मेरो ध्येयः सम्मानित संघ, सम्मानित व्यवसायः अध्यक्षका प्रत्यासी अर्जुन पोखरेल

मेरो ध्येयः सम्मानित संघ, सम्मानित व्यवसायः अध्यक्षका प्रत्यासी अर्जुन पोखरेल

Arjun Pokhrel 2

पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघ, पोखरेली उद्योगी व्यवसायीका छाता संस्था हो । यही भदौ २४ र २५ गते संघको नयाँ नेतृत्वका लागि ३४ औं महाधिवेशन हुँदै छ । चुनावका लागि दुई प्यानल घोषणा गरेर प्रतिष्पर्धीहरु मत माग्न घरदैलोमा व्यस्त छन् ।

अर्जुन प्यानल ८ बुँदे घोषणापत्र सहित चुनावी मैदानमा छ । घोषणा पत्रमा संघलाई सबै पोखरेलीको ‘साझा घर’ को रुपमा विकास गर्नेदेखि हाल भएको भवन पुनः निर्माणसम्म छ । संघले जनता र सरकारबीचको दुरी घटाउने काम गर्ने, नयाँ लगानी प्रोत्साहनमा ध्यान दिएको छ ।

घोषणा पत्रमा संघले नयाँ उद्यमीहरुलाई सुरुमै विजनेस मेन्टरिङ सेवा प्रदान गर्न स्थानीय व्यापार ‘इक्युवेसन सेन्टर’ स्थापना गर्ने प्यानलको घोषणा छ । यो प्यानलबाट बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्क बहादुर अधिकारी (मिरज) उम्मेद्वार छन् ।

यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्र कुमार बाटाजु, माधव बस्ताकोटी, उदय बहादुर केसी (लाहुरे दाइ), दिलिप कुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ र हिमनिधि लौडारीले उम्मेद्वारी दर्ता गरेका छन् ।

आफ्नो प्यानल पोखरेली व्यवसायीको हितका लागि निर्माण भएको अध्यक्ष उम्मेद्वार पोखरेल बताउँछन् । अर्जुन पोखरेल नेतृत्वको प्यानललाई पोखरेली उद्योगी व्यवसायीले आफ्नो भरोसाका रुपमा हेरेका छन् । पोखरेल प्यानलले व्यवसायीहरुको गुनासा र समस्या सुन्दै मतदातासँग मत मागेका छन् । सक्षम र युवा नेतृत्वले बढी काम गर्ने मतदाताको विश्वास छ ।

अध्यक्ष पदका उम्मेदवार अर्जुन पोखरेलले उद्योगी व्यवसायीका विश्वास र भरोसा गुम्न नदिने बताए । ‘हरेकका सुखदुखमा सँधै सँगै छु । अब पनि सँगै रहन्छु । कसैको विश्वास र भरोसा तोड्दिनँ,’ उनले भने, ‘हाम्रो टीमले जितेपछि पोखरा उद्योग वाणिज्य संघलाई नयाँ स्वरुपमा स्थापित गरिने छ । सबै व्यवसायी र उद्योगीको साझा संस्थाको रुपमा स्थापित गर्ने छौं ।’ अर्जुन प्यानलले पोखराको पूरानो बजारलाई पूरानै स्वरुपमा सजाउने प्रतिबद्धता जनाए ।

‘पोखरा भनेकै पूरानो बजार हो । यहाँका घरहरु अहिले जीर्ण भएका छन्,’ उनीहरुले भने, ‘सरकारसँग मिलेर यसलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्नुपर्छ । त्यसको पैरवी हामी गर्छौं ।’ पोखराका पूराना हस्तकला व्यवसायलाई पुनः स्थापित गर्ने र पूरानो बजारमा विक्रि केन्द्र बनाउने पोखरेलको योजना छ ।

‘मनोनयन दर्तापछि झनै उत्साह बढ्यो’

संघले शुक्रबार मनोनयन दर्ता गरेको छ । पोखरेल प्यानलले सबै पदमा उम्मेद्वार तयार गरेका छन् । उम्मेद्वारी औपचारिक रुपमा दर्ता गरेपछि अभियानमा झनै उत्साह थपिएको प्यानलका उम्मेद्वारहरु बताउँछन् ।

‘पहिले सहायक पदका लागि उम्मेद्वारी दिएर चुनावमा होमिएको थिएँ । अहिले नेतृत्वका लागि तयारी गरेको छु,’ अध्यक्षका उम्मेद्वार पोखरेलले भने, ‘टीम लिएर मनोनयन दर्ता गरेपछि उत्साह बढेको छ । चुनाव जित्ने विश्वास थपिएको छ ।’ गण्डकी क्षेत्रकै जेठो सामाजिक संस्थाको नेतृत्वमा दावी गर्दा उर्जा मिलेको उनले सुनाए ।

‘मतदाता भेट्छु, उर्जा मिल्छ । २०११ सालदेखि अग्रजहरुले जोगाएको विरासत कायम गर्दै आफ्नो तर्फबाट अझ नयाँ काम गर्ने अठोट लिएको छु,’ उनले अघि भने, ‘पोखरा उद्योग वाणिज्य संघलाई नयाँ उचाईमा पु¥याउने विश्वास लिएको छु । विगतका चुनाव भन्दा मेरा लागि विल्कुल फरक अनुभव भैरहेको छ ।’

संघलाई ‘साझा घर’ बनाउने अभियान

पोखरा उद्योग वाणिज्य संघलाई आम पोखरेलीको साझा घरको रुपमा विकास गर्ने उनको संकल्प छ । ‘पोखरालाई आधुनिक र व्यवस्थित शहर बनाउने नेतृत्व उद्योग वाणिज्य संघले नै लिएको थियो । अहिले संघ समुदायबाट टाढा भैरहेको छ,’ पोखरेल भन्छन्, ‘हिजो अग्रजहरुले गरेको योगदानलाई संरक्षण गर्दै आगामी कार्यकालमा संघप्रति अझै आकर्षण बढाउने गरी काम गर्छौं । संघलाई सबै पोखरेलीको ‘साझा घर’ को रुपमा विकास गर्ने प्रण गर्दछौं ।’

पोखरेल प्यानलले उद्योग वाणिज्य संघको भवनलाई पुनः निर्माण गरी बहुतले व्यवसायिक भवनका रुपमा विकास गर्ने बताए । संघको आम्दानी बढाउने र उद्योगी व्यवसायीहरुको उत्पादन विक्री कक्ष निर्माण गर्ने टीमको प्रतिबद्धता छ । अहिले भैरहेको भवनलाई बहुतले बनाएर २ वटा पार्किङ, ३ वटा ब्यापारिक कम्प्लेक्स र संघको व्यवस्थित कार्यालय बनाइने प्यानलले जनाएको छ ।

व्यावसायीको गुनासो सुन्दै मत माग्दै

पोखराका हरेक उद्योगी व्यावसायीहरुको समस्या छन् । पोखरेल प्यानल उनीहरुको समस्या टिप्दै भोट माग्दै हिडेका छन् । समस्या टिपेर राखेपछि आफू नेतृत्वमा गएपछि समाधान गर्नका लागि सहज हुने पोखरेलको भनाई छ ।

व्यावसायीले सुनाएका समस्या र गुनासा टिपिहाल्छन् । उद्योगी व्यावसायीहले घरभाडा, बैंकको ब्याज लगायत समस्या सुनाएका थिए ।

घरदैलोका क्रममा समस्या सुनाउने मात्र होइन टिमलाई राम्रो भन्नहरु पनि भेटिएका छन् । श्रीकृष्ण मेसिनरी स्टोर्सका सञ्चालक मोहनप्रसाद ढकालले युवा र मिश्रित टिम बनेकाले अवसर पाए काम गरेर देखाउने विश्वास व्यक्त गरे । पोखरेल प्यानलको जित सुनिश्चित रहेको व्यावसायीहरुले बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ