचोक स्थित अन्नपूर्ण हस्पिटलमा ल्याएर भर्ना गर्‍याे । जुन हस्पिटल बाल तथा स्त्री रोग विशेष हस्पिटल हो । त्यहाँ कुमाललाई डा. सुरज लामिछानेको टीमले हेर्‍याे । ईमजेन्सीमा भर्ना भई सोहि दिन नै अन्नपूर्ण हस्पिटलले आइसियूमा ५ नम्बर बेडमा राख्यो । ल्याब रिपोर्ट पश्चात् मुटु, मिर्गौलाले राम्रो काम नगरेको, मिर्गौला डायलोसिस नहुने भन्दै शुक्रबार साँझ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रेफर गरेको रिपोर्टमा देखिन्छ ।

अन्नपूर्ण हस्पिटल श्रोतले बिरामीको परिवारले कम खर्च हुने ठाउँ जाने भनेपछि आफूहरुले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल जान सुझाएको बताएको छ । पिशाव रोकिएपछि डायलोसिस गर्नुपर्ने भएकाले रेफर गरिएको त्यहाँको एक डाक्टरले नाम नबताउने शर्तमा बताए । त्यहाँ रहुन्जेल टाेपबहादुरकाे पिशाव राेकिनुबाहेक अरू अवस्था त्यति गम्भीर नभएकाे अन्नपूर्ण हस्पिटल श्राेत बताउँछ ।

अन्नपूर्णबाट रेफर बिरामी स्विकारेकाे पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले आईसीयूमा बेड नभएको भन्दै मेडिकलको सामान्य वार्ड बेड नं. २२ मा राख्यो । आवश्यक उपचार पनि थालेन । उपचार नै नपाई शनिबार बिहान साढे ८ बजे टोपबहादुरको प्राण उड्यो । गण्डकी हस्पिटल नामले परिचित यहाँको सरकारी अस्पतालको यस्तो गम्भिर लापरबाहीले बिरामीको ज्यान अनाहकमा गयो ।

मजदुरी काम गर्ने टोपबहादुरको निधनपछि परिवारको बिचल्ली भएको छ । श्रीमती, १२ वर्षकी छोरी, ८ र ५ वर्षको छोराको भविष्य अन्धकार बनेको छ । आईसियूमा बेड नहुँदा पनि छैन भनेर जानकारी नदिई आईसियूमा राखिरहेको बिरामीलाई मेडिकल वार्डको सामान्य बेडमा राख्ने पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको लापरबाहीले कुमाल परिवारकाे घर धान्ने खम्बा ढलेकाे छ ।

संलग्न डाक्टरको गैरजिम्मेवार जवाफ

पश्चिमाञ्चाल क्षेत्रीय अस्पतालका निर्देशक डा. भरतबहादुर खत्रीले आईसियूमा १० बेडमात्र रहेको बताउँदै बेड अभावले आईसियूमा राख्न नसकेको प्रतिक्रिया दिए । यस घटना सम्बन्धमा बोल्न आग्रह गर्दा आफू आइहाल्ने भन्दै सञ्चारकर्मीमाझबाट उनी हिँडे ।

उपचारमा संलग्न डाक्टरहरुको प्रतिक्रिया भने निकै गैरजिम्मेवार छ । मृतकका आफन्तहरुसँग मेडिकल वार्डमा भएको कुराकानीमा डा. गोविन्द रावतले भर्ना भइरहेका विरामी आफूहरुको पहिलो प्राथमिकतामा रहने बताए ।

उनले मृतकका आफन्तमाझ गैरजिम्मेवार ढंगले भनेका छन् ‘आज तपाईंहरुको विरामीको सट्टा अर्को बुवाको जीवन बाँचेको छ । माथि हुनुहुन्छ । जो पहिले आयो उहाँहरु नै प्राथमिकतामा राख्ने हो । तपाईंहरुको बिरामीमा मूख्य कुरा डायलोसिस गर्नुपर्ने अवस्था हो । डायलोसिस दिउँसो हुन्छ । सरकारी हस्पिटल हो । राति हुँदैन । त्यहीपनि बिदाको दिन, कति गाह्रो हुन्छ ।’

२७ गते रक्षाबन्धनको दिन मेडिसिन डिपार्टमेन्टमा ड्युटीमा रहने डाक्टरहरुको नामावली तालिकामा डा. गोविन्द रावत र डा. उमेश ढुंगाना अन ड्युटीमा रहेका छन् । डा. शरद बराल र डा. सुदीप त्रिपाठी फर्स्ट अन कल तथा डा. विश्वराज बराल सेकेण्ड अन कलमा रहेका छन् ।

परिवारले भने संलग्न डाक्टरको भनाईलाई अति गैरजिम्मेवार भनेका छन् । उनीहरुको एक स्वर छ – ‘पहिलो त अन्नपूर्ण हस्पिटलले डायलोसिस गर्नुपर्ने भयो भनेर यहाँ रेफर गरेपछि बेड नहुँदा यहाँबाट बेड छैन भन्नुपर्ने थियो । अन्नपूर्णमै आईसियूमा रहेको बिरामीलाई सिधै बेड नभएको भन्दै मेडिकल वार्डको २२ नं. बेडमा राखियो । रातभर बिरामी छट्पटाउँदा नर्सहरुबाट आवश्यक सहयोग पनि भएन । डाक्टरले पनि हेरेनन् । तर, अहिले भने यति यति बेला औषधि दिएको भनेर कागजमा लेखेका छन् । ठाम नभएपछि हिजै हामीलाई भनेको भए अर्को सुविधासम्पन्न हस्पिटलमा लाने थियौँ नि । यहाँ ज्यान गयो । परिवार उजाडियो । डाक्टर नर्सहरु भने तपाईंहरुका कारण अर्को बिरामी बाँचेको छ भन्छन् । अर्को बाँच्ने खालको बिरामी सट्टा उपचार गरिहाल्नुपर्ने गम्भिर बिरामीलाई आईसियूमा राखेर उपचार किन गरिएन ? यहाँ सरासर डाक्टरहरुले लापरबाही गरेका छन् । ज्यान गएको छ । यिनीहरुमाथि कारबाही हुनुपर्छ ।’

बुझेनन् शव

यस घटना सम्बन्धमा गम्भिर ढंगले छानविन गर्नुपर्ने परिवारको माग छ । गम्भिर लापरबाही गर्ने अस्पताल, संलग्न चिकित्सकलाई कारबाही र मृतक परिवारलाई उचित क्षतिपूर्ति नभएसम्म शव नबुझ्ने भन्दै उनीहरुले जिल्ला प्रहरी कार्यालय, कास्कीमा निवेदन पनि दिएका छन् ।

मृतकका दाजु उत्तरसिंह कुमालले अस्पतालले गम्भिर लापरबाही गरेकाले अबका दिनमा यस्तो लापरबाही दोहोरिन नदिन र अनाहकमा सर्वसाधारणको ज्यान नजाउन् भन्नका लागि पनि चुप लागेर बस्ने अवस्था नरहेको बताए ।

गाउँबाट ठूलो समूहमा आफन्तहरु पोखरा आउँदै गरेको र अस्पतालले मागबारे सुनुवाई नगरे आन्दोलनमा उत्रने उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ