सिबिसाको जीवन रक्षाका लागि ‘प्रतिभा परिवार’को प्रार्थना

सिबिसाको जीवन रक्षाका लागि ‘प्रतिभा परिवार’को प्रार्थना

Prativa Donate (1)

पोखरा । पोखराको प्रतिभा माविमा अध्ययनरत ८ कक्षाकी छात्रा सिबिसा खड्का यतिबेला ब्लड क्यान्सरसँग लडिरहेकी छिन् । उनी विगत ५ महिना यता ललितपुरको ब्लड हस्पिटलको बेडमा छिन् ।

१३ वर्षीया सिबिसालाई विद्यालय परिवारले अत्यन्त ‘मिस’ गरिरहेको छ । विद्यालय परिवार सिबिसा शीघ्र स्वास्थ्य लाभ गरी पोखरा फर्किएको हेर्न आतुर छ । तर, सिबिसालाई उपचारका लागि आर्थिक अभाव छ ।

प्रतिभा परिवारले सिबिसाको जीवन रक्षाका लागि मंगलबार केही आर्थिक सहयोग हस्तान्तरण गर्याे । कक्षा १ देखि १२ सम्मका विद्यार्थीले स्वेच्छाले एक दिनको खाजा खर्च कटाएर सिबिसाको स्वास्थ्यलाभको कामना गर्दै रकम संकलन गरेको छ । विद्यालयका सबै शिक्षक कर्मचारीले विद्यार्थीको यो अभियानमा सहयोग मात्र गरेनन्, विद्यालयले संस्थागत रुपमा पनि सहयोग थपेको छ ।

कक्षा १ देखि १० सम्मका विद्यार्थीले ८५ हजार संकलन गर्दा शिक्षक, कर्मचारीले झण्डै २९ हजार थपिदिए । यस्तै, कक्षा ११ र १२ का विद्यार्थीले ९५ हजार सहयोग उठाउँदा शिक्षक, कर्मचारीले ४८ हजार जति थपथाप गरे । विद्यालयले ५१ हजार ५ रुपैंया र विद्यालय सञ्चालक समिति अध्यक्ष नारायण पौडेलले व्यक्तिगत ५० हजार थपेर मंगलबार कूल ३ लाख ५३ हजार ९ सय २५ रुपैंया सिबिसाका परिवारलाई हस्तान्तरण गरे ।

विद्यालयका विद्यार्थीहरुले अध्यक्ष पौडेल, प्रबन्ध निर्देशक बलबहादुर थापा, निर्देशक किरण सापकोटा, प्रिन्सिपल विश्वगोपाल पराजुलीलगायतको उपस्थितिमा सिबिसाकी आमा शिखा श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

पहिलो सिबिसाको उपचारखर्च परिवारले नै धान्न सक्ने अवस्थामा सहयोग नमागिएपनि अब उनको जीवन रक्षाका लागि सहयोगी मनहरुको साथको खाँचो रहेको परिवारले जनाएका छन् । पढाईमा अब्बल सिबिसा कक्षा ८ को परीक्षामा डिस्ट्रिक्ट टप गर्ने गरी तयारी गरिरहेकै बेला गत फागुनमा बिरामी भएर थलिएकी हुन् ।

‘पढाईमा अत्यन्त तेज विद्यार्थी हुन् सिबिसा । चैतमा परीक्षा थियो । फागुनको तेस्रो हप्तातिर बिरामी परिन् । रगत जाँच गर्दा क्यान्सर भइसकेको थाहा भयो ।’ आमा शिखाले भनिन्– ‘त्यसपछि काठमाण्डौ लगेर निरन्तर उपचार गराइरहेका छौँ । अब सहयोगी मनहरुको साथले नै नानीको जीवन रक्षा हुने विश्वास छ ।’

सिबिसाले हस्पिटलको बेडबाटै परीक्षामा सहभागी भएर पनि उत्कृष्ट अंक ल्याएको प्रिन्सिपल पराजुलीले बताए । लगनशील, अनुशासित र पढाईमा अब्बल विद्यार्थी आज रोगसँग लडिरहँदा थोरै भएपनि सहयोग होस् भन्ने हेतुले यो सहयोग गरिएको निर्देशक सापकोटा बताउँछन् । सकेसम्म बाहिर सहयोग नलिने परिवारको चाहना रहेपनि विश्वमै महंगो रोगको उपचारको लागि अब सहयोगको आवश्यकता रहेकाले जीवन रक्षाका लागि अपिल गर्नुपरेको विद्यालयले जनाएको छ ।

बागलुङ ३ गुठी घर भई हाल पोखरा सिमलचौर बस्दै आएका सिबिसा परिवारमा बुवा, आमा र एक दिदी छन् । सिबिसाले आफू स्वस्थ भएपछि आफू पीडामा रहेको रोगकै विषयमा हेमाडोलोजी पढ्ने चाहना राखेकी छन् ।

सिबिसालाई सहयोगको लागि निम्न खातामा रकम संकलन गरेर सहयोग गर्न सकिनेछ ।

Account Details as follows:
SIVISA KHADKA
NABIL BANK LTD, BAGLUNG BRANCH
A/c No. 2710017502980
E- sewa ID : 9857622270

यस्तै, उनको जीवनरक्षाका लागि गो फण्ड मीमा आर्थिक संकलन अभियान पनि सुरु गरिएको छ।

क्लिक गर्नुहोस्ः

Helping Sivisa to battle with Cancer

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds